सुदन मुनिकारलाई चर्या नाच सिक्न गाह्रो भएन। उनका बुवा चन्द्रमान मुनिकार यसमा दख्खल राख्थे।
चन्द्रमान ५३ वर्षका भए। ३५ वर्षदेखि नाचिरहेका छन्। उनले बरु कम्ता दुःखले आर्जेका होइनन्। गुरु रिझाउनुपर्थ्यो। उनका गुरु, कान्छाबुद्ध बज्राचार्य।
उनलाई रिझाउन घरमा भाँडा माझे। बढारे। लुगा धोइदिए। धन्न खुसी भए। चर्या सिक्न पाए।
त्यति बेला सबैको पहुँचमा थिएन। बज्राचार्य, शाक्य, चित्रकार र तुलाधरमा सीमित थियो। उनीहरू विहारका अँध्यारा खोपीभित्र मात्र नाच्थे।
‘अरूलाई सिकाए समूहबाटै निकालिने डर,’ चन्द्रमानले भने, ‘म भाग्यमानी।’
उनका अनुसार, यो नाच बुद्धत्वको बाटो हो। यसले बुद्धमार्ग हिँड्ने सन्देश दिन्छ। देवीदेवताकै पालामै सुरु भएको मान्यता छ। पुस्तान्तर हुँदै जीवित छ।
यस्तो नाच किन समुदाय विशेषमा सीमित?
‘अनुशासन मिचिएला भनेर होला। सबैले थाहा पाए मनोरञ्जक हुने डर। महत्व घट्ला भन्ने पिर पनि होला,’ चन्द्रमानले भने।
जमाना बदलियो। उहिलेको गोप्य नाचमा नयाँ पुस्ताको रुचि छ। चन्द्रमानले वसन्तपुरमा ‘बज्र कला कुञ्ज’ खोलेका छन्। यो उनको घर हो। चर्या सिकाउने ठाउँ पनि। सिक्न आउने सबै नयाँ पुस्ताका।
यहाँ दिनकै बिहान ७ बजे कक्षा सुरु हुन्छ। प्रशिक्षार्थीहरू करिब २ घन्टा सिक्छन्। यो नाचमा मुद्रा, मण्डल र मन्त्रको विशेष महत्व छ। महिनाको पहिलो र दोस्रो बिहीबार तीनैथरी सिकाइन्छ।
गत बिहीबार हामी पुग्दा विद्यार्थीहरूले तीनवटै नाच सकेर धर्मधातु मण्डल कोरिसकेका थिए। मण्डलका पाँच दिशामा पञ्चबुद्ध हुन्छन्– अक्ष्योम्य, रत्नसम्भव, अमिताभ, अमोधसिद्धि र वैलोचन। पञ्चबुद्धको ध्यानमुद्रा र ध्यानभाव नृत्यमा प्रस्तुत गरिने चन्द्रमान बताउँछन्।
नाचपछि प्रशिक्षार्थीहरू मन्त्र पाठ गर्दै पूजा गर्छन्। चढाइएका फलफूल र प्रसाद खान्छन्। त्यसपछि दिनभर निराहार ब्रत बस्नुपर्छ।
कक्षामा सबैभन्दा पाका थिए, ५४ वर्षीय मनोहर मानन्धर।
झोछेँका उनी डेढ वर्षदेखि चर्या सिक्दै छन्। रुचि योगमा छ। चर्यामार्फत् योगको क्षेत्रफल बढाउन चाहन्छन्। चर्या नाचेपछि मन र शरीर दुवै फुर्तिलो हुने उनको भनाइ छ।
‘यसले शारीरिक, भौतिक र मानसिक आनन्द दिन्छ,’ मानन्धरले भने, ‘देवतामा आस्था राख्नेले सिक्दा निकै फाइदा हुन्छ। यो देवता पुकार्ने माध्यम हो।’
यही समूहकी सबु महर्जन २३ वर्षकी भइन्। छ महिनादेखि चर्या अभ्यास गर्दै छिन्। बज्र कला कुञ्जले अघिल्लो दसैंमा ‘सम्पदा शिविर’ आयोजना गरेको थियो। उनी भाग लिन गइन्। त्यहीँबाट चर्याबारे थाहा पाइन्। एकमहिने प्रशिक्षण लिइन्। त्यसअघि कत्थक, लोकनाच सिकेकी सबुलाई चर्या आत्मीय लाग्यो। महिना बित्यो, उनी जान छाडिनन्।
‘अरू नाच मनोरञ्जनका लागि गरिन्थ्यो। यसले शरीरिक र मानसिक ऊर्जा मिलेको छ,’ उनले भनिन्।
चन्द्रमानसँग सानैदेखि सिकेका छोरा सुदन त आफैं सिकाउन थालेका छन्।
उनी ३२ वर्षका भए। चर्या सिकाउन काठमाडौंबाहिर गइरहन्छन्। पोखरा, धरान, चित्लाङ, पाल्पा, झापा, बनेपालगायत एक दर्जन ठाउँ पुगे। दसैं–तिहारपछि दाङ, नवलपरासी र रामेछाप जाने तयारीमा छन्।
‘लुकाएर संस्कृति जोगिन्न। फैलाउनुपर्छ,’ उनले भने, ‘मैले बुवाबाट सिक्न पाएँ। धेरैले गुरू पाएनन्। म यस्तो हुन दिन्न। आफूले सिकेपछि अरूलाई सिकाउनु दायित्व हो।’
सुदनमा काठमाडौं संस्कृति र सभ्यताप्रति लगाव छ। परम्परागत नेवारी बाजा बजाउँछन्। रंगमञ्चमा संस्कृति मञ्चन गर्छन्। कुमारी कथा देखाउन खोज्दैछन्। चर्यालाई यसैगरी जोगाउने मान्यता राख्छन्।
उनका अनुसार यो मनोरञ्जक नाच होइन। उपासना हो। आराधना। समाजको भलो निम्ति गरिने नाच। यसलाई बज्रयानी बौद्ध धर्ममा तान्त्रिक विधाको कला पनि भनिन्छ।
देवीदेवताका चरित्रमाथि गरिने यो नाचमा अभिनय, मुद्रा र भाव प्रधान हुन्छ। मञ्जुश्रीले यही नृत्यमार्फत् देवीको तपस्या गरे। आध्यात्मिक चेत पाए। र, नेपाल मण्डल स्थापना गरे भन्ने किम्बदन्ती छ।
संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार मठ–मन्दिरका इतिहाससमेत चर्यासँग जोडिएको छ। महांकाल मन्दिरको किम्बदन्ती चर्यामै आधारित छ। चर्या नृत्यमा देउता वशमा पार्ने शक्ति रहेको उनी बताउँछन्।
‘आकाशमा चराझैं उडिरहेका बज्रवीर महांकाललाई काठमाडौंका सबलबहाल निवासी बौद्धतान्त्रिक शाश्वत बज्र बज्राचार्यले चर्या गीतमार्फत् समातेर अहिलेको स्थानमा बस्न कबुल गराइएको भनाइ छ,’ जोशीले भने, ‘महांकाल मन्दिरमा यसको विस्तार वर्णन छ।’
ती बौद्धतान्त्रिक चर्या गीतका साधक पनि थिए। महाकांल वशमा पार्न उनले नाचेको चर्या ‘पञ्चकपाल’ थियो।
चर्याले बौद्ध धर्मको पञ्चशील पछ्याउन सिकाउँछ। चोरी नगर्नू भन्छ। झूटो नबोल्नू भन्छ। हत्या हिंसा नगर्नू भन्छ। जाडँ रक्सी नखानू भन्छ। व्यभिचार नगर्नू भन्छ। नाच सिक्ने र सिकाउने दुवैले यी नियम पालना गर्नुपर्छ।
यो नाच २०१३ सालमा विहारको खोपीबाट बाहिर आएको हो।
त्यतिबेला चौथो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन थियो। संस्कृतिविद् जोशीले पहल गरे। पूजाकोठामा सीमित नाच बज्रयानी बज्राचार्य गुरूहरूबाट पहिलोपटक मञ्चन भयो।
यसको श्रेय ललितपुरका आशाकाजी बज्राचार्य र काठमाडौं, मुबहाका बज्राचार्यहरूलाई जान्छ। उनीहरू बज्राचार्य गुरूमध्ये ‘सुधारवादी’ भनी चिनिन्थे। सिंहदरबारको नाचघरमा भएको कार्यक्रममा उनीहरूले वाहवाही पाए। यसले अरूलाई हौसला भयो।
त्यही बेलाबाट केही भित्री अंश गोप्य राखेर देखाउन मिल्नेजति नाच सार्वजनिक गरिएको चन्द्रमान बताउँछन्।
उनका अनुसार चर्या दुईथरी हुन्छन्– बाह्य र गुह्य।
गुह्य गोप्य राखिन्छ। बाह्य मात्र देखाइन्छ। महाकाल, नमोहम्, महामाया, मसान भैरवलगायत गुह्यमा पर्छन्।
‘आगम कोठाभित्र झ्यालढोका बन्द गरेर वर्षको एकपटक गुह्य नृत्य गरिन्छ। सिद्ध महापुरुष र तान्त्रिक योग साधकबाहेक अरूले गर्नु हुँदैन,’ उनले आफ्नो किताबमा लेखेका छन्, ‘चर्याको आफ्नै सीमा र अनुशासन घेरा हुन्छ। यसलाई कसैले तोड्न हुँदैन।’
चर्या सार्वजनिक गर्ने कि नगर्ने बहस जारी छ।
बज्रयानका गुरूआचार्यहरू शास्त्रमा आधारित नृत्य खुलेआम प्रस्तुत गरेर बजारिया बनाउन नहुने तर्क गर्छन्। उनीहरूको भनाइमा यसलाई गोप्य नै राखिनुपर्छ।
नयाँ पुस्ता भने विश्वभरि परिचित गराउनुपर्ने पक्षका छन्।
‘बाहिर सिकाउनै नहुने, देखाउनै नहुने त होइन, जथाभाबी पो गर्नुभएन,’ सुदनले भने, ‘नयाँ पुस्ताले यसको महत्व आत्मसात् गर्दै अघि बढाउनुपर्छ।’
नृत्यको जननीसमेत मानिने चर्या नेवारको केही समूहबाट विस्तार हुँदैछ। नाचमा जात, धर्म, रंगको भेद हुन नहुने चन्द्रमान बताउँछन्। बुद्धको पञ्चशील पछ्याउन सिकाउने यो नाच सबैले सिक्नुपर्ने उनको भनाइ छ।
विश्वका प्रतिष्ठित विश्वविद्यालयका अन्वेषक पनि नेपाल आएर चर्याबारे चासो देखाउन थालेका छन्। चन्द्रमान र उनका छोरा सुदनसहित अमेरिका बस्दै आएका प्रज्वलरत्न बज्राचार्य र यज्ञमानपति बज्राचार्यले विभिन्न देशमा चर्या देखाएर संस्कृति फैलाएका छन्।
चन्द्रमानका अनुसार चर्याको अर्थ चलायमान हुनु। क्रियाशील हुनु।
‘हामी कुनै पेसामा आबद्ध छौं भने त्यो पनि चर्या हो। एउटा गन्तव्यमा हिडँनु, लेख्नु, पढ्नु सबै चर्या हो,’ उनले भने, ‘हामी यी कुरा कति ध्यान दिएर गर्छौ? कति इमानदारी र एकाग्र भएर गर्छौ? चर्याले हामीले यही सिकाउँछ। यसको मूल उद्देश्य नै सिद्धिप्राप्ति हो। रिस, द्वैष, लोभ, मोह त्याग्नु यसको मूल मन्त्र हो।’
‘ध्यानको भावधारामा चुर्लुम्म डुबेर गरिने यो नृत्यले हामीलाई काममा एकाग्र बनाउँछ। त्यसैले यो ध्यानी नृत्य हो। ज्ञानी नृत्य हो। चर्या मात्र अगाल्ने हो भने संसारमा कुनै दुःख हुँदैन,’ चन्द्रमानले भने।