सोलुखुम्बुको गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको गोताखोर परिचालन गरी खोजी गरिएको छ।
शैक्षिक भ्रमणका लागि गोक्यो ताल अवलोकन गर्न साउन १८ गते गएका ३ जना विद्यार्थी १९ गते बिहानदेखि हराइरहेका छन्।
उनीहरू तालमा पौडी खेल्ने क्रममा डुबेका थिए।
‘शव खोजी गर्न गोताखोर परिचालन गरेका छौं,’ सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले सेतोपाटीसँग भने, ‘बुधबार १ जनाको शव पानीमुनिबाट निकालियो।’
कक्षा ९ मा पढ्ने १६ वर्षीय पेम्वा नुर्वु शेर्पाको शव फेला परेको हो। कक्षा ९ कै १७ वर्षीय पेम्वा दोर्जे शेर्पा र १६ वर्षका सुनिल बराइली अझै बेपत्ता छन्। यी विद्यार्थीहरू खुम्बु पासाङल्हामु गाउँपालिका ४ खुम्जुङ माविका हुन्। २ शिक्षक, १ कार्यालय सहयोगीसहित ३२ विद्यार्थी शैक्षिक भ्रमणमा गएका थिए।
‘बिहान साढे ९ बजेदेखि शव खोजी भइरहेको छ। पानी चिसो र धमिलो छ, खोज्न कठिन भइरहेको जानकारी आएको छ’, प्रजिअ रानाले भने।
घटनास्थलमा प्रहरीहरू परिचालन गरिएको छ। तालमा बेपत्ता भएका विद्यार्थीलाई खोज्न काठमाडौंबाट सशस्त्र प्रहरीका ५ जना गोताखोर बुधबार घटनास्थल पुगेका हुन्।
उनीहरू हेलिकप्टर चढेर गएका हुन्। हेलिकप्टर खर्च गाउँपालिकाले तिरेको छ। हिमताल अवलोकन गर्न गएका अरु विद्यार्थीहरू र शिक्षक भने गाउँ फर्किसकेका छन्। हिमताल ६२ मिटर गहिरो छ।