बुटवल १० रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा एक वर्षको अवधिमा १ हजार १ सय ५९ जना गरिब तथा विपन्न वर्गका बिरामीले नि:शुल्क उपचार सेवा लिएका छन्।
गत आर्थिक वर्ष २०७४/०७५ मा नेपाल सरकारबाट प्रदान गरिएको निःशुल्क सेवा र अस्पताल आफैंले उपलब्ध गराएको नि:शुल्क सेवाबाट उक्त संख्याका बिरामीहरूले सेवा लिएका हुन्।
अस्पतालका अध्यक्ष एजाज आलमले मुटु र मृगौलाको उपचारमा नेपाल सरकारले उपलब्ध गराउँदै आएको सहयोग र अस्पतालबाट गरी ६ करोड ९९ लाख ८९ हजार ४ सय ६ रुपैयाँ बराबरको उपचार नि:शुल्क गरिएको जानकारी दिए।
जसमध्ये अस्पतालले ५ सय १६ जना गरिब बिरामीहरूलाई ६७ लाख ४२ हजार ६ सय ९५ रुपैयाँका नि:शुल्क उपचार सेवा दिएको छ। आर्थिक अभावको कारण कुनै पनि बिरामी उपचार लिनबाट बञ्चित नहोस् भन्ने उद्देश्यले अस्पतालले परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएका बिरामीहरूलाई नि:शुल्क उपचार गर्दै आएको छ ।
त्यसैगरी सरकारले सूचीकृत गरेका अस्पतालहरूमा मुटुका बिरामीहरूलाई एक लाख रुपैयाँ र मृगौलाका बिरामीहरूलाई डायलाइसिस सेवा नि:शुल्क उपलब्ध गराउँदै आएको छ ।
जसमध्ये सबैभन्दा धेरै ३ सय ३१ जना बिरामीले ४ करोड, ७ लाख ५२ हजार ५ सय बराबरको नियमित डायलाइसिस सेवा लिएको अस्पतालले जनाएको छ।
बिरामीहरूको आवश्यकता अनुसार ३ सय ३१ जनालाई एक वर्षको अवधिमा १६ हजार ३ सय १ पटक डायलाइसिस सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ। त्यस्तै, ३ सय १२ जना मुटुका बिरामीहरूले सरकारले उपलब्ध गराएको नि:शुल्क सेवा लिएका छन्।
मुटुका बिरामीहरूको लागि २ करोड, २४ लाख ९४ हजार २ सय ११ रुपैयाँ बराबरको नि:शुल्क उपचार गरिएको अस्पतालले जनाएको छ। २०७० सालमा स्थापना भएको अस्पतालमा मुटुको क्याथल्याब सेवासहित १७ वटा डायलाइसिस मेशिनमार्फत् काठमाडौं बाहिर सबैभन्दा ठूलो डायलाइसिस युनिट समेत सञ्चालनमा रहेको छ।
सुरूमा यसक्षेत्रका उद्योगी व्यवसायीहरूको सक्रियतामा गैरनाफामुखी रूपमा सञ्चालनमा आएको अस्पतालमा पछिल्लो समय विभिन्न रोटरी क्लबहरूमार्फत् रोटरी फाउण्डेसनले सहयोग उपलब्ध गराउँदै आएको छ।
मुटु अस्पतालसँगै हालसम्म डायलाइसिस युनिट, आइसियु, क्याथल्याब लगायतमा सहयोग गर्दै आएको रोटरी फाउण्डेसनले सिटी स्क्यानको लागि समेत सहयोग गर्ने गरी सम्झौता भइसकेको अस्पतालले जनाएको छ ।
बुटवलमा विशेषज्ञ सेवासहितको क्लाथल्याब सञ्चालनमा आएपछि मुटुको एन्जियोग्राम, एन्जियोप्लाष्ट र मुटुमा पेशमेकर राख्ने कार्यको लागि थोरै भए पनि बुटवल बाहिर जानुपर्ने बाध्यता हटेको अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले जानकारी दिए ।
अस्पतालले उपचारको लागि आउने बिरामी तथा बिरामीका कुरुवाहरूलाई अस्पताल ल्याउने र छोड्नको लागि नि:शुल्क बस सेवा सञ्चालन गरेको छ।