बिबिए, बिबिएविआई, बिसिए, बिसिआईएसको परीक्षा दिएका रुपन्देहीका अधिकांश विद्यार्थी अनुत्तिर्ण भएका छन्। पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर अध्यापन गराउँदै आएका रुपन्देहीका क्याम्पसको नतिजा निराशाजनक आएको हो।
मंगलबार प्रकाशित बिबिए, बिबिएविआई, बिसिए, बिसिआईएसको परीक्षामा कतिपय क्याम्पसमा एक जना पनि विद्यार्थी उत्तिर्ण भएका छैनन्।
अधिकांश विद्यार्थीको ह्युमन रिसोर्स म्यानेजमेन्ट (एच आर एम), प्रिन्सिपल अफ म्यानेजमेन्ट (पि एम) र सि प्लस प्लस विषयमा अत्यन्त थोरै विद्यार्थी उत्तिर्ण भएका छन्। यसअघिका सबै परीक्षामा ए ग्रेड ल्याउने विद्यार्थी यसपटक फेल हुनुले विश्वविद्यालयको लापरवाही भएको विद्यार्थीहरुले बताए।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर रुपन्देहीका ८ वटा क्याम्पसले बिबिए, बिबिएबिआई, बिसिए, बिसिआईएस विषयमा अध्यापन गराउँदै आएका छन् ।
मंगलबार प्रकाशित नतिजामा सबैभन्दा धेरै तेस्रो र पाँचौं सेमेष्टरको नतिजा निराशाजनक आएको विद्यार्थीहरुले बताए। ‘कुनै क्याम्पसमा आठ दश जना विद्यार्थी अनुत्तिर्ण हुनु स्वभाविक मान्न सकिएला तर, रुपन्देहीका सबै क्याम्पसका अधिकांश विद्यार्थी अनुत्तिर्ण हुनुले उत्तर पुस्तिका जाँचमै लापरवाही गरिएको हुन सक्छ,’ विद्यार्थी गीता कोईरालाले गुनासो गरिन्।
‘यसअघिका सबै सेमेष्टरमा राम्रो अंक ल्याएर उत्तिर्ण भएका विद्यार्थी अहिले फेल भएका छन्, कुनै विषयको परीक्षामै सहभागि नभएको विद्यार्थीको बि ग्रेड आएको छ यो विश्वविद्यालयको गम्भीर लापरवाही हो,’ विद्यार्थी अस्विन पंगेनीले भने।
उनीहरूले पोखरा विश्वविद्यालयको नतिजा यसअघि पनि राम्रो नरहेको थाहा पाउँदा पनि अरु विकल्प नहुँदा आफूहरू पढ्न बाध्य भएको बताए।
बुटवलमा बिबिए, बिबिएबिआई कक्षा सञ्चालन गर्दै आएको क्षितिज ईन्टरनेशनल कलेजका प्रमुख सूर्य रानाले पनि तेस्रो र पाँचौं सेमेष्टरको परीक्षाको नतिजा अप्रत्यासित आएको बताए।
उनले दुई वटा सेमेष्टरमा अत्यन्त न्यून विद्यार्थी उत्तिर्ण भएकोले पोखरा विश्वविद्यालयमा पुनः जाँचको लागि निवेदन दिईने बताए।
सिद्धार्थ ईन्टरनेशनल कलेजका प्रमुख डि.आर. भण्डारी पनि अधिकांश विद्यार्थी एउटै विषयमा अनुत्तिर्ण हुनुले उत्तरपुस्तिका ढुवानी र जाँचमै कमजोरी भएको हुनसक्ने बताउँछन्।
‘पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका रुपन्देहीका सबै क्याम्पसहरुको परीक्षा केन्द्र क्रिमसन कलेजमा तोकिएको थियो, एउटै परीक्षा केन्द्रका सबै उत्तर पुस्तिका एकैपटक संकलन गरी पठाईएकोले ढुवानीमा र जाँच गर्दा नै कतै कमजोरी भएको हुनसक्छ,’ उनले भने ।
यता पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. भरतराम ढुंगानाले भने विद्यार्थीहरुको अंकमा कुनै त्रूटि नभएको दावी गरेका छन्। ‘विद्यार्थीलाई प्राप्त अंक चित्त नबुझे नतिजा प्रकाशित भएको सातदिन भित्रमा निवेदन दिएर उत्तरपुस्तिका पुनः जाँच गर्न पाउँछन्। तर, अंकमा कुनै त्रूटि भएको छैन,’ उनले दावी गरे ।
रुपन्देहीका सबैजसो क्याम्पसहरुले उत्तरपुस्तिका पुनः जाँचको लागि निवेदन दिने तयारीमा रहेको जनाएका छन्। उत्तरपुस्तिका पुनः जाँच गर्दा प्रति विद्यार्थी १ हजार पाँच सय रुपैया शुल्क तिर्नुपर्छ ।
परीक्षा नियन्त्रक ढुंगानाले उत्तरपुस्तिका पुनः जाँच गर्दा अंकमा कुनै त्रूटि भेटिए बुझाएको शुल्क फिर्ता गरिने बताए। रूपन्देहीमा तिलोत्तमा क्याम्पस, क्रिमसन कलेज, लुम्बिनी ईन्जिनियरिङ कलेज, एक्सिस कलेज, क्षितिज ईन्टरनेशनल कलेज, बुटवल मोडल कलेज, सिद्धार्थ ईन्टरनेशनल कलेज र वृहष्पती कलेजले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई विभिन्न विषयमा अध्यापन गराउँदै आएका छन्।
पोखरा विश्वविद्यालयबाट देशभरका ५८ वटा क्याम्पसले विभिन्न विषयको अध्यापनको लागि सम्बन्धन लिएका छन्।