अगाडि नै साउन महिनाभरको हाजिर गरेर बेपत्ता भएकी जाजरकोटमा कार्यरत एक जना चिकित्सकमाथि अख्तियारले अनुसन्धान सुरू गरेको छ।
महिना नबित्दै अगाडि नै हाजिर गरेर कार्यालय बाहिर रहेकी जाजरकोट जिल्ला अस्पतलामा कार्यरत स्त्री रोग विशेषज्ञ पूर्णिमा राईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले अनुसन्धान सुरू गरेको हो।
अख्यिारको सुर्खेतस्थित कार्यालयमा कार्यरत शाखा अधिकृत सुरेश बिसीसहितको एक अनुसन्धान टोली शुक्रबार जाजरकोटस्थित जिल्ला अस्पताल पुगेर डा. पूर्णिमा राईले गरेको साउन महिनाको हाजिरी प्रतिसहित अन्य कागजातहरू नियन्त्रणमा लिएको छ।
शुक्रबार पत्रिकामा आएको समाचारका आधारमा आयोगले अनुसन्धान गर्न लागेको आयोगको सुर्खेतस्थित कार्यालयका प्रवक्ता मेघनाथ सापकोटाले जानकारी दिए।
‘डा. पूर्णिमा राईको बारेमा पत्रिकामा आएको थियो, त्यसअनुसार उहाँले साउनको १८ गतेदेखि साउनको ३१ गतेसम्म पूरै हाजिर गर्नुभएछ,’ प्रवक्ता सापकोटाले भने, ‘त्यो पत्रिकामा आएको हुनाले पत्रिकालाई नै हामीले उजुरीका रूप मानेर टोली खटिएर आवश्यक कागजातहरू लिएर आएका छौं।’
अहिले डा. पूर्णिमाको कारबाहीको बारेमा अनुसन्धान प्रक्रिया जारी रहेको उनले बताए।
उनका अनुसार अब आयोगमा उजुरी दर्ता भएसँगै अनुसन्धान अधिकृतहरू तोकेर सम्बन्धित विषयमा अनुसन्धान गरिने छ।
‘उहाँले अगाडि नै हाजिर गर्नु गल्ती गर्नुभयो, अब बाँकी अनुसन्धान गर्दै जाँदा खुल्छ,’ प्रवक्ता सापकोटाले भने, ‘यहाँबाट अनुसन्धानको टोली जाँदा उहाँ त्यहाँ हुनुहुन्थेन, स्वास्थ्यका स्टाफले समेत त्यसबारेमा आफूलाई केही थाहा नभएको बताएका छन्।’
स्त्री रोग विशेषज्ञ डा. राईलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटले समेत सिफारिस गरिसकेको छ।
जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाको नेतृत्वमा जाजरकोट अस्पतालमा गरिएको छड्के अनुगमनका क्रममा कार्यालय प्रमुखलाई जानकारी नै नदिइ हाजिरी पुस्तिकामा साउनभरिको हाजिर जनाइ नेपालगन्ज गएको पाइएको छ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले डा. राईले अनुशासनहीन काम गरेको भन्दै स्वास्थ्य सेवा ऐनअनुसार आवश्यक कारबाहीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलगायतका निकायमा लिखित पत्राचार गरिएको बताए।
डा. राई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट विशेषज्ञ सेवा दिन जेठदेखि काजमा जाजरकोट जिल्ला अस्पतालमा खटिएकी थिइन्।
उनी महिनाभरिको अगाडि नै हाजिर गरेर जिल्ला छाडेपछि प्रसूति सेवालगायत स्त्री रोगसम्बन्धी विशेषज्ञ सेवा अहिले ठप्प छन्।
उनले मासिक दुई लाख ७७ हजार दुई सय ५० रुपैयाँ मासिक तलब दिने गरी प्रतिष्ठानसँग सम्झौता भएअनुसार जेठ र असारको ५ लाख ५४ हजार ५ सय रुपैयाँ भुक्तानी लिइसकेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ।
दुई वर्षअघि नै १५ शैय्याबाट ५० शैय्यामा स्तरोन्नति गरिएको जाजरकोट अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हालसम्म विशेषज्ञ सेवा सुरू हुन सकेको छैन।