वीरेन्द्रनगरका व्यवसायी र स्थानीयको लापरबाहीले थुप्रिने फोहोर व्यवस्थापन गर्न वीरेन्द्रनगर–६ वडा कार्यालयले नयाँ अभियान सुरू गरेको छ ।
अब वीरेन्द्रनगर बजार क्षेत्रका घरधनी तथा पसल सञ्चालकले आफ्नो घर तथा पसल अगाडि डस्टबिन नराखे जरिवाना तिर्नुपर्ने नियम वडा कार्यालयले ल्याएको छ।
सहरलाई स्वच्छ र सफा बनाउने उद्देश्यका साथ सुरू गरिएको ‘क्लिन सुर्खेत, ग्रीन सुर्खेत’ अभियानअन्तरगत अब घर र पसलको अगाडि डस्टबिन नराख्नेलाई जरिवाना गरिने कार्यालयले जनाएको छ।
वडा कार्यालयको सहकार्यमा ‘विङ्स फाउण्डेशन’सहित विभिन्न सामाजिक संघ–संस्थाहरूले शनिबारदेखि ‘क्लिन सुर्खेत, ग्रीन सुर्खेत’ अभियानको सुरूवात गरेका छन् ।
हरेक घरधनीहरूले आफ्नो आँगन तथा घर सफा राख्न सकेमात्रै पनि सहरलाई धेरै सफा बनाउन सकिने वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मोतिलाल कँडेलले बताए।
‘पहिले हरेक घरमा पुगेर घरधनी तथा व्यापारीहरूलाई यस विषयमा जानकारी दिनेछौं,’ अध्यक्ष कँडेलले भने, ‘यदि उहाँहरूले नमानेमा उहाँहरूले तिर्ने सम्पत्ति करमाथि जरिवाना थपेर कारबाही गर्ने योजना हाम्रो छ ।’
गल्ती दोहोर्याएमा निरन्तर जरिवानाको दर बढाउने समेत उलने बताए ।
‘क्लिन सुर्खेत, ग्रीन सुर्खेत अभियान’मा सबै नागरिकको साथ, सहयोग पाउनेमा आफूहरू ढुक्क रहेको अध्यक्ष कँडेलले बताए।
अभियानका समन्वयकर्ता ‘विंग्स फाउण्डेशन’का अध्यक्ष एवम् बाल रोग विशेषज्ञ डा. नवराज केसीले आफूहरूले हरेक घरअगाडि डस्टबिन राखेर नगरलाई सफा बनाउन अभियान सुरू गरेको बताए।
‘नगर सफा भएको खण्डमा नगरवासीको स्वास्थ्य पनि राम्रो हुन्छ, त्यसले यहाँको वातावरण पनि सफा राख्न मद्दत पुग्ने भएकाले यो अभियान चलाएका हौं,’ डा. केसीले भने, ‘यो अभियानलाई सबैले माया गर्नु हुनेछ र सक्रियातापूर्वक भाग लिनुहुनेछ भन्ने अपेक्षा छ।’
अभियानमा सुर्खेत महिला जेसीज, वीरेन्द्रनगर जुनियर जेसीज, जिल्लास्थित विभिन्न विद्यालयहरू, सामाजिक अभियन्ता लगायतले साथ दिएका छन्।