रौतहटको चन्द्रनिगाहपुर बजारमा पूर्वपश्चिम राजमार्गअन्तर्गत अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय गरेको छ।
राजमार्गसँगै रहेको चन्द्रपुर नगरपालिका–५ मुनलाइट फाउन्डेशनको पश्चिमपट्टी टिफिनको बट्टामा टेपले बेरी घडी र ब्याट्रीसमेत जोडिएको अवस्थामा रहेको बम सेनाले निष्क्रिय गरेको हो।
आज बिहान शंकास्पद वस्तु देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई खबर गरेका थिए।
स्थानीयको खबर पछि पुगेको प्रहरी टोलीले नेपाली सेनाको इन्द्र बक्स गणलाई खबर गरेको थिए। चन्द्रनिगाहपुरका इन्द्र बक्स गणबाट खटेको सहसेनानी बाबुराम पौडेल नेतृत्वको बम डिस्पोजल टोलीले भर्खरै बम डिस्पोज गरेका हुन्।
राजमार्ग छेउमै बम रहेकाले एक घण्टा राजमार्ग अवरुद्ध भएको थियो।
आज नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाको बन्दको हल्लाले नेकपाले बम राखेको हुन सक्ने प्रहरीको आशंका छ। घटनाको अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय चन्द्र निगाहपुरका डिएसपी शान्तिराज कोइरालाले बताए।