भनाइ छ– खराब पुस्तकालयले पुस्तक थुपार्छ। राम्रोले सेवा दिन्छ। उत्कृष्टले समुदाय बनाउँछ।
काभ्रे, पनौतीको ‘ज्ञान विकास पुस्तकालय’ यही प्रयासमा छ। पुस्तकालय समुदायले बनाएको हो। अहिले पुस्तकालयले समुदाय बनाउँदैछ।
रत्नपार्कबाट ३२ किलोमिटर दूरीमा छ पनौती। पनौती बसपार्कबाट करिब २ सय मिटर अगाडि बायाँपट्टि एउटा बस्ती छ। पुण्यमती नदी किनारको यो बस्तीलाई ‘पुरानो बजार’ भनिन्छ। किनारमै परम्परागत स्वरुपमा बनेको नयाँ भवनमा छ ज्ञान विकास पुस्तकालय।
स्थानीयको पहलमा ३ वर्षअघि ‘रिड नेपाल’ संस्थाले यो भवन बनाइदिएको हो। तीन आना जग्गा कर्माचार्य दाजुभाइ रामप्रसाद, मुकुन्द र पुष्परामले दिए। त्यही जग्गामा स्थानीयले नेपालकै नमुना पुस्तकालय ठड्याए। सरकारले यसलाई २०७४ सालको उत्कृष्ट पुस्तकालय घोषणा गरेको थियो।
भवन नयाँ भए पनि पुस्तकालय करिब ७० वर्ष पुरानो हो। यसको इतिहास राणाशासन सकिनुअघि नै देखिन्छ।
स्थानीय प्रशान्त श्रेष्ठका अनुसार २००६ सालमा स्थानीयको पहलमा यहाँ पुस्तकालय खुलेको थियो। न्हुँछे दास कर्माचार्य र भिमबहादुर प्रधानले जग्गा दिएका अभिलेख छ। त्यसैमा सोभियत संघले भवन बनाइदियो। भवन डिजाइनमा रसियन शैली नै देखिन्थ्यो। पछि जिर्णोद्धार क्रममा फेरियो।
‘पुस्तकालय भवनको नाम नै सोभियत मैत्री भवन थियो,’ प्रशान्तले भने, ‘पुस्तक पनि रसियन नै थिए।’ उनका अनुसार अहिले पनि ती रसियन किताबमध्ये ३० प्रतिशत बाँकी छन्।
बि.सं २००७ मा राणाशासन सकियो। पाँच वर्षपछि पुस्तकालयको स्वरुप पनि फेरियो। यसको नाम ज्ञान विकास पुस्तकालय भयो। नयाँ स्वरुप र नामसँगै यसको स्थापना मिति २०१२ कायम भयो।
स्थानीय, समाजसेवी र शिक्षकको नेतृत्वमा त्योबेला पुस्तकालय बनाएर ‘पुण्य’ गरेका थिए। अर्थात् उनीहरूले पुण्य कमाउन ज्ञान बाँड्ने गरेको प्रशान्त बताउँछन्।
तर देशको राजनैतिक उथलपुथलले यसलाई धक्का दियो। हुर्किँदै गरेको पाँच वर्षे पुस्तकालय २०१७ सालमा बन्द भयो।
‘पञ्चायतकालीन अधिनायकवाद सिद्धान्तमा पुस्तकालय सायद चुनौती बन्यो। विरोधको त्रास पनि,’ ज्ञान विकास पुस्तकालयका अध्यक्ष ओमकृष्ण श्रेष्ठले भने, ‘यसपछि बीचबीचमा पुस्तकालय फेरि खोल्न धेरै प्रयास भए। २०५४ सालमा आएर सफल भयो।’
उनका अनुसार पुस्तकालयका तत्कालीन अध्यक्ष तथा पूर्ववडाध्यक्ष महेशकुमार कर्माचार्यले पुस्तकालय ब्यूँताए।
‘तर यो पूर्ण सञ्चालनमा आएन। बेलुकी दुई घण्टा मात्र खुल्थ्यो,’ अध्यक्ष श्रेष्ठले भने, ‘पछि स्थानीयको पहलमा यसले नयाँ स्वरुप पायो।’
२०६७ सालमा स्थानीय युवाले ‘रिड नेपाल’ लाई पुस्तकालय प्रस्ताव गरे। ग्रामिण शिक्षा तथा विकास (रिड) ले प्रत्यक्ष जनसहभागिता र संलग्नतामा पुस्तकालय सञ्चालन गर्दै आएको छ। रिडको यस्तो अभियानलाई सन् २००६ मा अमेरिकी कम्पनी माइक्रोसफ्टका मालिक बिल गेट्सको ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’ले ‘समुदाय परिचालनको विशिष्ट अभियान’ भनेर पुरस्कृत पनि गरेको थियो। रिडको मोडलअनुसार नै भारत र भुटानमा पनि पुस्तकालय सञ्चालन हुँदै आएका छन्। पश्चिम अफ्रिकाको आइभोरी–कोस्ट पनि यो मोडल सिको गर्ने तयारीमा छ।
यही मोडलअन्तर्गत नेपालका ४५ जिल्लामा ६८ पुस्तकालय बनिसकेका छन्। त्यसैमध्येको ५० औं हो, पनौतीको ज्ञान विकास।
रिडको सहकार्यमा पुस्तकालय बनाउन स्थानीयले समुदायबाटै पैसा संकलन गरे। विभिन्न अभियान चलाए। सबभन्दा आश्चर्यजनक संकलन खुत्रुके अभियानबाट भएको अध्यक्ष श्रेष्ठ बताउँछन्।
‘हामीले सय दिन, सय रुपैयाँ नामक खुत्रुके अभियान चलाएका थियौं। विभिन्न विद्यालयमा खुत्रुके लगेर राख्यौं। इच्छुक विद्यार्थीले प्रत्येक दिन १ रुपैयाँ खसाउँथे,’ उनले भने, ‘त्यसैबाट ३ लाख २२ हजार रुपैयाँ संकलन भयो।’
खुत्रुकेबाहेक नगरपालिका, स्थानीय विकास मन्त्रालय लगायतबाट सहयोग आयो। भवन बनुञ्जेलसम्म ८० लाख संकलन भयो।
नयाँ पुस्तकालय भवन चार तले छ।
पहिलो तलामा पत्रिका, म्यागजिन र अरु पाठ्य सामग्री छन्। भित्तामा ‘पुस्तकालय ज्ञानको भण्डार, प्रगतिका लागि ज्ञान, ज्ञानको लागि पुस्तक, पुस्तकालय जाऔं, पुस्तक पढौं’ लगायत लेखिएको छ।
यो ज्ञानको भण्डार शिशुदेखि पाका उमेरका बाआमा सबैकानिम्ति खुला छ।
‘धेरैलाई पुस्तकालय शिक्षा क्षेत्रसँग सम्बन्धितका लागि मात्र हो भन्ने पर्छ। यो गलत हो। पुस्तकालय सबैका लागि ज्ञान भण्डार हो। कलिला नानीबाबुदेखि पाका बाआमासम्मलाई,’ श्रेष्ठले भने, ‘सामुदायिक पुस्तकालयले गर्ने पनि यही हो।’
नभन्दै हामी पुग्दा यहाँ श्रेष्ठले भनेझैं देखियो। ढोकाबाट छिर्नेबित्तिकै दायाँतर्फ सोफा छ। पाका उमेरका बाआमा सोफामा ढल्केर दैनिक–साप्ताहिक पत्रपत्रिका पढिरहेका थिए। बायाँतर्फ पत्रिका संकलन छ। बीचमा गोलाकार डिस्प्ले र्याक छ। साप्ताहिक पत्रिका सजिएका छन्। पुस्तकालयलाई यी सबै पत्रिका सहयोगमा आउँछन्।
सोफापछाडि सिसाको दराज छ। यसमा पनौती र यसको सन्दर्भ जोडिएका किताब छन्। तीमध्ये ‘पनौती कथा’ र ‘कुमारी कथा’ रिड नेपालले पाका स्थानीयसँग कुराकानी गरेर तयार गरेको हो।
रिड नेपालले ‘ग्रान्डप्यारेन्ट स्टोरी, माई पिक्चर (हजुरबा–आमाको कथा, मेरो तस्बिर)’ नामक कार्यक्रम मार्फत पनौतीको कथा खोजेको हो। त्यस्तै ८० वर्षपछि कुमारी प्रथा पुनः जागरण गर्न पुस्तकालयले अहम् भूमिका खेलेको स्थानीय बताउँछन्।
छेउमै अर्को र्याक छ। यहाँ भने ६ महिनादेखि ६ वर्षका नानीबाबुका लागि किताब छन्।
‘अहिलेका बच्चालाई पढ्नुपर्छ भन्ने नै छैन। खाली मोबाइल र खेल्नमै झुम्मिन्छन्,’ केटाकेटीका किताब देखाउँदै श्रेष्ठले भने, ‘यी किताबमा खेलौना नै जडित छन्। नानीबाबु लोभ्याउने खालका। उनीहरू खेल्छन्। खेल्दाखेल्दै सिक्छन्।’
यी केटाकेटीका किताब निकै आकर्षक छन्। हामीले देख्दै आएका बालकिताब भन्दा फरक।
एउटा किताब ट्रक स्वरुपमा छ। त्यसमा खेलौना ट्रकका झैं पांग्रा छन्।
‘टच एण्ड फिल’ नामको अर्को किताब छ। यसमा चरा र जनावरका चित्र छन्। त्यसैबीच शरीरको एक भागमा तिनलाई महशुस गर्न सकिने ‘रौं’ हालिएको छ। जस्तो भँगेराको चित्र भए, त्यसैको रौं। चरा कस्तो हुन्छ भन्ने मात्र नभई महशुस गर्दै बालबालिका पढ्न सक्छन्।
अर्को किताबमा ‘बटन’ छन्। त्यो थिच्दा विभिन्न चरा एवम् जनावरको आवाज आउँछ। थ्रिडी, ग्रिटिङ बुक, नम्बर्स स्लाइड एण्ड लर्न लगायत अरु किताब पनि आकर्षक छन्। यी सबै अष्ट्रेलियाको सहयोगमा एकता बुक्स र अनुज प्रकाशनबाट ल्याइएका हुन्।
‘सानैदेखि किताबमा आकर्षण भए भने पछिसम्म पढ्ने बानी विकास हुन्छ,’ श्रेष्ठले भने।
भुइँतालको यो कोठा नै मुख्य पुस्तकालय हो। यसैले एकै कोठामा बालबालिकादेखि पाका उमेरसम्मका लागि किताब छन्। यीसँगै आख्यान, गैर आख्यान, साहित्य, संगीत, सामान्य ज्ञान, आध्यात्मिक, शैक्षिक लगायत किताब छन्।
बनेपाको निष्ट कलेज पढ्ने आष्मा घुल्लु प्रोजेक्टका लागि किताब खोज्दै पुस्तकालय छिरिन्। ‘होटल म्यानेजमेन्ट एण्ड टुरिजम’ पढिरहेकी उनलाई पनौती पर्यटनमा रिपोर्ट बनाउन मन लागेछ। किताबको दराज नियाल्न थालिन्।
‘विशेषगरी विद्यार्थी आउँछन्। रिपोर्ट, थेसिस बनाउन स्रोत किताब खोज्छन्। टाढा–टाढाबाट पनि धाउँछन्,’ लाइब्रेरियन सोनिया ताम्राकार ले भनिन्, ‘एक जनाले एउटा किताब एक सातासम्म राख्न पाउँछन्। धेरै लैजान भने सम्बन्धित विद्यालय र संस्थाबाट पत्र ल्याउनुपर्छ।’
सोनियाका अनुसार पुस्तकालय सदस्यताका लागि वार्षिक एक सय रुपैयाँ बुझाउनुपर्छ। आजीवन सदस्यताका लागि २५ सय। विद्यार्थीले वार्षिक ५० रुपैयाँमै सदस्यता पाउँछन्। टाढाबाट आएकाले लैजान परे किताबको मूल्य बराबरकै पैसा डिपोजिट गर्नुपर्ने उनले बताइन्।
पुस्तकालयको माथिल्लो तलामा बाल कक्ष छ। हामीलाई भवन अवलोकन गराइरहेका अध्क्षय श्रेष्ठका अनुसार यो कक्षमा बालबालिका खेल्न सक्छन्। यहाँ दराजमा किताबसहित खेलौना, पजल गेम र गुडिया छन्। खेल्दै पढ्न सिकाउने यो कक्षमा कथा सुनाइन्छ। चित्र बनाउन र सिर्जनात्मक लेख्न सिकाइन्छ।
विशेषगरी व्यस्त अभिभावकले आफ्ना छोराछोरी यहाँ छोड्न सक्छन्। साँझ ४ बजे बालबालिकालाई गृहकार्य गराउन र पढाउन ४ जना कर्मचारी छन्।
यही तलाको अर्को कोठामा छ– माटो परीक्षण प्रयोगशाला।
यहाँ स्थानीयका खेतबारीको माटो परीक्षण गरिन्छ। विषादीबाट माटो बचाउने पहल गरिन्छ।
यही कोठाको भित्तामा ‘लिट्रेसी क्लास’ मा सहभागी महिलाका तस्बिर छन्। श्रेष्ठका अनुसार पनौतीलाई साक्षर क्षेत्र बनाउन यो अभियान सुरु भएको हो। पुस्तकालयकै ‘पार्ट टाइम’ कर्मचारी यो अभियानमा छन्।
भवनको अर्को तलामा छ, आइसिटी ल्याब। यहाँ १० कम्प्युटर छन्। ती सबैमा ‘लेट्स रिड’ एप जडित छन्। निरीक्षक रहना श्रेष्ठका अनुसार यहाँ स्थानीयले कम्प्युटर सम्बन्धी साधारण तालिम पाउँछन्। साथै गृहिणीले टाइपिङ, सामाजिक सञ्जालमा विदेशमा रहेका परिवारजनसँग कुराकानी गर्ने लगायत ज्ञान पाउँछन्। विद्यार्थीलाई काम लाग्ने वेबसाइट भित्तामा लेखिएको छ। टाइपिङ सिक्न नेपाली र अंग्रेजी किताब छन्।
‘यहाँ इन्टरनेटको सदुपयोग गर्न सिकाइन्छ,’ रहनाले भनिन्।
‘आइसिटी इन्फरमेसन’ भनेर सेतो पाटीमा लगातार चार दिनको मौसम उल्लेख थियो। शनिबार पानी पर्ने संकेत थियो। हामी शनिबारै पुगेका थियौं, पानी परिरहेको थियो। रसनाका अनुसार किसानहरू खेतबारी जानुअघि मौसम जानकारी लिन यहाँ आउँछन्।
त्यही पाटीमुनि ‘गृहिणीलाई विशेष सूचना’ लेखिएको थियो। उनीहरूले निःशुल्क बेसिक कम्प्युटर र इन्टरनेट सिक्न सक्ने उल्लेख थियो।
शनिबार र पानी परेकाले होला आइसिटी ल्याब खाली थियो। कक्षा दशको परीक्षा दिएर बसेका अभिषेक खुलाल भने त्यहाँ भेटिए। उनको सोख मानिसका पोट्रेट र स्केच बनाउने रहेछ।
‘शान्त वातावरण भएकाले चित्र बनाउन आएको,’ उनले भने, ‘पोट्रेट बेचेर पुस्तकालयलाई सहयोग गर्न चाहन्छु।’
यो तलाको अर्को कोठा ‘अडियो भिडियो र महिला कक्ष’ हो। यहाँ महिलालाई आवश्यक व्यवहारिक ज्ञान सिकाइन्छ। यसनिम्ति किताब राखिएका छन्। यहाँ पाठेघर, स्तन र मुखको क्यान्सर परीक्षण पनि हुन्छ। भेला–छलफल हुन्छ।
योबाहेक बालबालिकालाई कार्टुन र ज्ञानमूलक भिडियो देखाइन्छ। पाका स्थानीय रामायण, महाभारत र हिन्दी–नेपाली फिल्ममा रमाउन सक्छन्। यसनिम्ति ४२ इन्चको टिभी छ।
सबभन्दा माथिल्लो तलामा हल छ। यहाँ सम्मेलन–गोष्ठी हुन्छ। शनिबार ‘पनौती एण्ड प्राइभेट ट्रेनिङ स्कुल’को म्याथम्याटिक्स सम्बन्धी तालिम चलिरहेको थियो। अध्यक्ष श्रेष्ठका अनुसार हलको दैनिक भाडा २ हजार रुपैयाँ छ। त्यसैबाट वार्षिक करिब एक लाख रुपैयाँ पुस्तकालयलाई आम्दानी हुन्छ।
प्रायः जसो सामुदायिक र निजी पुस्तकालय पैसा अभावमा बन्द हुन्छन्। पनौतीको ज्ञान विकास पुस्तकालयले यो कुरा बुझेको छ। यसैले सञ्चालननिम्ति विभिन्न तरिका अपनाएको छ।
हल भाडाबाहेक आम्दानीको स्रोत पुरानो सोभियत मैत्री भवन हो। पुरानो बजारबाट नदीकिनार नपुग्दै सडक छेउमै रहेको त्यो भवनमा हाल पुस्तकालय छैन। दुई तले भवनको माथिल्लो तलामा ‘गेष्ट हाउस’ छ। तल कोशेली घर। कोशेली घरमा काठ, नेपाली कागज, माला, काठका चुरा लगायत सामान छन्। यी सामान प्रायः पनौतीकै स्थानीयले बनाएका हुन्। यसबाट स्थानीयलाई रोजगारी मिलेको छ। पुस्तकालयलाई थोरै भए पनि आम्दानी।
‘कोशेली घर र गेष्ट हाउसबाट भएको आम्दानी पुस्तकालयको विविध खर्चमा प्रयोग हुन्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘यति नगर्ने हो भने खोल्दै बन्द हुने पुस्तकालयको संख्या मात्र थपिन्छ।’
पुस्तकालयले आम्दानीनिम्त अर्को योजना बुनेको छ। पुस्तकालय नजिक धेरै घरका पसल बसाईसराइ गर्ने क्रममा खाली छन्।
‘यी पसल भाडामा लिएर सेकेन्ड ह्यान्ड सामान बिक्रीवितरण गर्ने योजना छ,’ उनले भने, ‘कोरियामा ब्युटिफुल स्टोर नामको पसलले सेकेन्ड ह्यान्ड लुगाफाटा, भाँडाकुँडादेखि सबैखाले सामग्री बेच्छ। सुखावती स्टोरको सहयोगमा त्यस्तै पसल संचालन गर्ने तयारी छ।’
समुदायलाई बनाउन लागि परेको यो पुस्तकालयले गोरखा, ताकुकोटमा पनि यस्तै पुस्तकालय बनाउन सहयोग गर्दैछ।
‘समुदाय विकास गर्न र सभ्य बनाउन पुस्तकालयको भूमिका महत्वपूर्ण हुन्छ,’ श्रेष्ठले भने, ‘त्यसैले पुस्तकालय जति उत्कृष्ट भयो, समुदाय उति नै सभ्य बन्नसक्छ।’