खोलाले बगाउँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ।
बुधबार बिहान दाउरा निकाल्ने क्रममा खोलाले बगाउँदा नलगाड नगरपालिका–७ का ४० वर्षीय उमेश शाहीको मृत्यु भएको छ।
दानीपिपल भन्ने ठाँउबाट बगेका उनलाई ५० मिटर तलबाट मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
यस्तै, मंगलबार रातिदेखि परेको अविरल वर्षापछि बुधबार बिहान जाजरकोटको कैना खोलामा आएको बाढीले ९ घर बगाएको छ। बाढीले चार मिल, दुई दर्जन घट्ट, ६ वटा घुम्ती पसल बगाएको छ । यस्तै धानसहितको खेत समेत बगाएको छ।
नलगाड नगरपालिका ३ कैनाका गोकर्ण चन्द, वडा नम्बर ५ कालीमाटीका खिमलाल जैसी, शिवराज रावल, धनबहादुर वली, खिमबहादुर जैसी, दीपक विक, भक्तबहादुर चनारा, नरबहादुर रावल, कालीबहादुर रावलको घर बाढीले बगाएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वडा नम्बर ४ का हिरालाल पन्त, वडा नम्बर ३ का प्रचण्ड वली, वडा नम्बर २ का सर्वजीत सुनार र वडा नम्बर २ का रामबहादुर विकको मिल बगाएको छ भने वडा नम्बर ५ कालीमाटीमा रहेका ६ ओटा घुम्ती पसल बगाएको छ। बाढीले स्थानीयका दुई दर्जन घट्ट बगाएको छ।
सोही ठाउँमा पर्ने घवाराको झोलुङ्गेपुल र छेप्का–कालीमाटी जोड्ने ट्रस्ट ब्रिज समेत बगाएको छ। पुल बगाएपछि आवागमन बन्द भएको प्रहरीले जनाएको छ।
पुल बगाएपछि बारेकोट गाउँपालिका र जुम्ला जाने यात्रु अलपत्र परेका छन्। प्रहरीले अहिले क्षतिको विवरण संकलन गरिरहेकोले कति क्षति? भयो भन्नेबारे अझै एकीन हुन नसकेको बताएको छ ।