सायदै कसैले सोचेका थिए– पनौतीमा उनको निधनसँगै चाडपर्वको रौनक हराउनेछ। नौ बाजा सुनिँदैन।
भयो यही।
आजभोलि नौ बाजा- लाटा खीँ, ढाँ, ढलुक, धिमे, नाखीं, कोखीं, नगरा, पछिमा र ताताली बजाउने कोही छैन।
पाँच वर्षअघि ‘नौ बाजा विज्ञ’ गणेशमान दुवालको मृत्युसँगै पनौतीबाट नौ बाजाको विज्ञता पनि मासियो।
दुवालपछि उनका छोरा सन्तोष यी बाजा अलिअलि बजाउँथे। डेढ वर्षअघि उनी जापान गए। त्यसपछि भने नौ बाजाको रौनक नै छैन।
‘गणेशमानको छोरा पनि विदेसियो,’ पनौती निवासी प्रशान्त श्रेष्ठले मलीन हुँदै भने, ‘बाजा नै लोप भयो। गाईजात्रा आउन लाग्यो। नौ बाजा बजाउन पर्ने हो। खै! भक्तपुरतिरबाट पो वादक ल्याउने कि! संस्कृति जोगाउनै मुश्किल भयो।’
नौ बाजाको सुरुआत छैठौं शताब्दीमै सुरु भएको भक्तपुरका संस्कृतिविद ओम धौभडेलको अनुमान छ। उनका अनुसार नौ बाजाबाट विशेषगरी देवीदेवताको आराधना गरिन्छ।
दाफा खलः को विशिष्ट बाजामध्येमा नौ बाजा पर्छ। दाफा खलः भनेको परम्परागत नेवार समूह हो। यो समूहले मठमन्दिर तथा गुठीमा भजन–कीर्तनका साथै चाडपर्वमा बाजा बजाउँछन्।
नौ बाजा हात र मुखले बजाइन्छ। सधैं बजाउन कठिन हुनाले विषेश अवसरमा मात्र बजाइने धौभडेल बताउँछन्। यसका गीत, राग र ताल चाडपर्व र ऋतुअनुसार हुन्छन्।
‘असारतिर रोपाइँको गीत ‘सिन्हाज्या’ गाइन्छ। गाइजात्रामा ‘सापारु’, यन्हा पुन्हीमा ‘तुकाज्याँ’, दसैंमा ‘मालश्री’, तिहारमा ‘धनश्री’ लगायत पर्छन्,’ धौभडेलले भने।
उनका अनुसार यी सबै बाजा क्रमबद्ध रुपमा एकै व्यक्तिले बजाउँथे। चाहे पनि सबै बाजा एकैजनाले बजाउन मुश्किल हुन्छ।
‘सकभर एउटैले बजाउनुपर्छ। यो खुबी कमै व्यक्तिमा हुन्छ। अहिले पो सजिलोका लागि ९ जनाले बजाउन थालेका छन्,’ धौभडेलले भने, ‘सबै बजाउन जान्ने त प्रतिभाशाली हुन्।’
गणेशमान दुवाल तिनै प्रतिभाशालीमध्ये थिए। १९९६ सालमा जन्मिएका उनले २०१६ सालदेखि नौ बाजा सिकेका थिए।
उनका बुवा श्यामलाल ‘खीँ’ र ‘पछिमा’ बजाउँथे। आफूलाई बाजा सिक्न बुवाले नै हौसाएको दुवालले बताएका छन्।
‘सुरुमा मानकाजी प्रजापतीले खीँ मात्र बजाउन सिकाएका थिए। पछि उहाँभन्दा जान्ने कान्छा प्रजापतीसँग वर्ष दिन लगाएर नौ बाजा सिकेँ,’ पनौतीबाट २०६८ भदौमा प्रकाशित ‘साँस्कृतिक धरोहर खण्ड एक’ पत्रिकामा दुवालले दिएको अन्तर्वार्तामा भनेका छन्, ‘सुनेको भरमा सिकेको थिएँ। पछि बजाउँदै बोल टिप्न सक्ने भएँ। २०६६ सालतिर त सिकाउनै थालेँ।’
दुवालको अन्तर्वार्ताअनुसार बाजा बजाउन सिक्न थालेको चार वर्ष (वि.सं २०२०)मा उनलाई कुष्ठरोग लाग्यो। हातगोडामा समस्या देखिए। बाजा बजाउन भने छाडेनन्। सिकाउन पनि पछि हटेनन्।
दाफा भजन र नौ बाजा बनेपाकी गंगा महारानीको पालादेखि सुरु भएको दुवालले बताएका छन्। यो भजन र बाजा सुनेर महारानी खुसी हुन्थिन् रे। एकपटक १२ बोकासहित उनै महारानी चण्डेश्वरीमा पूजा गर्न आउँदा एउटा पनि बोका पर्सेन रे। तान्त्रिकले ध्यान गरेर हेर्दा माता चण्डेश्वरी नै पनौतीको भजन सुन्न विराजमान रहिछन्।
भजन बीचमा रोक्न नमिल्ने भएकाले सकिएपछि मात्र बोका पर्सिएको किंबदन्ती छ। पनौती दाफा बाजाखलः सँग खुसी भएकी महारानीले सुन्थानको नरेटारमा पचासौं रोपनी जग्गा भजनका नाममा लालमोहर लगाइदिएकी थिइन्। पछि त्यहाँका भिमभक्त कर्माचार्यले नरेटारलाई नारायणटार बनाई मोहीका नाममा दर्ता गरिदिए। पचासौं रोपनीको आयस्ता मासियो।
‘आजकाल भजन र बाजाखलःको नाममा टौखालको जग्गाबाट एक मुरी चिउरा र वर्षमा २१ माना तेल मात्र आउँछ,’ दुवालले त्योबेला अन्तर्वार्तामा भनेका छन्।
नौ बाजा वैशाख शुक्ल पूर्णिमामा चण्डेश्वरीमा, जेष्ठ पूर्णिमामा पनौतीको डबलीमा, गाईजात्रा, दसैं घटस्थापनादेखि टीका, संक्रान्ति लगायत विशेषपर्वमा बजाइन्छ।
यी बाजा बजाएपछि मालीं अनिवार्य बजाउनुपर्छ। यसलाई जुगीहरुले बजाउँछन्।
‘जुन तालमा नौ बाजा बजाइन्छ, जुगीहरुले त्यही तालमा मालीं बजाउनुपर्छ,’ दुवालले भनेका छन्, ‘जुगीहरु कम छन्। पहिला प्रशस्त हुँदा तलेजुमा फूलपातीदेखि टीकासम्म, इन्द्रेश्वर महादेव प्राङ्गणमा ज्वारे नवमदेखि पूर्णिमासम्म नौ बाजासँगै मालीं पनि बजाइन्थ्यो। महादेवमा रुद्री र खीर भोज गरी पूर्णेसम्मै बजाइन्थ्यो। मालीं नभई नौ बाजाको रस हुन्न।’
नयाँ पुस्ताले नौ बाजा सिक्नुपर्छ भन्नेमा दुवालको चासो थियो। आफ्नो छोरासँगै उनले सिक्न चाहने अरुलाई पनि तालिम दिए। कतिले सिके, निरन्तरता दिएनन्। कतिलाई सबै बाजा सिक्नै गाह्रो भयो। कति त उनका छोरा सन्तोष जसरी नै विदेसिए। नौ बाजामा कसैले आफ्नो भविष्य देखेनन्।
‘आमाबुबाले हौसाएको भए अझै यसको जगेर्ना प्रभावकारी ढगंमा गर्न सकिन्थ्यो। आमाबुवाको बचन राख्न कर लाग्छ,’ त्यसैबेला दुवालले चिन्ता व्यक्त गरेका थिए।
प्रसिद्ध लोक ब्याण्ड ‘कुटुम्ब’ले दुवालबाटै नौ बाजामध्येका केही बाजा सिकेर गए। पनौतीमा ‘कुटुम्ब हातेमालो’ अभियानबाट कन्सर्ट पनि गरे। स्थानीयले भने यसको महत्व नबुझेनन्।
६९ वर्षीय स्थानीय मच्छेनारायण दुवालका अनुसार पनौतीमा पहिले कुसुले र नौ बाजाको प्रतियोगिता नै हुन्थ्यो। प्रतियोगिताबाट बादकको प्रतिभा जाँचिन्थ्यो। कुसुले बाजा पनि नौ बाजा झैं लोप हुने क्रममा छ।
‘बिहान-बेलुकी नियमित हुनुपर्ने भजन पनि कहिलेकाहीँ मात्र हुन्छ। बजाउने मान्छे नै छैनन्,’ उनले भने, ‘सिकेकाले पनि छाडे। अब भक्तपुरबाट ल्याउनुपर्ने भयो।’
उनका अनुसार नौ बाजा लोप हुनुमा बादकले पूजाआराधना गर्ने नारायणको मूर्ति चोरी भएकाले पनि हो।
सो मूर्ति तीन-चार वर्षअघि चोरी भएको र यसबारे धेरै जानकारी नभएको स्थानीय बताउँछन्।
५७ वर्षीय रमेशप्रसाद जंगमका अनुसार ‘धिमे’ बाजामा भने नयाँ पुस्ताको आकर्षण छ। बर्षौं पुरानो नौ बाजा भने हराउँदैछ।
‘आफ्नो ठाउँमा चलिआएको परम्परा मासिँदा दुःख लाग्छ। अब अन्तैबाट सिकाउने मान्छे ल्याएर भए पनि जगेर्ना गर्नपर्ने भयो। कस्तो बिडम्बना!,’ उनले भने।
संस्कृतिविद् धौभडेलका अनुसार भक्तपुरमा पनि नौ बाजा बज्ने ठाउँ कम हुँदैछ। दतात्रेय, तौमदीको भैरवनाथ मन्दिर, घट्खाको भद्रकाली मन्दिर र तलेजुमा नौ बाजा बज्थ्यो।
‘ती चार ठाउँमध्ये तलेजुमा यो बाजा बज्न छाडिसक्यो,’ उनले भने, ‘केही ठाउँमा भने नयाँ पुस्ताले चासो देखाइरहेका छन्।’
उनका अनुसार नौ बाजामध्येका एक-दुई बाजा ठाउँ अनुसार फरक हुन सक्छन्। नेवारी सभ्यता र भाषा ठाउँअनुसार फरक भए जस्तै। केही बाजा मानिसका थरअनुसार पनि बनेका छन्। ती बाजा तिनै थरका मानिसले बजाउने गरेको उनले बताए। जस्तो- मालिङ. कसुले, ताताली। ताताली भने लोप भइसकेको छ।
पनौती सभ्यता भक्तपुरबाट अभिप्रेरित छ। यालाछें लगायत ठाउँ भक्तपुरसँग मिल्छ। यहाँका बाजा र चाडपर्व पनि मिल्छ। जेनतेन भक्तपुरले बचाइरहेको नौ बाजा पनौतीमा लोप हुनु भने दुर्भाग्यपूर्ण भएको धौभडेल बताउँछन्।
‘जब ढिला भइसक्छ, तब मात्र मानिसको बुद्धि पलाउँछ,’ उनले भने, ‘पहिले संरक्षण गर्न कसैको ध्यान गएन। महत्व बल्ल बुझ्दैछन्। ढिलै भए पनि बाजा संरक्षणमा ध्यान जानु राम्रो हो। पनौतीका चाडपर्वमा नौ बाजा चाँडै गुञ्जिऊन्।’