पहिरोको जोखिम बढेपछि दैलेखको नारायण नगरपालिका १ का ११ घरपरिवारलाई शनिबार सुरक्षित स्थानमा सारिएको छ।
गएरातिको वर्षाका कारण केही घरका कान्लाहरू भत्किएको र तीसहित अन्य घरहरूमा पनि पहिरो आउन सक्ने सम्भावना बढेपछि नारायण नगरपालिका–१ नमूना बस्तीका ११ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा उनीहरूलाई जिल्लास्थित पशुसेवा कार्यालयको भवन नजिक सारिएको दैलेखका प्रहरी प्रमुख (डिएसपी) ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।
‘हिजोको वर्षाले केही घरका कान्लाहरू भत्किएर घरको पछाडिका भित्ताहरूमा टाँसिएका छन्,’ डिएसपी पोखरेलले भने, ‘वर्षा भएमा फेरि अरु नजिकका घरहरूमा पनि पहिरो आउने सम्भावना देखिएपछि प्रशासन र प्रहरी मिलेर उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो।
उनका अनुसार पशुसेवा कार्यालयको प्राङ्गणमा ती परिवारलाई बस्नका लागि पाल हालिएको छ। कम्तिमा पनि अबको ७ दिन र बढीमा २० दिनसम्म उनीहरूलाई त्यहाँ फर्कन उचित नहुने पोखरेलले बताए ।
‘