भारतको प्रसिद्ध ‘जी सिने अवार्ड’ कार्यक्रम गर्न भक्तपुरस्थित नागरिक उड्ययन प्राधिकरणको जग्गामा प्रिफ्याब भवन बनाइने भएको छ।
ठिमीस्थित प्राधिकरणको १ सय ८९ रोपनी जग्गामा भवन बनाउने प्रक्रिया अघि बढेको हो।
सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले ठिमीस्थित जग्गामा भवन बनाउनेबारे कुराकानी भैरहेको सेतोपाटीलाई बताए।
‘भवनको नक्सा भवन विभागले बनाउँदै छ’, दवाडीले भने, ‘भवन बनाउने जिम्मा तोकिएको छैन। त्यसैले जग्गाको विषयमा पनि निर्णय भएको छैन।’
कम्तिमा ६/७ वर्ष प्रयोग गर्न मिल्नेगरी अस्थायी संरचना बनाउने र निर्माण लागत भाडाबाट उठाउने सरकारको योजना छ।
जी टेलिभिजन नेटवर्कका सञ्चालक सुभाष चन्द्रले गत साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि सिने अवार्ड नेपालमा गर्ने घोषणा गरेका थिए।
आउँदो पुस/माघमा अवार्ड आयोजना गर्ने तयारी जी नेटवर्कले तयारी गरेको छ। प्रधानन्त्री केपी ओलीले अवार्ड आयोजना तयारी गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास र गृह मन्त्रालयलगायतलाई निर्देशन दिएका थिए। लगत्तै १ सय ९५ देशका निम्तालु सहभागी हुने अवार्ड कार्यक्रम गर्ने हलको खोजी भएको थियो। लुम्बिनीमा बौद्ध सम्मेलनका लागि ३ हजार मानिस अट्ने हल ३८ दिनमा प्रि फ्याबबाट तयार गरिएको थियो।
सरकारले ठिमीमा पनि कार्यक्रमका लागि त्यस्तै संरचना तयार यस्तै संरचना बनेको र यहाँ पनि छिट्टै बनाउन सकिने भए पनि अहिले तयारीकै क्रममा रहेको दवाडीले बताए। भक्तपुरमा नेपाल ट्रष्टको जग्गा, भैंसेपाटी आवास क्षेत्रको जग्गा र रेडियो नेपालको जग्गा पनि हेरिएको थियो।
तर सहरबाट केही बाहिर र पार्किङ पनि आवश्यक हुने भएपछि सरकारले भक्तपुरको जग्गामा भनव निर्माण गर्ने तयारी गरेको हो। जग्गा, भवनको लागत र प्राविधिक पक्षको अध्ययन भएपछि त्यसको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइने र त्यसपछि संरचनाको निर्माण गर्ने निर्णय हुनेछ।
२ हजार क्षमताको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन संघीय संसदले एक दशक यता ओगटेको छ।