लुम्बिनी बौद्ध विश्वविद्यालयले अर्जेन्टिनामा केन्द्रीय कार्यालय रहेको संयुक्त बौद्ध राष्ट्र सङ्गठनको सदस्यता लिएको छ।
शुक्रबार बसेको संयुक्त बौद्ध राष्ट्र संगठनको बोर्ड बैठकले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई आफ्नो सदस्यता प्रदान गर्ने निर्णय गरेको हो।
बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन अध्यापन र अनुसन्धानलाई अभिवृद्धि गर्ने उद्देश्यका साथ स्थापित बौद्ध विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने नीति लिएको छ।
बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको प्राज्ञिक र अनुसन्धानमुलक गुणस्तरीय शिक्षा प्रदान गर्ने केन्द्र बनाउने मुख्य उद्देश्यका साथ अगाडि बढेको विश्वविद्यालयलाई विश्वव्यापी बनाउने प्रयत्नमा यस्ता कार्यले सहयोग पुर्याउने रजिष्टार तिलक आचार्यले बताए।
उनले थप अन्य विश्वविद्यालयहरूसँग पनि सम्बन्ध विस्तारका लागि प्रक्रिया चलिरहेको र निकट भविष्यमै काम हुने समेत बताए।
भारतस्थित जवाहरलाल नेहरु विश्वविद्यालय, कलकत्ता विश्वविद्यालय, नालन्दा विश्वविद्यालय, मुम्बई विश्वविद्यालय, बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयको बौद्ध अध्ययन केन्द्र, चिनस्थित हङकङ विश्वविद्यालय, अमेरिकाको युनिभर्सिटी अफ वेस्ट, युनिभर्सिटी अफ अरिजोना, क्यालिफोर्निया विश्वविद्यालयलगायत विश्वका विभिन्न १ सयभन्दा बढी विश्वविद्यालयसँग सम्बन्ध विस्तार गर्ने गरी कार्य भइरहेको उनले जानकारी दिए।
बौद्ध विश्वविद्यालयलाई समयानकुल विकसित गर्दै अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गर्दै बृहत् शैक्षिक परियोजना सञ्चालनका लागि आवश्यक संयन्त्रको विकास गर्ने गरी विश्वविद्यालय अगाडि बढिरहेको आचार्यले बताए।
लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयमा स्नातकदेखि विद्यावारिधीसम्मका शैक्षिक कार्यक्रम हुँदै आएको छ।
बुटवलमा मोफसलमै पहिलो पटक बुद्धिजम ट्राभल एण्ड टुरिजम (विविटिटिएम) विषयमा स्नातक तहमा अध्यापन हुँदै आएको छ।