राहदानी विभागको वेबसाइटमा बिहान ९ बजेदेखि कार्यालय खुल्ने सूचना अझै छ। राहदानीको काम लिएर तपाईं विभाग पुग्नुभयो भने १० बजेमात्र कार्यालयको गेट खुल्छ।
सेवाग्राहीलाई छिटो सेवा दिन सन् २०१५ देखि विभागले ९ बजेबाट नै सेवा सुरू गरेको थियो। दुई वर्ष ९ बजेदेखि सेवाग्राहीलाई छिटो सेवा दिएका विभागका कर्मचारी साउनयता अरूजस्तै १० बजे अफिस पुग्छन्।
कार्यालय एक घन्टा ढिलो खुल्दा सेवाग्राहीका काम स्वभाविक ढिलो हुन्छ। राहदानी बनाउनेको चाप दिनहुँ बढ्दै गइरहेको समयमा सरकारकै निर्देशनमा विभागले १० बजेदेखि सेवा थालेको हो।
९ बजेदेखि खुल्दै आएको विभाग नयाँ आर्थिक वर्षदेखि किन १० बजे खुल्न थाल्यो? भन्ने प्रश्नमा राहदानी विभागका महानिर्देशक रामकाजी खड्का दुई कारण दिए।
पहिलो, काम गरेका कर्मचारीले वर्ष दिनदेखि सेवा, सुविधा पाएनन्। दोस्रो, सरकारले नै १० बजेदेखि कार्यालय खोल्न भन्यो।
'बिहान साढे ८ बजेदेखि कर्मचारी काममा जुट्नुहुन्थ्यो' उनले सेतोपाटीसँग भने, ‘९ बजेसम्म सबै कर्मचारी हाजिर भइसकेर सेवा नै सुरू गरिसकिन्थ्यो।’
सेवामा जुटेका स्थायी कर्मचारीले भत्ता पाउँथे। तर विभागका करार र अस्थायी कर्मचारीलाई त्यो सुविधा थिएन।
‘बजेट हुँदाहुँदै पनि थप भत्ता दिन सकिएन। रोक्का भयो,’ महानिर्देशक खड्काले भने, ‘सरकारले नयाँ आर्थिक वर्षदेखि त नदिने भनेको हो। कर्मचारीले गएको वर्षको प्रोत्साहन भत्ता पनि पाएनन्।’
कर्मचारीले उधारोमा थप एक घन्टा काम गर्न नमानेकाले ९ बजे विभाग खुल्न छोडेको उनले बताए।
‘प्रोत्साहन भत्ता नआउने हो भने किन काम गर्ने? भन्नेखालका गुनासा आउन थाले,’ उनले भने, ‘एक वर्ष उधारोमा काम गरिसकेको थियौं।’
१० बजेदेखि सेवा सुरू भए पनि सेवाग्राहीको काम गर्न सकिएको दाबी उनले गरे।
‘त्यस्तो ठूलो असर त परेको छैन। कर्मचारी कटौती हुँदा समस्या झेल्नुपरेको छ,’ उनले भने, ‘करारका कर्मचारी कटौती गर्दा एउटा शाखा नै बन्द गर्नुपर्यो।’
कर्मचारीले प्रोत्साहन भत्ता नपाएर भन्दा पनि सरकारको नीति नै १० बजे कार्यालय खोल्ने भन्ने रहेकोले ९ बजे विभाग नखोलेको उनले बताए। 'कर्मचारीलाई भत्ता दिँदा बढीमा ३०/३५ लाख खर्च हुन्थ्यो,’ उनले भने।
राहदानी विभागले आफ्नै बजेटले उक्त रकम जुटाउने गरेको थियो। विभागमा ४९ जना दरबन्दी भए पनि त्यो संख्यामा कर्मचारी छैनन्। दिनमा करिब दुई हजार जनाले विभागबाट राहदानी बनाउँछन्।
‘अर्थ मन्त्रालयको स्वीकृतीमा मन्त्रिपरिषदबाट निर्णय गरेपछि भत्ता आउँथ्यो। तर सरकारले नै पैसा नदिने खालको नीति लिएपछि खासै पहल गरेनौं,’ उनले भने।
९ बजेदेखि खुल्ने राहदानी विभागसँगै रहेको कन्सुलर सेवा विभाग पनि साउनदेखि १० बजे खुल्न थालेको छ। सरकारले सेवाग्राहीलाई छिटो सरकारी सेवा दिन छिटो कार्यालय खुलाउने, बिहान ६ बजे नै कार्यालय खोल्ने खालका निर्णय गरे पनि दीर्घकालीन व्यवस्थापन र निर्णय कार्यान्वयन गर्न सकेको छैन।