दैलेखको नारायण नगरपालिका–१, नमूना बस्तीकी बालसरा वादीको परिवार तीन वर्षयता प्रत्येक बर्खाको समयमा घर छोड्दै आएको छ।
गएका दुई बर्खामा उनले आफन्त समेत गुमाइन्। बर्खामा हुने वर्षाका कारण घरको माथिबाट आएको पहिरोले दुई वर्षमा उनकै घरमा बसेका पालैपालो दुई जना आफन्तको मृत्यु भयो। घर पहिरोको जोखिममा परेपछि यस वर्ष भने उनको परिवार जिल्ला पशुसेवा कार्यालय दैलेखको प्राङ्गणको पालमुनि बसेका छन्।
वादी समुदायको बसोबास रहेको उक्त नमूना बस्तीमा यस वर्ष भदौको सुरूमा आएको पहिरोले दुइटा घर बस्न नमिल्ने भए। त्यही पहिरोका कारण वरिपरिका १२ घर जोखिममा परे। त्यसमध्ये बालसराको घर पनि परेको छ।
स्थानीय प्रशासनको अगुवाइमा ती परिवारलाई केही समयका लागि सुरक्षित स्थानमा सारियो। आफन्तकोमा बस्न मिल्ने परिवारले आफन्तकोमा बस्ने र नमिल्ने परिवार पशुसेवा कार्यालयको प्राङ्गणमा जान प्रशासनले आग्रह गरेपछि १० घरपरिवार आफन्तकोमा बसेका छन् भने बालसरा वादी र नारायण वादीको परिवार पशुसेवा कार्यालयको प्राङ्गणमा छन्।
२०६० सालमा स्वर्गीय पत्रकार डेकेन्द्र थापाको अगुवाइमा वादी समुदायका लागि बनाइएको उक्त नमूना बस्तीमा रहेका करिब ६५ घरमध्ये अधिकांश घर पहिरोको उच्च जोखिममा छन्। भिरलो जमीन र कच्चा माटोका कारण तीन वर्षयता प्रत्येक बर्खामा उनीहरूलाई पहिरोले झस्काइरहेको छ।
साँघुरो घरमा बल्लबल्ल अटाएका परिवार त्यहीमाथि जोखिममा परेका आफन्तको परिवारलाई समेत आश्रय दिनुपर्दा सुत्न समेत समस्या हुने गरेको पदम वादीले बताए।
‘माथिबाट माटो धसिएर करेसामा परेको छ, पानी बगेर भित्र खुट्टा टेक्न नमिल्ने भएको छ,’ उनले भने।
भविसरा वादी नजिकै आफ्नी छोरीको घरमा सहारा लिएर बसेकी छन् । भविसराको घरको मुनिबाट पहिरो गएर घरभित्र पसेमात्र पनि सबै भासिएला जस्तो देखिएको छ। वर्षौँदेखि पहिरोले त्रसित बन्दै आएकी भविसरा वादी यो वर्ष पनि उही दशा खेप्नुपर्दा दुखित छिन्।
‘बारम्बार हामीलाई बर्खाले दुःख दिरहन्छ, जस्तालाई उस्तै दु:ख, कमाइ नहुने हाम्रो घर पहिरोले लिइदिए काँ जाने होला,’ भविसराले दुखेसो पोखिन्।
सुरक्षित स्थानमा सार्न पहल भैरहेको छ : वडा अध्यक्ष
नारायण नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तिर्थनारायण श्रेष्ठले उक्त वादी समुदायलाई सुरक्षित स्थानमा सार्न पहल भैरहेको बताए। कानून अनुसार स्थानीय सरकारले अचानक केही गर्न नसक्ने भन्दै उनले प्रक्रिया पुर्याएर केही समयपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिने बताए।
‘त्यो बस्ती एकदमै जोखिममा छ, त्यहाँबाट उनीहरूलाई सार्नुको विकल्प छैन,’ वडा अध्यक्ष श्रेष्ठले भने, ‘कानून अनुसार काम गर्नुपर्ने भएकाले तत्काल लालपूर्जा लैजाउ भन्न नमिल्ने स्थिति हो, हामी यसका लागि अध्ययन गरिरहेका छौं।’
नगरपालिकाले उनीहरूलाई सुरक्षित स्थानमा सार्नका लागि ठाउँ खोजी गर्न समिति गठन गरेको उनले जानकारी दिए। नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा गठित समितिले उपयुक्त स्थान खोजी गर्ने र त्यसपछि नमूना बस्तीको वादी समुदायलाई लालपूर्जा दिएर बसाल्ने वडा अध्यक्ष श्रेष्ठले बताए ।