‘गोबर ग्यास प्लान्ट’बाट उत्पादन थालिएको ग्यास उद्घाटन गर्न प्रधानमन्त्री केपी ओली विराटनगर पुगेका छन्। विराटनगर महानगरपालिका १४ स्थित गौसेवा सदनबाट उत्पादन थालिएको गोबर ग्यास उद्घाटन गर्न ओलीका साथमा कानुन मन्त्री भानुभक्त ढकाल र ऊर्जा मन्त्री वर्षमान पुन पनि पुगेका छन्।
सो कार्यक्रमकै लागि मंगलबार बिहानै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित विराटनगर पुगेका थिए।
अघिल्लोपटक प्रधानमन्त्री हुँदा ओलीको महत्वकांक्षी योजनामध्ये ग्यास पाइप पनि थियो। उनले हरेक नेपालीका घरमा पाइपबाट ग्यास पुर्याउने सार्वजनिक रूपमा बताएका थिए।
उनको त्यो सपना यथार्थभन्दा टाढै छ। गोबर ग्यास प्लान्टबाट स्थानीय केही घरमा पाइपमार्फत् ग्यास वितरण गर्न सम्भव भएको छ। त्यसैको उद्घाटन गर्न प्रधानमन्त्रीसहित तीन मन्त्री विराटनगर पुगेका हुन्।
१४ नम्बर वडास्थित श्रीकृष्ण गौसेवा सदनमा पालिएका २ सय ५ वटा गाइको गोबरबाट बायो ग्याँस उत्पादन सुरू गरिएको हो। जडानमा संलग्न इन्जिनियरका अनुसार गौशाला वरिपरिका ३२ घरमा पाइपबाट ग्यास पुर्याइएको छ।
‘आज त्यही ग्यास उद्घाटन गर्न प्रधानमन्त्री आउनुभएको हो, गौशालामै कार्यक्रम आयोजना गरिएको छ,’ इन्जिनियर ज्ञानेन्द्र सिंहले सेतोपाटीसँग भने।
उनका अनुसार अहिले ३२ घरमा ग्यास बल्न थाले छ। ती घरमा जमिनमुनिबाट पाइप बिछ्याइएको छ। केही समयमै बढाएर ६४ घरमा पुर्याउने तयारी छ। जम्मा ८० घरमा ग्यास पुर्याउने लक्ष्य हो। यो प्लान्टले २ सय घनमिटर ग्यास उत्पादन क्षमता राख्छ।
विराटनगर महानगरपालिकाको १२ लाख, विश्व बैंक र नेपाल सरकारको १ करोड ११ लाख र गौ सेवा सदनको सहयोगमा ‘नमूना बायो ग्यास पाइपलाइन’ निर्माण गरिएिको इन्जिनियर सिंहले बताए।
गौशाला सदनले उत्पादित गोबरको सदुपयोग गर्न माग गर्दै २०७२ पुस ९ गते निवेदन दिएको थियो। खेर गइरहेको गोबरबाट ग्यास उत्पादन गर्दा वरिपरिका स्थानीयलाई राहत पुग्ने भन्दै गौसेवा सदनले जिल्ला विकास समिति (हाल समन्वय समिति)मा निवेदन दिएको थियो।
जिससको पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले २०७३ सालमा सम्भाव्यता अध्ययन गरेको थियो। २०७३ माघ २४ मा महानगरपालिकासँग ग्यास उत्पादनका लागि छलफल भयो र २०७४ असोज २१ मा घर–घरमा ग्यास वितरण गर्ने निर्णय भएको थियो।
जिविसकै पहलमा २०७५ असार २२ गते पाइपलाइन बिछ्याउन सम्झौता भइ काम अघि बढेको हो।
सिंहका अनुसार ग्यासको मूल्य एलपिजीभन्दा २० प्रतिशत सस्तो राखिएको छ। सिंहका अनुसार दैनिक २२ केजी गोबर आवश्यक पर्छ।
अहिले पर्याप्त मात्रामा गोबर उत्पादन भइरहेकोले ग्यास उत्पादनमा समस्या छैन।
इन्जिनियर सिंहका अनुसार नेपालमा पछिल्लो वर्ष ल्याइएको साधारण गोबर ग्यास प्रविधि हो यो। यसको क्षमता गोबरको परिमाण अनुसार निर्धारण हुन्छ, त्यसैअनुसार ग्यास उत्पादन घटी/बढी हुन्छ। गोबर संकलन न्यून हुनेबित्तिकै यो प्लान्टमा ग्यास उत्पादन घट्छ।
‘यस्तो प्रविधिबाट अन्यत्र पनि ग्यास उत्पादन गर्न सकिन्छ,’ सिंहले भने, ‘गोबर चाहीँ पर्याप्त चाहिन्छ।’
यो गौसेवा सदन २०४२ सालदेखि सञ्चालनमा आएको हो । गौशालाबाट उत्पादित गोबरलाई सदुपयोग गर्न ग्यास उत्पादन सुरू गरिएको र ग्यास उत्पादन गर्न गौशाला क्षेत्रमा २ सय घनमिटर प्लान्ट जडान गरिएको छ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार बायोग्यास पुरानै प्रविधि हो। गौसेवा सदनमा खेर गइरहेको गोबर संकलन गरेर वरिपरिका घरमा पाइपमार्फत् ग्यास पुर्याइएको हो।
‘पुरानो प्रविधि भए पनि पाइपबाट ग्यास पुर्याउन सकिन्छ भन्ने हामीले पुष्टि गरेका छौं,’ पराजुलीले भने।
उनका अनुसार अहिलेका लागि बायोग्यास सञ्चालनमा छ। नगरमा उत्पादित फोहोर कुहाएर ग्यास उत्पादन गर्ने योजना छ। तर, त्यसका लागि यसै प्रविधिमा जोड्न सकिन्छ/सकिँदैन टुंगो छैन।
‘सके यस्तै प्रविधिमा कनेक्सन गराएर ग्यास उत्पादन बढाउने, नसके छुट्टै प्रविधि भित्र्याएर ग्यास उत्पादन गर्ने महानगरपालिकाको योजना हो,’ पराजुलीले भने।
गोबर ग्यास उद्घाटन गरेर प्रधानमन्त्री ओलीले १ नम्बर प्रदेशका कार्यकर्ता भेट्ने कार्यक्रम छ। ओली मंगलबार इटहरी बस्ने र बुधबार झापा जाने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले बताए। प्रधानमन्त्री ओली बुधबार लखनपुरमा आयुर्वेद औषधालयको उद्घाटनपछि गौरादहमा कार्यकर्ता भेलामा पुग्नेछन्।