आर्थिक समस्याका कारण उपचार गर्न नसक्नेलाई अस्पतालबाटै निःशुल्क औषधि उपलब्ध गराईन्छ भन्ने थाहा नहुँदा सामाजिक सेवा ईकाईबाट लक्षित वर्गले लाभ पाउन सकेका छैनन्।
बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा रहेको सामाजिक सेवा ईकाईबाट अहिलेसम्म सात हजार सात सय ६२ जनाले सेवा लिएका छन् ।
सरकारले स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित हुन नपरोस् भनि लाभग्राही तोकेर ५० प्रतिशत छुटदेखि निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ। इकाईले पनि लक्षित समूहलाई सेवा दिँदै आएको दाबी गरेको छ ।
लुम्बिनी अञ्चल अस्पतालमा २०७२ चैत २८ गतेबाट इकाई संचालनमा आएको थियो। गत आर्थिक बर्षमा ४ हजार २ सय २८ जनाले सेवा लिएको ईकाईका प्रमुख दयासागर पन्थीले जानकारी दिए।
ईकाईका अनुसार १ हजार ६ सय ९ जना गरिब, २७ असाहय, एक सय २७ अपाङगता भएका व्यक्ति, २ हजार ३ सय ५२ जेष्ठ नागरिक, ३ जना लैगिंक हिंसामा परेका, ४९ हिंसामा परेका महिला, एक जना प्राकृतिक प्रकोपबाट प्रभावित, ४० कुपोषण भएका बालबालिका, २ जना दुर्घटनामा परेका असाहय, ४९ जना महिला स्वास्थ्य स्वयं सेविका, १८ पुर्पक्षका लागि प्रहरी हिरासतमा रहेका व्यक्तीले उपचार शुल्कमा छुट पाएका छन्।
आवश्यकता र अवस्था हेरी अस्पताल प्रसासनले उपचारमा छुट दिने गरेको उनले दावी गरे।
पूर्ण अपाङगता भएका, जेष्ठ नागरिक, हिंसामा परेका महिला, गरिबलाई निःशुल्क उपचार हुने गरेको अस्पतालले जनाएको छ।
यहाँबाट सुविधा लिन नेपाल सरकारले प्रदान गरेको परिचयपत्र र गरिब, असहायले स्थानीय तहको सिफारीससहित इकाईमा निवेदन दिनुपर्ने हुन्छ ।
लक्षित समूहमा परेर पनि कतिपय बिरामीले भने अस्पतालमा सेवा पाईन्छ भन्ने सूचना नपाउँदा सेवाबाट बञ्चित भएको गुनासो गरेका छन्।
अत्यन्त गरिब तथा विपन्न वर्गका विरामीलाई कतिपय चिकित्सकले समेत निःशुल्क सेवाका लागि सिफारिस गर्ने गरे पनि अस्पतालका अन्य कर्मचारीले भने त्यसतर्फ खासै ध्यान नदिएको उनीहरूको गुनासो छ ।
श्रीमानको उपचारको लागि अस्पताल आएकी मर्चवारीकी शोभावती यादव छोरी बुहारी सुत्केरी भएको बेला निःशुल्क उपचार र पैसा पाए पनि अरु बेला गरिबलाई निःशुल्क हुन्छ भन्ने थाहा नपाएको बताईन् ।
बिभिन्न जिल्लाबाट उपचार गर्न आउने बिरामीको साथमा आवश्यक कागजपत्र नहुँदासमेत लाभग्राहिको सूचिमा रहेर पनि सेवाबाट बञ्चित हुने गरेका छन्।
प्रदेश पाँचका १२ वटै जिल्लाबाट दैनिक करिब १ हजार बिरामी उपचारका लागि आउने अस्पतालमा सामाजिक सेवा ईकाईबाट दुई वर्षको अवधिमा जम्मा सात हजार बिरामीले सेवा उपयोग गरेका छन्।
२ सय ५० बेड रहेको यस अस्पतालमा वार्षिक ३ लाख भन्दा बढिले सेवा लिने गरेका छन्।
यो तथ्यांकले पनि अस्पतालबाट लक्षित वर्गले प्रयाप्त लाभ लिन नसकेको बुझ्न सकिन्छ ।
अस्पतालमा हाल ८० जना चिकित्सकसहित ५ सय ४ जना कर्मचारी कार्यरत छन्।