पोखरा १९ लामाचौरकी एक बालिकाको रहस्यमय मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको रहस्यमय ढंगबाट मृत्यु भएको हो। बिहिबारदेखि बेपत्ता भएकी केसीको शुक्रबार साँझ शव भेटिएको थियो। उनको शव लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनि झाँडीमा भेटिएको हो।
उनको शव भएको स्थानबाट करिब १ मिटर पर स्कर्ट र बेल्ट भेटिएको पुष्पाका काका ध्रुव केसीले बताए। शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पोष्टमार्टमबाट पुष्पाको टाउकोमा रगत जमेको, देब्रे छाती, फोक्सोमा चोट लागेको र देब्रे खुट्टाको कुर्कुचा भाँचिएको देखिएको छ।
पोष्टमार्टमको पूर्ण विवरण भने आइतबार मात्रै आउने अस्पतालले जनाएको छ। पहिलो चरणको पोष्टमार्टमको रिपोर्टबाट पुष्पाको मृत्यु चोटपटकबाट भएको देखिएको उनका एक आफन्तले बताए ।
उनले अर्को रिपोर्ट आएपछि अझ धेरै कुरा थाहा हुने बताए। उनले भने, ‘पुष्पाको शरीरमा बाहिरी चोटपटक नदेखिए पनि पोष्टमार्टमका क्रममा चोट देखिएको हो।’
कास्कीका प्रहरी प्रमुख ओम रानाले हत्या वा लडेर मृत्यु के भएको हो? यसै भन्न नसकिने बताए।
स्थानीयले बलात्कारपछि हत्या भएको बताए पनि पोष्टमार्टममा बलात्कार गरेको नदेखिएको अस्पतालको भनाइ छ। विन्ध्यवासिनी माविमा कक्षा ६ मा अध्ययनरत पुष्पा बिहिबार साढे ५ बजे विद्यालयको बसबाट घरभन्दा करिब २ सय मिटर तल तरकारी किन्न भन्दै झरेकी थिइन्।
साँझसम्म घरमा नआएपछि बिहिबार साँझबाटै परिवार र स्थानीयले उनको खोजी गरेका थिए। उनको झोला भने केही पर चौतारोमा भेटिएको थियो। पुष्पाका बुबा नृतेन्द्र केसी गण्डकी बोर्डिङ स्कुल लामाचौरमा सुरक्षागार्डको काम गर्दै आएका छन्।
उनी नेपाल प्रहरीका भूतपूर्व हवल्दार हुन्। विद्यालयले घटना दुःखद भएको भन्दै घटनाको सत्य, तथ्य यथाशीघ्र छानबिन गरी वास्तविकता पत्ता लगाउने माग गरेको छ।