यही भदौ १ गते रूपन्देही सैनामैना ४ मुर्गियाका ५० वर्षिय महाशर्मा गौतम घरको ढोकामा झुण्डिएको अवस्थामा फेला परे।
घाँटीमा डोरी लगाई झुण्डिएको अवस्थामा उनकै श्रीमतीले फेला पारेपछि तत्काल डोरी काटेर लुम्बिनी अञ्चल अस्पताल बुटवल ल्याईन्।
केही वर्षदेखि मानसिक रोग सम्बन्धी औषधि सेवन गर्दै आएका शर्माको अस्पताल ल्याए पनि एक घण्टापछि मृत्यु भयो ।
भदौ २ गते सिद्धार्थनगर नगरपालिका ४ गल्लामण्डीका ४३ वर्षिय पुण्य थारू निमको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परे ।
भदौ ३ गते तिलोत्तमा ३ ड्राईभरटोलमा घर निर्माणमा कार्यरत दाङ राप्ती ३ की २३ वर्षिय रामरथी थरूनीलाई उनकै श्रीमान महेन्द्र चौधरीले कोठाको बलोमा चुन्नीको पासो लगाई झुण्डिएको अवस्थामा फेला पारे ।
भदौ ४ गते बुटवल ८ का १९ वर्षिय विज्ञान जि.सी. घरको कोठा भित्र फलामको पाईपमा बेल्टको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परे।
४ गते नै देवदह ३ वसन्तपुरका १९ वर्षिय अर्जुन मुसहर घर नजिकैको कदमको रुखमा कपडाको पासो लगाई झुण्डिएको भेटिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो समय यस्तै आत्महत्याका घटना धेरै हुने गरेका छन्। प्रहरीका अनुसार हरेक वर्ष झुण्डिएर, विष सेवन गरेर तथा हाम फालेर आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ ।
रूपन्देहीमा आत्महत्या गर्ने बढ्दै गएका छन्। मानिस बढी महत्वाकांक्षी बन्दै जानु, मानसिक तनाव, बहुविवाह, आत्मग्लानी र गरिबी लगायतका कारण वर्षेनि आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको हो।
प्रहरीको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा रूपन्देहीमा ९ सयभन्दा बढीले आत्महत्याको बाटो रोजेका छन्। आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ को साउन मसान्तसम्म ९ सय २६ जनाले झुण्डिएर, विष सेवन गरेर, हातहतियार प्रयोग गरेर र हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
गत साउन महिनामा मात्रै १७ जनाले आत्महत्या गरेका छन्। गत आर्थिक वर्ष २०७४/२०७५ मा जिल्लामा २ सय २६ जनाले आत्महत्या गरेका थिए।
आर्थिक वर्ष २०७३/२०७४ मा १ सय ८१ जना, २०७२/२०७३ मा १ सय ६५ जना, आर्थिक वर्ष २०७१/०७२ मा १ सय ५६ जना र आर्थिक वर्ष २०७०/७१ मा १ सय ८० जनाले आत्महत्या गरेको प्रहरी तथ्यांकमा उल्लेख छ ।
आत्महत्या गर्नेमा २० वर्षदेखि ४५ वर्ष उमेर समूहका धेरै छन्। यीमध्ये अधिकांश झुण्डिएर र त्यसपछि धेरैले विष सेवन गरी आत्महत्या गर्ने गरेको प्रहरी तथ्यांकले देखाएको छ। यस्तै शरीरमा आगो लगाएर, हामफालेर, औजार प्रयोग गरेर पनि आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ ।
प्रहरी तथ्यांक हेर्दा प्रत्येक वर्ष आत्महत्या गर्नेहरुको संख्या बृद्धि भएको देखिन्छ। आत्महत्या गर्नेमा पुरूषको संख्या धेरै छ। २०७०/२०७१ देखि चालु आवको साउन मसान्तसम्म ४ सय ६१ जना पुरुष र ४ सय १५ जना महिलाले आत्महत्या गरेका छन् ।
यस्तै ११ जना १६ वर्ष मुनिका बालक र ३२ जना बालिका रहेका छन् । रुपन्देहीमा आत्महत्या गरेकामध्ये ६ जना भारतीय पुरुष र १ जना महिला छन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमोध ढुंगेलले बेरोजगारी, व्यवसायमा असफलता, घरझगडा, पारिवारिक विछोड तथा मानसिक समस्याका कारण पनि आत्महत्याका घटना बढ्दै गएको बताए ।
‘बढ्दै गएको शहरीकरणसँगै महत्वकांक्षा पनि थपिँदै जाने तर महत्वकांक्षा पुरा नहुने, व्यवसायमा असफता, श्रीमान/श्रीमती विचको झगडा लगायतका कारण पनि आत्महत्याका घटना बढेका छन्,’ उनले भने ।
यस्तै मानसिक तनाव, प्रेम सम्बन्ध, बहुविवाह, बढ्दो प्रविधिसँगै आएको विकृति, घरेलु हिंसा, आत्मग्लानी, गरिबीलगायत पनि आत्महत्याका लागि कारण बन्ने ढुंगेलले बताए।
वर्षेनी आत्महत्याका घटनाहरु बढ्दै गएपछि आत्महत्या बढ्नुका कारण र न्यूनीकरण बारे सुक्ष्म अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
‘जसरी आत्महत्या गर्नेहरुको संख्या बढिरहेको छ यसले समाज डरलाग्दो अवस्थामा जांदै छ भन्ने अवस्थाको चित्रण गरेको छ त्यसैले पनि बेरोजगार युवाहरुलाई रोजगार बनाउने, सचेतना बृद्धि गर्नुका साथै मनोवल बढ्ने खालका कार्यक्रममा जोड्न सके आत्महत्या न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने ।
आत्महत्या गर्नेहरु धेरै युवाअवस्थाका व्यक्तिहरु रहेकोले कारणको पहिचान गरी त्यसको निराकरण गर्नुपर्ने मनो चिकित्सकहरु बताउँछन्।
मनोचिकित्सक डा. संजिव शाह शरीरमा थकान, निराशा, अनावश्यक तनाव, पुराना कुराहरुप्रति वितृष्णा हुने जस्ता किसिमका लक्षण देखिए चिकित्सकहरुसँग परामर्श गर्नुपर्ने सुझाव दिन्छन् ।
‘पछिल्लो समय किशोर किशोरीले समेत आत्महत्या गर्न थालेका छन्, यसको कारण पहिचान गरी विद्यालय स्तरबाटै जिवनको महत्व बुझाउँदै सचेतना जगाउने र आत्मबल बढाउने खालका कार्यक्रम गर्न जरूरी छ,’ शाहले भने, ‘के कारणले मानिस आत्महत्या तर्फ उन्मुख हुने गरेका छन् ती कारणहरुको पहिचान गरी निराकरण गर्न जरूरी छ।’
विभिन्न प्रविधिको विकाससँगै मानिसहरु एक्लै बस्ने, अभिभावकहरुको व्यवस्तता, लागूपदार्थको सेवन, पढाईमा असफता, परिवारिक असहयोग, सामाजिक बहिस्करण जस्ता कारण पनि मानिसले आत्महत्या गर्ने पाईएकोले हरेक व्यक्तिसँग परिवार र समाजलाई जोड्नपर्ने उनको सुझाव छ ।