गौर नगरपालिका ४ टिकुलियाघाटस्थितमा लालबकैया नदीमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा परेर हराइरहेका ५ जनामध्ये २ जनाको शव फेला परेको छ। अझै तीन जना हराइरहेको प्रहरीले जनाएको छ।
२१ जना यात्रु भने परिवारको सम्पर्कमा आएको प्रहरीले जनाएको छ। डुंगामा सवार ५ जना हराइरहेको भन्दै खोजी गरिदिन भन्दै आफन्तहरू प्रहरी कार्यालयमा पुगेका छन्। प्रहरीले आइतबार बिहान नदीबाट २ जनाको शव निकालेको हो।
घाँस काटेर तथा खेतमा काम गरेर इसनाथ नगरपालिकाको बन्जाराहाबाट गौरतर्फ आउँदै गरेको डुंगा शनिबार साँझ पल्टिएको हो।
टिकुलिया घाटमा निर्माण भइरहेको पुलको पिलरमा डुंगा टोक्किएर पल्टिएको पौडिएर बाच्न सफल भएकाले बताएका छन्।
गौर नपा ४ टिकुलियाका स्थानीय जयप्रकाश साहले नदीको बीच भागमा डुंगा पल्टिएको जानकारी दिए। पल्टिएको डुंगा फेला परेको छ।
रौतहटका प्रहरी उपरीक्षक केदार ढकालले डुंगामा सवार १९ जना पौडिएर नदी बाहिर निस्किएको जानकारी दिएका छन्।
डुंगा दुर्घटनामा घाइते भएका अधिकांश यात्रुको गौर अस्पतालमा उपचार भइरहेको छ।
आइतबार बिहानैदेखि हराइरहेकाको खोजी गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको ढकालले जानकारी गराए।
राति अँध्यारो भएकाले उद्धार र खोजी कार्यको लागी केही असहजता भए पनि बेपत्ताको खोजीका लागी सवै किसिमको उपाय अपनाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिए।
उनका अनुसार बेपत्तामध्ये रौतहट गौर नगरपालिका-५, टिकुलियाकी ६५ वर्षीया शान्तिदेवी साह र इशनाथ नगरपालिका–३, औरैयाकी ३५ वर्षीया रुनादेवी पटेलको शव आइतबार बिहान भेटिएको हो। नेपालको सीमानादेखि करिब १० मिटर दक्षिण भारतको बेलवाघाटमा उनीहरूको शव फेला परेको हो।
यता, गृहमन्त्रालयले भने राहत तथा उद्दारमा कुनै कमी नराख्न मातहतका निकायलाई निर्देशन दिएको छ।