जनकपुरबाट काँकडभिट्टा जाँदै गरेको स्कोरपियो गाडी सोमबार बिहान झापाको झिलझिलेमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। त्यसमा सवार अन्य चार जना गम्भीर घाइते भएका छन्।
मे१च ४५३३ नम्बरको स्कोरपियो तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन। झापा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा गम्भीर अवस्थामा उपचार गराइरहेकामध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ।
प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दुधे-झिलझिले सडक खण्डमा बिहान साढे तीन बजे स्कोरपियो दुर्घटनामा परेको हो।
आफू सवार स्कोरपियोको तीन वटा टायर एकै पटक पड्किएर दुर्घटना भएको घाइतेको भनाइ उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा काँकडभिट्टाका राजु बस्नेत, मेचीनगर १० बस्ने ज्ञानबहादुर बुढाथोकी, कमल गाउँपालिका ५ का गोपी गजुरेल र काँकडभिट्टाका गोपाल पौडेल घाइते भएका छन्। उनीहरू सबैको बिएण्सी अस्पतालमा उपचार भईरहेको छ।