निर्मलाका निम्ति न्याय अभियान अन्तर्गत सोमबार साँझ माइतीघर मण्डलामा लाइभ कार्टुन र पेन्टिङ प्रदर्शनी भएको छ।
नेपालका चर्चित काटुर्निस्ट र चित्रकार अविन श्रेष्ठ, अस्मिना रञ्जित, एरिना ताम्राकार, केशवराज खनाल, प्रमिला वज्राचार्य, योगेश खपाङ्गी, रवि मिश्र, राजेश केसी, रविन सायमी, विधाता केसी, संगी श्रेष्ठ, सुनिता राना, सरिता डंगोल र सम्झना राजभण्डारीलगायत शिल्पी समूह कार्यक्रम उपस्थित थिए।
कलाकारले साँझ ५ बजेदेखि लाइभ कार्टुन र पेन्टिङ बनाए भने साँझ ६ बजेदेखि चित्र प्रदर्शनी र मैनबत्ती प्रज्वलन गरेका थिए। नागरिक अभियन्ताहरुले सबैलाई अभियानमा साथ दिन मैनबत्ती र छाता लिएर आउन सामाजिक सञ्जालमा आव्हान गरेका छन्।
‘निर्मलाका निम्ति न्याय’ #JusticeForNirmala #RageAgainstRape अभियानमा सहयोग पुर्याउनका लागि स्वतस्फुर्त रुपमा यो कार्यक्रम आयोजना गरिएको हो।
यसअघि गत शनिबार पनि माइतीघर मण्डलामा #JusticeForNirmala #RageAgainstRape अभियानमा जनताको भेला भन्दै स्वतस्फुर्त रुपमा मौन विरोध प्रदर्शन गरिएको थियो । कार्यक्रममा शिल्पी समूहले सडक नाटक पनि प्रदर्शन गरेको थियो।