कर्णाली प्रदेशमा अब मदिरा सेवन गर्न चाहने मानिसले दुई पुस्ते विवरण उल्लेख गर्नुपर्ने व्यवस्था गरिने भएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार अब मदिरा विक्री गर्ने पसलहरूले मदिरा सेवनका लागि आउने मानिसको बुवाको नाम, सेवनकर्ताको नाम र उमेर टिपेर मात्र दिनुपर्ने व्यवस्था गर्न लागिएको छ।
मदिरा सेवन गर्ने व्यक्तिहरूले पनि शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने भएकाले यस्तो व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ।
घरेलु हिंसा, बलात्कारलगायतका घटना अधिकांश मदिरा सेवन गर्नेहरूबाट नै हुने भएकाले मदिरालाई नियन्त्रणको प्रयासस्वरूप यस्तो व्यवस्था गर्न लागिएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताए।
‘घरेलु हिंसादेखि अन्य अपराधमा अहिले मदिराको नाम धेरैजसो जोडिन्छ,’ मन्त्री भण्डारीले भने, ‘मदिरा सेवनका कारण हुने घटनाहरूलाई न्यूनिकरण गर्न हामीले मदिरा सेवन गर्नेको बुवाको नाम, सेवनकर्ताको नाम, उमेरसहित पूरा विवरण लिएर मात्रै मदिरा विक्री गर्ने प्रावधान बनाउने तयारी गरेको छौं ।’
मदिराबाहेक अरु लागुऔषधको सेवन तथा कारोबार नियन्त्रणका लागि भने कानून निर्माणसहित सरकार लागिपर्ने उनले बताए।
मन्त्रालय कागजरहित बन्ने
अबको केही दिनभित्रै कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई पेपरलेस (कागजरहित) बनाइने भएको छ ।
प्रविधिमैत्री प्रदेशको परिकल्पना गरे अनुसार त्यसलाई साकार पार्न अब कर्णालीका हरेक मन्त्रालय, सरकारी कार्यालयहरूलाई डिजिटलाइज्ड गर्ने बताउँदै कानून मन्त्री भण्डारीले यसको सुरूवाती चरणमा मन्त्रालयलाई कागजरहित बनाउन थालिएको बताए।
कर्णालीको विकासका लागि हरेक क्षेत्र प्रविधिसँग जोडेर लैजाने सरकारको योजना रहेको उनले जानकारी दिए।
मन्त्री भण्डारीले अब छिट्टै प्रदेश प्रहरी गठन गर्ने पनि बताएका छन्।
प्रदेश सरकारले कर्णाली प्रदेश प्रहरीको संरचनाको बारेमा दुई विकल्प लिइ अघि बढेको बताउँदै उनले पहिलो आफैंले नयाँ संरचना गठन गर्ने वा संघीय सरकारले नै प्रहरीलाई प्रदेशमा हस्तान्तरण गर्नुपर्ने बताए।
उनका अनुसार प्रदेश आफैंले संरचना बनाएमा केही सशस्त्रबाट, केही जनपदबाट, केही नयाँ युवाहरू मिलाएर प्रदेश प्रहरी गठन गरिने छ ।