पोखरा १९ लामाचौरकी एक बालिकाको मृत्युको रहस्य अझै खुल्न सकेको छैन। पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको बिहीबार रहस्यमय मृत्यु भएको थियो।
बिहीबार साझँदेखि बेपत्ता केसीको शव लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनी झाँडीमा भेटिएको थियो।
कास्की प्रहरीले घटनाको छानविनका लागि २५ भन्दा बढीलाई सोधपुछ गरेको छ। कास्कीका प्रहरी प्रवक्ता रविन्द्र गुरूङले १२ जनालाई लिखित र १३ जनासँग मौखिक सोधपुछ गरेको बताए। घटनाका सम्बन्धमा अनुसन्धान र थपलाई अनुसन्धानका घेरामा ल्याएर छानविन भइरहेको उनको भनाई थियो ।
पुष्पाको शव भएको स्थानबाट करिब १ मिटर पर स्कर्ट र बेल्ट भेटिएकाले बलात्कार प्रयासपछि हत्या गरेको हुनसक्ने पुष्पाका काका ध्रुर्व केसीले बताए ।
शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको पोष्टमार्टबाट पुष्पाको टाउकोमा रगत जमेको, देब्रे छाति, फोक्सोमा चोट लागेको र देब्रे खुट्टाको कुर्कुचा भाँचिएको देखिएको थियो।
पोष्टमार्टको पूर्ण विवरण सोमबार आएको थियो भने अझै थप अनुसन्धानका लागि काठमाडौं पठाएको प्रहरीले जानकारी दिएको छ।
पोष्टमार्टको रिपोर्टबाट पुष्पाको मृत्यु चोटपटकबाट भएको देखिएको प्रहरीको भनाई थियो।
पुष्पाको शरीरमा बाहिरी चोट पटक नदेखिए पनि पोष्टमार्टमका क्रममा शरीर भित्र चोट देखिएको थियो। पोष्टमार्टममा बलात्कार गरेको नदेखिएको अस्पतालको भनाई छ।
विन्ध्यवासिनी मावि कक्षा ६ मा अध्ययनरत पुष्पा बिहीबार साँढे ५ बजे विद्यालयबाट फर्किएपछि घरभन्दा करिब २ सय मिटर तल तरकारी किन्न भन्दै झरेकी थिइन्।
साझँसम्म घर नआएपछि बिहीबार साँझबाटै परिवार र स्थानीयले उनको खोजी गरेका थिए। उनको झोला भने केही पर चौतारोमा भएटिएको थियो।
पुष्पाका बुबा नृतेन्द्र केसी गण्डकी बोर्डिङ स्कुल लामाचौर सुरक्षागार्डको काम गर्दै आएका छन्। उनी नेपाल प्रहरीका पूर्वहवल्दारसमेत हुन्।
विद्यालयले घटना दुःखद भएको भन्दै घटनाको सत्य, तथ्य यथाशिघ्र छानबिन गरी वास्तविकता पत्ता लगाउन माग गरेको छ।
परिवारले पुष्पाको शव बुझेका छैनन्। उनीहरुले पुष्पाको मृत्युबारे निष्पक्ष छानबिन नभएसम्म शव नबुझेने बताउँदै आएका छन्। उनको शव पोष्टमार्ट पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ।
स्थानीयले पुष्पा मृत्युको निष्पक्ष छानबिन गर्दै सोमबार जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका छन् भने मंगलबार विभिन्न विद्यालयका विद्यार्थीले घटनाको छानविन गर्न माग गर्दै विरोध र्याली प्रर्दशन गरेका छन्।