आफ्नै विद्यालयको छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा बुटवलको एक निजी स्कुलका प्रिन्सिपल पक्राउ परेका छन्।
बुटवल वडा नं. ११ नहरपुरस्थित ज्ञानपुञ्ज सेकेण्डरी ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल तोयाराम पौडेललाई प्रहरीले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो।
प्रिन्सिपल पौडेलले कक्षा १० मा पढ्ने एक छात्रामाथि यौन दुव्र्यवहार गरेको अभिभावकले आरोप लगाएका छन्। एसईई परिक्षाको तयारीको लागि स्कुलकै छात्राबासमा बसेर अध्ययन गर्दै आएकी निज छात्रालाई जिस्काउने, शरीरका संवेदनशील अंगहरु छुने, कोठामा एक्लै बोलाउनेजस्ता अभद्र व्यवहार गरेको अभिभावकको आरोप छ ।
छात्राले प्रिन्सिपल पौडेलले आफूमाथि गरेको कृयाकलाप अभिभावकसामू बताएपछि बुधबार अभिभावक तथा स्थानीयले विद्यालयमा नाराबाजीसमेत गरेका थिए।
बिहानैदेखि स्थानीय र अभिभावकले नाराबाजी गर्दै प्रदर्शन गरेपछि प्रहरीले प्रिन्सिपल पौडेललाई नियन्त्रणमा लिएको हो।
अभिभावक तथा स्थानीयको प्रदर्शनपछि बुधबार विद्यालयमा पठनपाठन हुन नसकेपछि बन्द गरिएको छ। एक हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने विद्यालयमा अभिभावक तथा स्थानीयको प्रदर्शनपछि विद्यार्थीहरु घर फर्किएका हुन् ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले आरोपित पौडेललाई पक्राउ गरिएको र घटनाको अनुसन्धान गरी दोषि देखिए कारबाही गरिने बताए ।
‘म अहिले भिआईपीको स्वागत कार्यक्रममा लुम्बिनीमा छु, आरोपित प्रिन्सिपललाई नियन्त्रणमा लिईएको छ अनुसन्धान गरी दोषि पाईए कारवाही गरिने छ,’ उनले सेतोपाटीसँग भने।