सुर्खेतको पश्चिममा पर्ने पञ्चपुरी नगरपालिकाका एक कर्मचारीले सरकारी मोटरसाईकललाई चाउमिन बेच्ने काममा प्रयोग गरेको पाइएको छ।
नगरपालिकाले खरिद गरेको मोटरसाईकल नगरपालिकामा खानेपानी सहायक प्राविधिकका रूपमा कार्यरत कर्मचारी यामराज जोशीले चाउमिन लोड गरेको अवस्थामा शुक्रबार वीरेन्द्रनगरमा फेला परेको हो।
जनताको कामकाजमा छरितो होस भनेर नगरपालिकाले जोशीलाई चलाउन दिएको भे १ ब १२२५ नम्बरको सरकारी नम्बर प्लेटसहितको मोटरसाईकलमा खाजा पसलहरुमा पुर्याउने चाउमिन लोड गरिएको अवस्थामा फेला परेको हो ।
जनताको काम छिटो छरितो होस भन्ने उद्देश्यले कार्यालयले जोशीलाई मोटरसाईकल दिएको भए पनि उनले वीरेन्द्रनगरमा चाउमिन बेच्न प्रयोग गर्दै आएको पाइएको छ।
यसका साथै उक्त मोटरसाईकल गाउँमा घाँस बोक्न, चाउमिन बोक्न तथा नयाँलाई सिकाउन प्रयोग हुँदै आएको र सरकारी कामकाजमा प्रयोग नभएको स्थानीयले बताएका छन् ।
उक्त मोटरसाईकल पञ्चपुरी नगरपालिकाले २ महिना अघिमात्र खरिद् गरेको थियो ।
सरकारी मोटरसाईकलको निजी काममा प्रयोग भएको पाइएपछि पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाले ती कर्मचारीलाई कारबाही गरिने बताए। मोटरसाईकल दुरूपयोग गर्ने प्राविधिक कर्मचारी जोशीलाई तत्काल स्पष्टीकरणसहित कारबाहीको प्रक्रिया अगाडि बढाइने उनले बताए। ‘राज्यको सम्पत्ति दुरुपयोग गर्ने अधिकार कसैलाई पनि छैन,’ मेयर थापाले सेतोपाटीसँग भने, ‘मोटरसाईकल तत्काल कार्यालयमा ल्याउन निर्देशन दिएको छु, कारबाहीको लागि प्रक्रिया अगि बढाउँछौँ।’