पूर्वी नाका काँकडभिट्टाबाट भारतीय रुपैयाँसहित एक व्यक्ति सोमबार बिहान पक्राउ परेका छन्। प्रहरीका अनुसार ललितपुरका ३२ वर्षीय रबिन्द्र बज्राचार्यको साथबाट १२ लाख ८० हजार भारतीय नोट बरामद भएको हो।
सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती सुरक्षा झापा ८ नम्बर गुल्म काँकडभिट्टा र भन्सार टोलीले चेक पोइन्टको संयुक्त टोलीले उक्त नोट बरामद गरेको प्रहरीले जनाएको छ। भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा नोटसहित बज्राचार्य प्रहरी नियन्त्रणमा परेका हुन्।
‘हामीलाई शङ्का लाग्यो, चेकजाँच गर्दा उहाँको साथबाट भारतीय ५०, १०० र २०० का नोट बरामद भयो,’ गुल्मका डिएसपी राजेश घिमिरेले भने।
बरामद गरिएको नोट भन्सारसँगको सहकार्यमा राजश्व अनुसन्धान विभाग काठमाडौं आवश्यक कारबाहीका लागि पठाइने तयारी भएको उनले बताएका छन्। प्रहरीले बज्राचार्यमाथि अनुसन्धान सुरू गरे पनि उनी को हुन् भन्ने बारेमा केही खुलाएको छैन।
सामानयतया एक व्यक्तिले २५ हजारसम्म भारतीय रुपैयाँ साथमा राख्न पाउँछन्। बज्राचार्यबाट अस्वाभाविक रकम फेला परेकाले बरामद गरी अनुसन्धान थालिएकाे मेची भन्सार कार्यालयका प्रमुख भीम अधिकारीले बताए।