काठमाडौं सम्पदा
पृथ्वीनारायण शाहले मल्ल राजालाई हराएर काठमाडौं जितेपछि हनुमानढोकाको ‘आगम छेँ’ बन्द भयो।
यो मल्ल राजाहरूको गोप्य मन्दिर थियो। तान्त्रिक विद्या जानेका मल्ल वंशका उत्तराधिकारी मात्र यहाँ छिर्न पाउँथे। पृथ्वीनारायण र त्यसपछिका शाहवंशीय राजाहरूले यो नियम तोडेनन्।
कान्तिपुर विजयपछि पृथ्वीनारायण मसानचोकछेउ बसे। पछि नौतले दरबार बनाएर सरे। कुमारी रथ यात्रा लगायत मल्लकालीन सँस्कृतिलाई पनि निरन्तरता दिए।
शाह राजाहरूले २४० वर्षसम्म पाइला नटेकेको आगम छेँ २०७२ को भुइँचालोमा जिर्ण भयो। पुरातत्व विभागले जिर्णोद्धार जिम्मा जापानलाई दियो। स्थानीय यसैको विरोधमा छन्।
स्थानीय सहभागितामै मन्दिर जिर्णोद्धार गरिनुपर्छ भन्ने उनीहरूको माग छ। मल्लकालीन गोप्य मन्दिरभित्र विदेशी प्राविधिक छिराउन खोजेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने मन्दिरको बाहिरी भाग मात्र जापानी टोलीबाट जिर्णोद्धार गराउन लागेको बताए।
आगम छेँ जिर्णोद्धारका सम्बन्धमा मंगलबार संरक्षण अभियन्ताहरूसँग छलफल गर्दै महानिर्देशक दाहालले भने, ‘मल्लकालीन गोप्य मन्दिरको साँस्कृतिक विशेषता हामीले बुझेका छौं। त्यही भएर भित्री भाग निर्माण गर्न लागेका होइनौं। जापानी प्राविधिकहरूले बाहिरी भाग मात्र मर्मत गर्नेछन्। प्राविधिक सहयोग आएको त्यसैका लागि हो।’
उनका अनुसार आगम छेँको बाहिरी भाग करिब ३० सेन्टिमिटर ढल्किएको छ। जापानको टोकियो नेसनल रिसर्च इन्स्टिच्युटको अनुसन्धानले उक्त निष्कर्ष निकालेको हो। अनुसन्धान क्रममा पनि उनीहरुलाई भित्र छिर्न नदिएको दाहालले बताए।
'यसलाई सोझ्याउन ‘ज्याकब’ उपकरण प्रयोग गर्नुपर्छ। यसले मन्दिरलाई आवश्यकताअनुसार उचालेर सोझो पार्छ,’ उनले भने, ‘बलियो पनि बनाउँछ।’
हनुमानढोकाको आगम छेँ र शिव मन्दिर जिर्णोद्धार निम्ति जापानबाट २० करोड अनुदान आएको हो। मन्दिर निर्माण नगरे अनुदान फिर्ता जान्छ।
सम्पदा संरक्षण अभियन्ताहरूले जापानी अनुदान फिर्ता गरेर स्वदेशी विधिबाटै जिर्णोद्धार गर्न दबाब दिएका छन्।
‘गोप्य मन्दिर यसरी खोलेर मर्मत गर्न मिल्दैन। के राष्ट्र विदेशी अनुदानविना चल्न सक्दैन र?’ तलेजुका मुख्य पूजारी उद्धवमान कर्माचार्यले भने, ‘जिर्णोद्धार क्रममा हाम्रा अमूल्य सम्पदा हरायो वा बिग्रियो भने त्यसको जिम्मेवार को हुन्छ?’
जापानबाट आएको अनुदान अन्य ठाउँको मर्मतसम्भारमा प्रयोग गर्न अभियन्ताहरूले सुझाएका छन्। विगतमा हनुमानढोका दरबार जिर्णोद्धार जिम्मा विभिन्न देशलाई दिएर गल्ती भएको उनीहरूले बताए।
‘हामी आफ्नो सम्पदा आफैं बनाउन सक्छौ। आफ्नो मौलिकतामा पनि विश्वास गर्न पर्यो,’ कर्माचार्यले भने।
आगम छेँ जिर्णोद्धारअघि क्षमापूजा गर्नुपर्ने उनले बताए। पुरातत्वले जथाभाबी काम नथालोस् भन्ने उनको आग्रह छ।
यहाँ तान्त्रिक दिक्षा पाएका व्यक्तिबाहेक अरू जान नहुने मान्यता छ। मन्दिरमा गोप्य तरिकाले पूजा गरिने आगम देवता स्थापना गरिएका छन्। आफ्नो वंशबाहेक अरू छिर्न नहुने कडा नियम हुन्छ।
सम्पदाविद् सुदर्शन तिवारीका अनुसार नेवार समुदायमा प्रत्यक वंशको आफ्नै आगम घर हुन्छ। त्यहाँ कुल देवता राखिन्छ। हनुमानढोकाको यो आगम छेँमा मल्ल राजाहरूको कुलदेवता छ। यो सम्भवतः काठमाडौंकै पुरानो आगम छेँ भएको तिवारी बताउँछन्।
‘राजा प्रताप मल्लले यो आगम छेँ निर्माण गरेका हुन्। उनी तान्त्रिक राजा थिए। तान्त्रिक पूजामार्फत् राजशक्ति स्थापना गर्न चाहन्थे,’ तिवारीले भने, ‘प्रताप मल्लपछि उनको पछिल्लो पुस्तासम्म यहाँ पूजा जारी रह्यो। शाहवंश सुरु भएपछि बन्द भयो।’
तिवारीका अनुसार चन्द्रशमशेर राणाको पालामा यसलाई युरोपेली शैलीमा पुनर्निर्माण गरिएको थियो।
हनुमानढोकाको प्रवेशद्धारबाटै देखिने आगम छेँमा दुईवटा निर्माण शैली प्रस्टै छुट्टिन्छ। मुनिका दुईतल्ला ‘निओ क्लासिकल’ शैलीमा बनेका छन्। माथिल्लो तल्लाको आगम छेँ भने मल्लकालीन नै छ।
त्यति बेला पनि बाहिरी भाग मात्र जिर्णोद्धार गरिएको थियो। गोप्य पूजाघरभित्र कोही छिरेनन्।
संरक्षक तेजरत्न ताम्राकारले ३६ वर्ष हनुमानढोका क्षेत्रमा बिताए। उनले आफ्नो कार्यकालमा कुनै पनि बाहिरी व्यक्ति आगम छेँ प्रवेश गरेको देखेनन्।
मल्लकालको यति महत्वपूर्ण गोप्य मन्दिर पुरातत्वले विदेशीलाई बनाउन दिन लागेकोमा उनले आपत्ति जनाए।
‘मल्लराजाबाहेक अरू नेपाली प्रवेशै नगरेको मन्दिरलाई जथाभाबी गर्न खोजिँदै छ,’ ताम्राकारले भने, ‘विदेशीलाई हाम्रो सम्पदाको मूल्य–मान्यता केही पनि थाहा छैन। नेपालीको सम्पदा नेपालीले नै बनाउनुपर्छ।’
सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले पनि बाहिरी सहयोगमा सम्पदा निर्माण गर्दा मौलिक अस्तित्वमा आँच आउन सक्ने बताएका छन्।
‘मित्रराष्ट्रप्रति कुनै पूर्वाग्रह छैन। शिक्षा, स्वास्थ्यलगायत विविध क्षेत्रमा विदेशी अनुदान प्रयोग गरे हुन्छ। सम्पदाको मामिलामा प्रयोग नगरियोस्,’ उनले भने, ‘विगतमा पनि विदेशीले गरेको सम्पदा निर्माण खासै चित्तबुझ्दो छैन। हामी प्राविधिक वा अन्य कुनै पनि रूपमा सहयोग चाहन्नौं।’
पुरातत्वका महानिर्देशक दाहालले स्थानीयको मागअनुसार नै जिर्णोद्धार गर्ने बचन दिएका छन्।
स्थानीय सहभागितामा परम्परागत शैली प्रयोग गरेर बनाउने हो भने विभाग तयार रहेको उनले बताए। ‘जापानी अनुदान नलिने हो भने पनि केही छैन, हामी फिर्ता गर्न तयार छौं,’ उनले भने।
उनले काठमाडौं महानगरपालिका र हनुमानढोका दरबार संग्रहालय विकास समितिको आर्थिक लगानीमै आगम छेँ जिर्णोद्धार गर्ने बताए।