आठलेन रिङरोड बनाउन १२ सय रूख काटिए। विरोध भयो। सरकारले एउटाको बदला २५ वटा रोप्ने बाचा गर्यो।
रिङरोडको कलंकी–कोटेश्वर लगभग पूरा भइसक्यो। दस किलोमिटर खण्डमा अब चाहेर पनि रोप्न सकिन्न। वारि–पारि ठाउँ छैन। बीचमा सिमेन्टको ‘स्ल्याब’ ओछ्याएर बिरुवा रोप्ने ठाउँ राखिएन।
काठमाडौंका अधिकांश सडकको यही हाल छ।
सडक फराक पार्दा नै हरियाली हिस्सा छाडिनुपर्थ्यो। गाडीलाई ठाउँ दिन मान्छे हिँड्ने बाटोधरि खाइदिए। रूखबिरुवा कसरी सम्झून्?
काठमाडौं र ललितपुर महानगर भने यही साँघुरो फुटपाथमा रूखबिरुवा रोप्ने अभियानमा लागेका छन्।
यी महानगरले गत वातावरण दिवसबाट वृक्षरोपण अभियान सुरु गरेका हुन्। वडा कार्यालयहरू परिचालन गरेर वृक्षरोपणलाई तीव्रता दिइएको छ।
काठमाडौं महानगरमा तीन महिनायता करिब ६ हजार बिरुवा रोपिएका छन्। ललितपुरले कुपन्डोलदेखि पुल्चोकसम्म साढे पाँच सय बिरुवा रोपेको जनाएको छ। जावलाखेल र धापाखेल क्षेत्रमा पनि रोपिँदैछ।
‘हामीले जेठदेखि हरियाली अभियान चलाएका छौं,’ काठमाडौं महानगर, वातावरण व्यवस्थापन प्रमुख हरिबहादुर कुँवरले भने, ‘रोपिएका बिरुवा कसरी जोगाउन सकिन्छ भन्नेमा जोड दिइरहेका छौं।’
महानगरको वृक्षरोपण योजना झट्ट सुन्दा जति आकर्षक लाग्छ, कार्यान्वयन उति अव्यवहारिक।
एकचोटि वृक्षरोपण योजनाको कार्यान्वयन शैली हेरौं।
नक्सालमा प्रहरी प्रधान कार्यालय ठ्याक्कै अगाडि एउटा बैंकको प्रायोजनमा वृक्षरोपण गरिएको छ। फुटपाथका स्ल्याब उखेलेर गोलाकार तारेजाली लगाइएको छ। प्रत्येक २०–२५ मिटर अन्तरालमा यसैगरी बिरुवा रोपिएका छन्।
गाडीबाट देख्नुभयो भने सुन्दर लाग्नेछ। महानगरले हरियाली बनाएछ भनेर तारिफ पनि गर्नुहोला। यही ठाउँ पैदल हिँड्नस् त।
यसै त साँघुरो फुटपाथ! त्यसमा लगभग आधा हिस्सा ढाकेर रोपेका बिरुवा।
हाम्रा फुटपाथ सामान्यतया एकदेखि डेढ मिटरका छन्। दुई जना मुश्किलले हिँड्न पुग्ने। यही बाटोको बीचमा तारेजाली लगाएर बिरुवा रोपियो भने पैदलयात्रु कहाँ हिँड्ने?
कुपन्डोलबाट पुल्चोक र सानेपाको सडक किनारमा गरिएको वृक्षरोपण यही तालको छ।
काठमाडौंका सडक त्यसै पनि पैदलयात्रुलाई सजिलो छैन। अधिकांश ठाउँमा फुटपाथ भत्किएका छन्। छेउछाउका घरले मिचेका छन्। सडकले खाइदिएको छ। पसलको अतिक्रमणमा परेको छ। रहेसहेको कसर पूरा गर्दैछ, महानगर। जो साँघुरो फुटपाथमा ठूला बिरुवा रोपेर हिँड्नै नमिल्ने बनाउँदैछ।
वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ यसका भुक्तमान हुन्।
उनी हरेक बिहान घरअगाडिको सानेपा चोकमा हिँड्न निस्कन्छन्। वनस्पति अध्ययन र स्याहारमै जीवन बिताएका श्रेष्ठलाई फुटपाथमा रोपिएका वनस्पति नै झिँझो लाग्छ। बिरुवा छल्दै घरि सडक र घरि फुटपाथमा हिँड्नुपर्ने उनी बताउँछन्।
‘सडक हरियाली बनाउने महानगरको योजना सही हो, कार्यान्वयन भने सही ढंगमा भइरहेको छैन,’ उनले भने।
उनका अनुसार सडक किनार रूखबिरुवा रोप्ने तरिका तीनवटा हुन्छन्।
पहिलो, प्रशस्त खाली ठाउँ भए फुटपाथसमेत छुट्टयाएर ठूल्ठूला रूख रोप्न सकिन्छ। जस्तो, दरबारमार्गमा फुटपाथ फराकिलो छ। रूखले हिँड्नेलाई असुविधा छैन। बरु मनोरम अनुभूति गराउँछ। गर्मीमा छहारी दिन्छ। यस्तो ठाउँलाई फुटपाथसहितको ‘ग्रिनबेल्ट’ बनाउन सकिन्छ।
दोस्रो, गाडीको दुईतर्फी लेनबीच स–साना बुट्याउन रोपेर हरियो पार्न मिल्छ। यसले आउनेजाने गाडीको बाटो छुट्टिन्छ। सडक सुन्दर देखिन्छ। लेन विभाजनले दुर्घटना जोखिम कम हुन्छ। जस्तो, नयाँबानेश्वर–माइतीघर सडक। यस्तोमा चार–पाँच फिट अग्लो हुने बिरुवासमेत रोप्न सकिन्छ।
तेस्रोमा पर्छ यस्तो ठाउँ, जहाँ सडकछेउ फराकिलो फुटपाथ छैन। साँघुरो ठाउँमा मान्छेका गोडा र बिरुवाको जराबीच घम्साघम्सी किन?
यस्तोमा सिधै बिरुवा रोप्न नहुने वनस्पतिविद् श्रेष्ठ बताउँछन्। पछिल्लो समयका अधिकांश वृक्षरोपण यस्तै छन्। यहाँ हरियालीका नाममा फुटपाथ खुम्च्याएर मान्छे हिँड्ने बाटो सम्झौता गरिएको उनको भनाइ छ।
त्यसो भए साँघुरो फुटपाथमा कसरी बिरुवा रोप्ने?
‘सकेसम्म रोप्दै नरोप्ने। फुटपाथ भनेको हिँड्ने बाटो हो। न पसल थाप्ने, न गाडी चलाउने, न त बिरुवा रोप्ने,’ श्रेष्ठले भने, ‘रोप्नै परे जमिनमा सिधै रोप्ने होइन। स–साना गमलामा बिरुवा रोपेर सजाउने।’
‘पाँच–छ मिटर फराकिला फुटपाथमा मध्यम आकारका रूख रोपे हुन्छ। हाम्रोजस्तो एक जना हिँड्न नमिल्ने ठाउँमा यस्तो अभ्यासै गलत हो,’ उनले भने।
महानगरले लगाएका बिरुवा फुटपाथलाई मेल पनि नखाने उनी बताउँछन्।
महानगरले २१ जातका बिरुवा रोपेको छ। यसमा कल्की, असारे फूल, धूपी, समी, कपुर लगायत छन्। यी सबै ठूलो हुने प्रजाति हुन्।
‘दरबारमार्गजस्तो फराकिलो फुटपाथमा यस्ता बिरुवा रोपे हुन्छ। सानेपा, टंगाल वा कुपन्डोलजस्ता साँघुरो फुटपाथमा भने न सडकलाई शोभा दिन्छ, न पैदलयात्रुलाई,’ श्रेष्ठले भने।
यसनिम्ति गमलामै रोप्न मिल्ने मौसमी र लामो समय बाँच्ने साना फूल उपयुक्त हुने उनले सुझाए।
साँघुरो फुटपाथमा हिँड्ने बाटोधरि मासेर वृक्षरोपण कसरी भयो?
महानगरको वातावरण व्यवस्थापन प्रमुख कुँवर विभिन्न संघ–संस्थाको सहकार्यमा वृक्षरोपण गरिएको बताउँछन्।
खासगरी बैंक तथा वित्तीय संस्था, व्यापारिक कम्पनी, अस्पताल तथा शिक्षण संस्थाहरू यसमा संलग्न छन्। तिनले महानगरसँग सहकार्य गरी आफूलाई पायक ठाउँमा वृक्षरोपण गर्छन्।
‘जनसहभागितामूलक काम गर्न सकियो भने दीगो हुन्छ भनेर सबैलाई आह्वान गरेका छौं,’ उनले भने, ‘हाम्रो अभियानअन्तर्गत यी संघ–संस्थाले रूखबिरुवा रोप्छन्।’
यी संस्थाको मूख्य उद्देश्य सहर हरियाली बनाउनु होइन। व्यापारिक प्रचार गर्नु हो। तारेजालीमा प्रायोजक भनी संस्थाको नाम लेखिएको त्यही भएर हो।
विज्ञापन उद्देश्यले गरिएको वृक्षरोपण सडक सुहाउँदो होइन, बजार सुहाउँदो हुन्छ। जुन ठाउँमा धेरैको आँखा पर्छ, त्यही ठाउँमा गरिन्छ। यसले पनि साँघुरो फुटपाथ प्रायोजित रूखबिरुवाको मिचाइमा परेका छन्।
यसमा महानगरको ध्यान नपुगेको कुँवरले स्वीकार गरे।
विगतका वर्ष पनि रूखबिरुवा नरोपिएका होइनन्। यो वर्ष भने अभियानै चलाइएको हो। अभियान चलाउँदा कुन ठाउँ कस्ता बिरुवा रोप्ने भनी ध्यान दिए दीगो हुने वनस्पतिविद् श्रेष्ठको भनाइ छ।
सार्क सम्मेलन बेला यसरी नै सडकछेउ लगाइएका अधिकांश बिरुवा उखेलेर फालिएको उनले उदाहरण दिए। कतिपय बिरुवा स्याहार नपाएर यसै मरेका थिए।
सडक किनार रोपिने रूखबिरुवाले प्रदूषण कम गर्छ। हावाको धूलोधुवाँ सोस्छ। हामीले सास फेर्ने हावा स्वच्छ राख्छ। त्यही भएर सडकछेउ रूख रोप्ने चलन पुरानै हो। विकसित देशहरूमा अपरिहार्य मानिन्छ। भारतकै नयाँदिल्ली आफूलाई हरित सहर बनाउँदैछ। नेपालमा चन्द्रशमशेर राणा बेलायत भ्रमणबाट फर्किंदा बिरुवा ल्याएर टुँडिखेलको दुवैपट्टि रोपेको भनाइ छ।
काठमाडौं र ललितपुर महानगरको हरियाली योजना सकारात्मक भए पनि कार्यान्वयन गलत र अव्यवहारिक छ। गमलामा सानो बिरुवा रोप्नुपर्ने ठाउँमा हलक्क बढ्ने ठूला रूख लगाउँदा स्याहार नपाएर यसै मासिन्छन्। यो आर्थिक नोक्सानी मात्र हो। फुटपाथै मिचेर बिरुवा रोप्दा पैदलयात्रुलाई सकस हुनु आफ्नो ठाउँमा छँदैछ।
कुँवर भने सबैतिर यस्तो गल्ती नभएको दाबी गर्छन्। ‘कहीँ–कहीँ भएको हुनसक्छ,’ उनले भने।
हरियाली योजना दीगो र टिकाउ बनाउने हो भने बुटवल उपमहानगरबाट सिक्न सकिन्छ। त्यहाँ सडक हरियालीको जिम्मा छेउछाउका घरलाई दिइएको छ। फूलमा पानी हाल्ने र स्याहार्ने काम स्थानीय उपभोक्ता समितिकै हो।
काठमाडौं र ललितपुर महानगरले वडा कार्यालय परिचालन गरेको छ, तर बिरुवा बाँड्न मात्र। वडा कार्यालयलाई आ–आफ्नो क्षेत्रमा हरित योजना लागू गर्ने कार्यक्रमै जिम्मा दिए राम्रो हुने श्रेष्ठ सुझाउँछन्।
‘वडाले आफ्नो क्षेत्रमा कहाँ खाली जग्गा छ, कुन ठाउँको फुटपाथ फराकिलो छ, पहिचान गरी उपयुक्त ठाउँमा उपयुक्त किसिमले वृक्षरोपण गर्नेछन्। स्याहार गर्ने जिम्मा पनि उसैको हुनेछ,’ उनले भने।
व्यापारिक कम्पनीलाई सहभागी गराउँदा काम त सजिलो होला, तर लाभ उसैलाई मात्र हो।