बलात्कार मुद्दामा खेलाँची- भाग २
त्यो घटना हुँदा उनी नौ कक्षाको जाँच दिँदै थिइन्।
त्यसपछि पढाइ छुट्यो, गाउँ पनि छुट्यो।
लगभग छ महिना भयो, दिया (नाम परिवर्तन) गाउँ फर्केकी छैनन्। आमाबा उतै छन्। उनी यहाँ काठमाडौंमा दिदीसँग बस्छिन्।
दियाको घर दोलखा हो। उमेर १६ वर्ष। उनकी विवाहित दिदी ज्यालादारी काम गर्छिन्। आफ्नो परिवारसँगै बहिनीको जिम्मेवारी थपिएको छ। दसैंमा बहिनीलाई लिएर घर जानुपर्ला भन्ने सोचेकी छन्।
मनमा पीर छ। भन्छिन्, 'बाआमाले इज्जत गयो भन्ठान्छन्। गाउँलेले कुरा काट्छन्। बहिनीलाई शिर उठाएर हिँड्न गाह्रो छ।'
'इजेत त उसको जानुपर्ने हैन र, जसले यो कुकर्म गर्यो?' उनले प्रश्न गरिन्, 'मेरी बहिनी किन घर जान नपाउने? उसले किन यस्तरी लुकेर बस्नुपर्ने?'
छ महिनादेखि यस्ता प्रश्न थुप्रै छन् उनको मनमा।
घटना गत फागुन ३ गतेको हो।
झमक्कै साँझ परेको थियो। दिया गोठबाट घर फर्किँदै थिइन्। इराज गिरीले पछाडिबाट मुख थुने। नजिकैको खाली घरमा लगे। जबर्जस्ती गरे। मुख खोले मार्ने धम्की दिए।
उनी डरले चुप्प लागिन्। महिनावारी रोकिएपछि भने अतासिन थालिन्। घरमा कसैलाई भन्न सकिनन्। पन्ध्र दिनपछि इराजलाई नै गएर सुनाइन्।
इराजले 'काठमाडौंमा जचाउन जाऊँ' भने। दिया तयार भइन्।
खुर्कोटबाट भारतीय नम्बर प्लेटको गाडी चढेर उनीहरु काँकडभिट्टा गए। काँकडभिट्टा पुगेपछि दिया तर्सिइन्। मनमा शंका जन्म्यो।
'हामी कहाँ जाने?' उनले सोधिन्।
'काठमाडौँमा उपचार हुन्न, भारतमा गरेर फर्कौंला,' इराजले जवाफ दिए।
दियाको चित्त बुझेन।
'मलाई भारत लगेर बेच्ने पो हो कि भन्ने शंका लाग्यो,' उनले प्रहरी र अदालतलाई बयान दिएकी छन्, 'म सीमामा सोधपुछ गर्ने प्रहरीकहाँ गएँ। सबै कुरा बताइदिएँ।'
प्रहरीले दियाको परिवार बोलायो। उनकी ठूली दिदी र अर्का दाजु लिन पुगे।
काँकडभिट्टा प्रहरीले महिला र पुरूष प्रहरी साथ लगाएर दोलखा पठायो। बाटोमा ती दुई प्रहरीको व्यवहारले दिदी छक्क परिन्।
गाडीमा इराज र दियालाई सँगै राखिएको थियो। प्रहरीहरु अगाडि सिटमा थिए। इराजले दियातिर फर्केर केही भने। दिदीले हप्काइन्। प्रहरी भने 'दुलाहा-दुलहीलाई छाड्दिनुस् दिदी' भन्दै हाँसे। केटीकै दोष पनि देखाए।
'मलाई साह्रै नराम्रो लाग्यो। प्रहरीले त्यस्तो बोल्न मिल्छ?' दिदीले भनिन्।
बहिनी छुटाएर ल्याएदेखि अदालतमा बकपत्र गराउँदासम्म हरेक चरणमा प्रत्यक्षदर्शी उनलाई प्रहरीको अरु व्यवहार पनि चित्त बुझेको छैन।
'काँकडभिट्टामा एक जना प्रहरी हाकिमले मात्र इराजलाई गाली गर्नुभो। श्रीमती, छोराछोरी भएको मान्छे यस्तो गरेर हिँड्ने? यो नानीलाई कहाँ बेच्न लाग्या थिइस् भन्दै हप्काउनुभो,' उनले भनिन्, 'दोलखा आएपछि त प्रहरीको रवैयै बेग्लै। मेरै बहिनीको दोष देखाए। इराजसँग जिस्केर कुरा गर्थे।'
दियाको बयान लिएका महिला प्रहरीले समेत सबैका अगाडि भनिछन्, 'यही केटीले केटा फसाएकी हो।'
प्रहरीको यस्तो व्यवहारले गाउँमा बस्न नसकेर दियालाई लिएर काठमाडौं आएको उनी बताउँछिन्।
'केटा पक्षकाहरू एकमत थिए। बलिया पनि। उनीहरू मेरै बहिनीलाई दोष दिन्थे। उसलाई त्यहाँ राखे जे पनि हुन सक्थ्यो,' उनले भनिन्, 'मलाई त अहिले पनि बाआमालाई केही गर्दिन्छन् कि भन्ने डर लाग्छ।'
यो घटनामा सरकारी वकिलले इराजविरूद्ध दुईवटा मुद्दामा सजाय माग गरेका थिए।
पहिलो, बलात्कार। यसमा पीडितको उमेर १६ देखि २० वर्ष छ भने ५ देखि ८ वर्ष कैद हुने कानुनी व्यवस्था छ। दिया भर्खर १६ लागेकी थिइन्।
दोस्रो, दियालाई शोषण गर्ने उद्देश्यले ओसारपसार गरिएकाले थप २ वर्ष।
सरकारी वकिलको मुद्दामा पनि कैफियत देखिन्छ। सीमाबाट उद्धार गरिएका पीडितले जाहेरी दिँदा पनि मानव बेचबिखन मुद्दा लाग्छ। यसमा २० वर्ष सजाय हुन्छ। दियाको मुद्दामा भने बेचबिखनको सट्टा शोषण गर्न लगेको भन्दै जम्मा २ वर्ष सजाय माग गरिएको छ।
सुनुवाइ क्रममा इराजले आफूहरुको प्रेम सम्बन्ध रहेको र दियाकै योजनामा भारत जान लागेको बयान दिए।
जिल्ला अदालतका न्यायाधीश कमलराज विष्टले यही बयान सकारे। यसै आधारमा वैशाख २७ गते इराजलाई धरौटीमा छाड्ने आदेश गरे।
अदालतको यो आदेश पनि त्रुटिपूर्ण देखिन्छ। दुई वर्षसम्म जेल सजाय हुने मुद्दामा मात्र अभियुक्तलाई तारेखमा राख्न मिल्ने कानुनी व्यवस्था छ।
बलात्कार र मानव बेचबिखन तथा ओसारपसार दुवै गम्भीर प्रकृतिका मुद्दा मानिन्छन्। यी दुईमध्ये एउटा मात्र अभियोग लागेका अभियुक्तलाई पनि थुनामै राखेर सुनुवाइ गर्नुपर्छ। यसलाई जिल्ला अदालतले बेवास्ता गरेको थियो।
आदेश आएको दिन गाउँमा भव्य भोज भएछ। थुनाबाट छुटेका इराजलाई गाउँलेले सिन्दुरेजात्रा गरी घर भित्र्याएछन्। खसी काटिएछ। यता दिया भने गाउँमा पाइला टेक्न सकेकी थिइनन्। अझै छैनन्।
मैले जिल्ला अदालतको फैसलालगत्तै दियालाई भेटेकी थिएँ। दिदीको डेरामा। कुराकानीभरी शिर उठाएर हेरिनन्। एकोहोरो भुइँ कोतरिरहिन्। उनका दाजुले नै घटना बेलीबिस्तार लगाए। भने, 'गाउँमा अिबरजात्रा छ, यहाँ हामी भने आफ्नै घर जान सकेका छैनौं।'
त्यसको तीन महिनापछि गत मंगलबार उनको दाजुको फोन आयो। खुसी हुँदै भने, 'इराजलाई थुनामुक्त गर्ने जिल्ला अदालतको आदेश उच्च अदालत पाटनले उल्टाइदियो। थुनेरै मुद्दा सुनुवाइ गर्नू भन्यो।'
भोलिपल्ट म फेरि दियालाई भेट्न गएँ। दिदीको उही डेरामा।
उनी निहुरिएर रोटी बेलिरहेकी थिइन्। यसपालि शिर उठाएर मतिर हेरिन्। मुस्कुराइन्।
'उच्च अदालतको आदेशपछि गल्ती गर्ने एकदिन जेल जान्छ भन्ने विश्वास जागेको छ,' दियाकी दिदीले भनिन्।
मुद्दा अझै टुंगिएको छैन। जिल्ला अदालतमा फेरि बहस सुरु हुनेछ। फैसलासम्म इराज थुनामा रहनेछन्।
यसबीच दियाले गाउँ फर्कन पाए उनको छाती हलुको हुने थियो। छ महिनादेखि निस्सासिएकी छन् उनी।
उनको आवाज गाउँमै कतै छुटेको छ।