पूर्वयुवराज्ञी हिमानी शाहद्वारा सञ्चालित हिमानी ट्रष्टले गोरखा क्षेत्र नम्बर २ स्थित पालुङटार नगरपालिका ठाँटीपोखरीमा विद्यालय भवन निर्माण गरिदिएको छ।
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई निर्वाचित क्षेत्रमा हिमानी ट्रष्टले बनाएको विद्यालय भवन बिहीबार उद्घाटन गरिएको छ। श्री भवानी उच्च माध्यमिक विद्यालयको नवनिर्मित दुई तले भवन उद्घाटन गर्न ट्रष्टकी अध्यक्ष पूर्वयुवराज्ञी हिमानीलगायत पूर्वराजपरिवारका सदस्य पुगेका थिए। पूर्वरानी कोमल राज्यलक्ष्मी शाहले रिबन काटेर भवन उद्घाटन गरिन्।
हिमानी र कोमल स्थलमार्गबाट कार्यक्रमस्थल पुगेका थिए। पारस फिस्टेल एयरको हेलिकप्टरमार्फत पालुङटार पुगे। उनको साथमा बहिनी प्रेरणा र दिलाशा पनि थिए। उनीहरू बिहान ८ बजे पालुङटार पुगेका थिए। कोमल र हिमानी पुगेपछि भवन उद्घाटनस्थल गएका थिए।
जोडो सु बुद्धिष्ट अर्गनाइजेसन जापानको आर्थिक, जापान राजदूतावासको सहयोगमा ट्रष्टले भवन बनाएको थियो। चार करोड ९५ लाख रुपैयाँ लागतमा ट्रष्टले भवन बनाएको हो। २०७३ मंसिर १९ गते भवन शिलान्यास गरिएको थियो। आठ कोठे यो भवनलाई ट्रष्टले नमूना विद्यालय भवन बताएको छ।
भूकम्प प्रतिरोधी उक्त भवन उद्घाटन ११ बजे सुरू भयो। एक घन्टामा सकियो।
भाषणभुषण भएन। कार्यक्रममा नेपालका लागि जापानी राजदूत पनि थिए। विद्यालयका प्रधानाध्यापक ओजराज गिरीले स्वागत मन्तव्य गरेका थिए। कोमल, पारस, हिमानी कोही बोलेनन्।
पारस र हिमानी सँगसँगै सार्वजनिक कार्यक्रम तथा सामाजिक कार्यमा देखिएको यो पहिलोपटक हो। परिवारसँग टाढै रहेका शाह पछिल्लो समय हिमानीसँग देखिँदैनथे।
गणतन्त्र स्थापना भएको केही समयपछि पारस थाइल्यान्ड गए। उतै लामो समय बसे। हिमानी ट्रष्ट स्थापना गरेर सामाजिक कार्यमा सक्रिय छिन्। पारस नेपाल फर्के पनि अहिले परिवारसँग बसेका छैनन्।
उद्घाटनपछि पूर्व राजपरिवारका सदस्यले भवन निरीक्षण गरे। निरीक्षणमा पारस हिमानीलाई हेर्दै हाँसे, हिमानी पनि मुस्कुराइन्।
२०७२ साल वैशाखको महाभूकम्पले विद्यालय भवन भत्केको थियो। टहरामा पढाइ भइरहेको सो विद्यालय भवन बनाउन ट्रष्टले अग्रसरता देखाएको थियो। ‘भूकम्पप्रतिरोधी र आधुनिक सुविधासम्पन्न यो नमूना विद्यालय भवन हो,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष विवश चिन्तनले भने, ‘सोचेको भन्दा निकै छिटो भवन निर्माण सकियो।’ हिमानी भवन शिलान्यासपछि एकपटक निरीक्षणमा पुगेकी थिइन्।
भवानी उच्च मावि गोरखा जिल्लाकै सबैभन्दा बढी विद्यार्थी भएको स्कुल हो। यहाँ एक हजार बढी विद्यार्थी अध्ययन गर्छन्। प्लस टुमा शिक्षा, मानविकी र व्यवस्थापन संकाय पढाइ हुन्छ।