यही भदौ २९ गते जुम्लामा हुने भनिएको लगानी सम्मेलन स्थगित भएको छ। प्राविधिक कारणसँगै भदौ २९ गते नै काठमाडौंमा अर्थसम्बन्धी राष्ट्रिय सम्मेलन हुन लागेकाले लगानी सम्मेलन स्थगन गरिएको आयोजक चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले बताइन्।
स्थानीय तहका तर्फबाट नेपालमै पहिलोपटक चन्दननाथ नगरपालिकाले जुम्लामा लगानी प्रवद्र्धन सम्मेलनको आयोजना गर्ने तयारी गरेको थियो। अर्थसम्बन्धी राष्ट्रिय सम्मेलनका कारण ठूला लगानीकर्ताहरु जुम्ला आउने सम्भावना कम देखिएकाले बिहिबार बसेको नगर कार्यपालिकाको बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको मेयर सेजुवालले बताइन्।
‘उद्घाटनका लागि त राष्ट्रिय सम्मेलनका आयोजकले पनि विकल्प खोजिक्नुभएको थियो, अर्थमन्त्री यहाँ आउने भएपछि उहाँहरुले प्रधानमन्त्रीबाट उद्घाटन गराउने व्यवस्था गर्नुभएछ,’ मेयर सेजुवालले भनिन्, ‘तै पनि लगानीकर्ताहरू, ठूला उद्योगीहरु आउने सम्भावना कमै देखेपछि स्थगन गर्ने वैठकबाट निर्णय गरेका हौँ।’
लगानी प्रवद्र्धन सम्मेलन कहिले गर्ने भन्नेबारे मिति तय नभएको उनले जानकारी दिइन् । ‘यो सम्मेलन कहिले गर्नेभन्नेबारे मिति तय भएको छैन, अहिले स्थगन गर्ने मात्र निर्णय भएको हो,’सेजुवालले भनिन्, ‘यो सम्मेलनका लागि उपयुक्त समय भएकाले तय गरिएको थियो, तर धेरै तयारी गरिसकेको अवस्थामा प्राविधिक कारणले स्थगत गर्नुपर्ने भयो ।’
लगानी प्रवर्धन सम्मेलन हुनेमा भने विश्वस्त रहन मेयर सेजुवालले आग्रह गरेकि छिन् । ‘म निर्वाचित् भएदेखिको लगानी प्रवद्र्धन सम्मेलन गर्ने सपना हो,’ उनले भनिन्, ‘जुम्ली नागरिकको सम्बन्ध सुधारदेखि कर्णालीमा ठूलो खालको लगानी भित्र्याउन, युवाहरुलाई स्वरोजगार बनाउन सम्मेलनले टेवा पुर्याउने भएकाले लक्ष्य भने यथावत छ।’