नयाँ मुलुकी संहिता लागू भएदेखि हालसम्म जिल्ला अदालत सुर्खेतममा सम्बन्ध विच्छेदका लागि ३० मुद्दा दर्ता भएका छन्। मुलुकी संहिता लागू भएको २२ दिनमा (२१ गतेसम्म) जिल्ला अदालत सुर्खेतमा आएका ३० मुद्दामध्ये पुरुषहरुले पनि सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् ।
अदालतका श्रेस्तेदार वीरेन्द्रबहादुर मल्लका अनुसार भदौ १ गतेयता १४ जना पुरुषले श्रीमतीविरुद्ध सम्बन्ध विच्छेदका लागि मुद्दा हालेका छन् भने १६ महिलाले श्रीमानविरुद्ध अदालतमा मुद्दा दर्ता गराएका छन्। ‘पहिले पुरुषहरूले कहिलेकाँही मात्रै अदालतमा सम्वन्ध विच्छेद गरिपाउँ भनेर अदालतमा मुद्दा हाल्न आउने गरेका थिए,’ विगतलाई स्मरण गर्दै जिल्ला अदालतका श्रेस्तेदार विरेन्द्रबहादुर मल्लले भने, ‘तर यी एक्काईस दिनमा पुरुषहरुले पनि मुद्दा दायर गरेका छन् ।’
नयाँ मुलुकी संहिता लागू भएदेखि पुरुषहरुले सम्वन्ध विच्छेदका लागि मुद्दा दिन थालेको उनले बताए । उनका अनुसार पुरुषहरुले आफ्ना श्रीमति सम्पत्ति हिनामिना गरेको, आफू खुशी हिँडने गरेको, सम्पर्कमा नआएको जस्ता कारण देखाउँदै मुद्दा दर्ता गराउन थालेका छन् ।
नयाँ कानूनले पुरुषहरुलाई सम्वन्धविच्छेद गर्न सहज बनाएको श्रेस्तेदार मल्लले बताए । महिलाले भने पुरानै हिसाबमा मुद्दा दर्ता गराइरहेको उनको भनाई छ। ‘महिलाले श्रीमानले खान लाउन नदिएको, घरेलु हिंसाजस्ता दाबी सहित मुद्धा दर्ता गराएका छन्,’ उनले भने, ‘उनीहरुको मुद्दाको पनि प्रक्रिया सुरु भइसकेको छ ।’
मुद्दाको प्रकृति हेदौ वैदेशिक रोजगारी नै सम्बन्ध विच्छेदको ठूलो कारक रहेको मल्लले बताए। ‘अहिले अदालतमा आएका मुद्दाको प्रकृति हेर्दा वैदेशिक रोजगार नै प्रमुख कारकको रुपमा देखिन आएको छ,’ उनले भने, ‘दोस्रो कारकको रुपमा लागूऔषध, मदिरा र शंका उपशंका नै सम्वन्ध विच्छेदको कारकका रुपमा मैँले देखेको छु ।’
जिल्ला अदालत सुर्खेतमा भदौ एक गतेदेखि २१ गतेसम्म जम्मा ६६ ओटा मुद्दा दर्ता भएका छन् । ती मध्ये ३० ओटा सम्बन्ध विच्छेदका, २५ ओटा फौजदारी अभियोग र ११ अन्य मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।