शनिबार बेगनास तालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको आइतबार बिहानदेखि खोजी तिब्र पारिएको छ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले बिहानैदेखि खोजी गरेका छन्। खोजीका लागि शसस्त्र प्रहरीको कुरिनटारको गोताखोर टोली पनि खोजीका लागि आएको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिए।
पोखरा ३१ बेगनास गाउँ जान १० जना सवाररत डुंगा बेगनास तालको लिब्दी टुडँमा पल्टिदाँ २ महिलाको मृत्यु भएको थियो। ६ जना वेपत्ता भएका छन्।
प्रहरीका अनुसार नवलपरासीका ५ वर्षिय प्राचीन पौडेल, ६ वर्षिय शंकर खनाल, ८ वर्षिय शिव खनाल, ३२ वर्षिय रवि खनाल, १७ वर्षिय मनिषा बजगाईँ र ४ वर्षिय रन्जित गैह्रे तालमा वेपत्ता छन्।
रवि खनाल नेपाली सेनाका प्यूठ हुन्। खनाल नेपाली सेनाको अमलेखगन्जस्थित जंगलवारफेयर स्कुलमा कार्यरत थिए।
दुर्घटनामा परी पोखरा महानगरपालिका २८ कि ५१ वर्षिया कृष्णकुमारी कडेँल (बजगाई) र तनहुँ भीमादकी ४० वर्षिय जमुना कडेँल (गैह्रे) को मृत्यु भएको थियो।
तालबाट २८ वर्षिय सपना खनाल र निशा पौडेलको उद्दार भएको थियो। अर्को डुंगामा एक्लै गएका कमल कँडेल तालमा डुंगा पल्टिएको देखेपछि बेहोस भएका थिए। उनी पनि तालमा खसेपछि उद्धार टोलीले उद्दार गरेको थियो।
शनिबार दिउँसो बेगनास डुंगाघाटबाट आफ्ना बालबच्चासहित १० जनाको परिवार एउटै डुंगा लिएर बेगनासतालको सिरानतर्फ गएका थिए।
तीन महिना पहिले मात्रै बनाएको डुंगाबाट पानी चुहिएर डुंगा डुबेको सपना खनालले बताइन्। तालमा डुंगा डुबेपछि लगत्तै स्थानीयबासीले ५ जनाको उद्दार गरेका थिए।