पाटन संग्रहालयबाहिर अग्लो कुर्सीमा थचक्क बसेर मरिना पेरिक सुस्तरी हात चलाउँदै थिइन्।
उनको एउटा हातमा ब्रस थियो। अर्कोमा छिसछिस पानी छर्ने सानो प्लास्टिक भाँडो।
शल्यचिकित्सकले बिरामीको घाउमा ब्लेड चलाएझैं उनी संग्रहालयको भित्तामा कुँदिएका धातुका मूर्तिमाथि ब्रस गर्दै थिइन्। बीच–बीचमा छिसछिस पानी छर्थिन्।
मरिनासहित अष्ट्रियाबाट आएका १३ जना विद्यार्थी भुइँचालोमा चर्किएका ढुंगाका मूर्ति, धातुका गजुर र कलात्मक ढोकालाई पुनर्जीवन दिने अभियानमा लागेका छन्।
मन्दिरै मन्दिरको पाटन। मन्दिरमा ढुंगा, धातु र काठका कलाकृति। यस्ता काम गर्ने कालिगढ पाटनका गल्ली–गल्लीमा भेटिन्छन्। यिनको परिष्करण जिम्मा भने अष्ट्रियाबाट आएका यी विद्यार्थीलाई छ।
राजधानी भियनाको ‘युनिभर्सिटी अफ अप्लाइड आर्टस्’ मा ‘कन्जर्भेसन अफ आर्टस’ पढ्दै गरेका १३ जना विद्यार्थी तीन सातादेखि पाटन दरबार क्षेत्रमा खटिएका हुन्।
काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभिपिटी) ले पाटन क्षेत्रका कलाकृति संरक्षण गर्न सन् २०१० बाट अष्ट्रियासँग सहकार्य सुरु गरेको थियो। यस क्रममा विभिन्न समय प्राविधिकहरू आउने गरेका थिए। उनीहरूलाई यहाँका मठ–मन्दिर घुमाउने चाँजो केभिपिटीले नै मिलाउँदै आएको छ।
पुरानो संरचना मर्मतसम्भार गर्न प्राविधिक विज्ञ चाहिने भएकाले अष्ट्रियाको सहयोग लिएको केभिपिटीका रोहित रञ्जितकार बताउँछन्।
‘नेपालमा कालिगढ नभएका होइनन्। यहाँका काष्ठकला, मूर्ति सबै नेपाली कालिगढले नै बनाएका हुन्। हामीले मन्दिर पुनर्निर्माण पनि नेपालीबाटै गराएका छौं,’ उनले भने, ‘नेपालमा सम्पदा बनाउने कालिगढ छन्, तर त्यसलाई संरक्षण गर्ने प्राविधिक विज्ञता हामीसँग छैन।’
२०७२ को भुइँचालोपछि मरिना नेपाल आएको छैठौंपटक हो।
उनी पाटन दरबार क्षेत्रका मन्दिरमा धातुका कलाकृति टल्काउने काम गर्दैछिन्। यसपालि पाटन दरबारको प्रवेशद्वार टल्काउने जिम्मा उनको भागमा परेको छ।
मरिनाका अनुसार मूर्ति प्रायः तामाले बनेका छन्। त्यसमाथि पातलो तहको सुनको लेप लगाइएको छ। यसले मन्दिर सुनौलो देखिन्छ। भित्रको तामा खिइनबाट पनि जोगिन्छ।
सुरु–सुरुमा नेपाल आउँदा यहाँ झिर्रर आगो बालेर सुनलेपन गरेको देख्दा उनलाई अनौठो लाग्थ्यो। युरोपेली देशहरूमा यस्तो गर्न वर्जित छ। यसले स्वास्थ्यलाई असर पार्ने उनी बताउँछिन्।
उनका अनुसार भुइँचालोले यहाँका धातुमा खासै क्षति भएको छैन। धुलोधुवाँको बाक्लो तह भने जमेको छ।
हामीले मन्दिरका यी धातुकला कसरी सफा गरियो भनेर जान्न चाह्यौं।
उनले विस्तार लाइन्, ‘सुरुमा थरीथरीका ब्रसले ‘ड्राइ क्लिन’ गर्यौं। पानी र ‘टेन्जाइड’ हालेर सफा गर्यौं। त्यसपछि शल्यक्रिया गर्न डाक्टरले प्रयोग गर्ने छुराजस्तो ‘स्काल्पेल’ ले त्यहाँ जमेको बाक्लो तह हटायौं।’
यसरी खुर्किंदा र सफा गर्दा पनि धूलोधुवाँको पत्र हटेन भने ‘साइट्रिक’ एसिड प्रयोग गरिन्छ। हामीले घरमा प्रयोग गर्ने कागतीको रसमा पनि साइट्रिक एसिड पाइन्छ। पानीमा पाँच प्रतिशत साइट्रिक हालेर सफा गर्दा धातुमा हानी कम हुन्छ। धेरै प्रयोग गर्दा टलक्क टल्किए पनि कालान्तरमा धातु चाँडै मक्किन्छ, खिइन्छ।
यी प्राविधिकहरू साइट्रिक एसिडले मात्र सफा गर्दैनन्। ‘एसिडको असर हटाउन हामी त्यसमाथि फेरि ब्रस र पानीले सफा गर्छौं,’ उनले भनिन्।
अष्ट्रियाबाट आएका यी विद्यार्थी २१ देखि ३३ वर्ष उमेरका छन्। यीमध्ये चार जनाले पाटन दरबारको प्रवेशद्वार र कृष्ण मन्दिरअगाडिको सिद्धिनरसिंहको मूर्ति टल्काएका छन्। मरिना तिनैमध्ये एक हुन्।
बाँकी विद्यार्थी विश्वेश्वर मन्दिरमा ढुंगाको काममा जुटेका छन्। तिनैमध्ये प्रस्तर कलामा स्नातक गरिरहेकी मार्टिना हस्बेग युनिभर्सिटी अफ अप्लाइड आर्टसकी सहायक कर्मचारीसमेत हुन्।
मार्टिना पनि धेरैचोटि नेपाल आइसकिन्। सन् २०११ मा पहिलोपटक आएकी थिइन्। त्यो बेला सुन्दरीचोकका मूर्तिमा काम गरिन्।
नेपाल र अष्ट्रिया भौगोलिक रूपले नै भिन्न भएकाले सुरुमा यहाँका ढुंगा चिन्न गाह्रो परेको उनी बताउँछिन्। पहिलोपटक आउँदा उनको समूहले ढुंगाको नमूना लिएर फर्केको थियो। उता लगेर प्रयोगशाला परीक्षण गरेपछि बल्ल उनीहरूले कुन ढुंगा कुन प्रकृतिको र त्यसको विशेषता के हो पहिचान गरे।
यही क्रममा उनीहरूले के पनि थाहा पाए भने, १९९० सालको भुइँचालोपछि जिर्णोद्धार गरिएका धेरै ढुंगाका मूर्ति जोड्न सिमेन्ट प्रयोग गरिएको रहेछ। ती पनि राम्ररी जोडिएको थिएन।
मार्टिनाका अनुसार नेपालका ढुंगा परिवर्तित चट्टान (मेटामोर्फोसिस) र बलौटे चट्टान (स्यान्डस्टोन) ले बनेका छन्। मेटामोर्फोसिसको वजन गह्रौं हुन्छ। भार थेग्न सक्छ। प्रायः मन्दिरका खम्बामा यसको प्रयोग हुन्छ।
‘स्यान्डस्टोन’ भने सजिलै बुट्टा कुँद्न मिल्ने खालका हुन्छन्। त्यही भएर मूर्ति कुँद्न कालिगढहरू यही खालका ढुंगा बढी प्रयोग गर्छन्। पानीमा भिज्दा यी ढुंगा फिसफिसे हुन्छन्। कोरिने र बिग्रने सम्भावना बढी हुन्छ।
सम्पदा निर्माणका लागि नेपालको हावापानी अनुकूल रहेको मार्टिनाले बताइन्।
‘अष्ट्रियामा धेरै समय हिउँ पर्ने हुँदा ढुंगाका सम्पदा जोगाउनु चुनौतीपूर्ण हुन्छ,’ उनले भनिन्, ‘मूर्तिमा हिउँ जमेर चर्कने र फुट्ने समस्या आउँछ।’
त्यस्तो अवस्थाबाट मूर्ति संरक्षण गर्न उनीहरू काठका टहरा बनाएर छोप्ने गर्छन्। राम्रो मौसम सुरु भएपछि यस्तो टहरा हटाउँछन्। यो त्यहाँको चलनै हो।
‘नेपालमा भने भुइँचालो जाँदाबाहेक प्राकृतिक रूपले सम्पदा विनाश हुँदैन,’ उनले भनिन्, ‘जति विनाश हुन्छ, त्यो मान्छेकै अज्ञानताले हुन्छ।’
पटक–पटक नेपाल आएर सम्पदा संरक्षणमा काम गरिसकेका यी विद्यार्थीले यसपालि तीन साता काठमाडौंमा बिताए। फेरि आउने बाचासहित शनिबार फर्केका उनीहरूले भने, ‘नेपालमा पनि अष्ट्रियाजस्तै कला र सम्पदा संरक्षणको पढाइ हुने विश्वविद्यालय खोल्नु जरुरी छ।’
‘नेपालमा दक्ष कालिगढ छन्, हामी नेपालीसँगै मिलेर काम गरिरहेका छौं,’ मरिनाले भनिन्, ‘यहाँका कालिगढमा प्राविधिक दक्षताको कमी छ।’
नयाँ पुस्तालाई संस्कृति र सम्पदा संरक्षणतर्फ आकर्षित गर्न पनि यसलाई विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने खाँचो उनले औंल्याइन्।
उनीहरू पढ्ने ‘युनिभर्सिटी अफ अप्लाइड आर्टस्’ मा यही विषयमा पाँच वर्ष पढाइ हुन्छ। पहिलो वर्षबाटै उनीहरू पुराना मन्दिर र दरबारका कलाकृतिमा अभ्यास गर्न थाल्छन्।
‘नेपाल सम्पदाको धनी देश हो। सम्पदा जोगाउने चेतना भने कम भएको हामीले पाएका छौं। यो भनेको सम्पदाको महत्व नबुझेर हो। विश्वविद्यालयले यसमा भूमिका खेल्नुपर्छ,’ मार्टिनाले भनिन्।