न वारि, न पारि। ललितपुरपट्टि जोडिएको छैन। काठमाडौंपट्टि पनि। कहिले जोडिने छाँट पनि छैन।
बागमती–विष्णुमती जोड्ने ‘विष्णुमती लिंक’को पुलको एउटा भाग बीच नदीमा ठिङ्ङ छ।
फूलमाया तामाङले विष्णुमती किनारमा बाख्रा चराउन थालेको वर्षौं भयो। यहाँ पुलको जग हाल्न थालेपछि छेउछाउ गोठालो गरेको पनि चार वर्ष नाघिसक्यो। कुलेश्वर फलफूल बजार क्षेत्रको फोहोरले दुर्गन्धित यो क्षेत्रमा उनी सोमबार पनि बाख्रा चराइरहेकी थिइन्।
उनी यहाँ बसेको ३५ वर्ष नाघिसकेको छ। काठमाडौं–१२ भएर बग्ने विष्णुमती किनारमै बाख्रा चराएको पनि उति नै।
यो अधकल्चो पुल दिनहुँ देख्छिन्। ‘कहिलेकाहीँ त मान्छे आउँथे, हिजोआज छैनन्,’ तामाङले भनिन्, ‘मलाई त खासै चासो पनि लाग्दैन, हामी हिँड्ने पुल पनि पर्दैन यो।’
गत असारमा एकपटक काम गर्ने मान्छे झुरुप्पै भेला भएको तामाङ बताउँछिन्।
गत असारमा मजदुरहरू खोलामा रड कस्दै थिए। त्यहीबेला बाढी आयो, अलिअलि गाडेको रड पनि भत्काइदियो। ‘त्यसपछि मान्छे आए, रड र काठ भेला पारेर एकठाउँ थुपारे,’ तामाङले भनिन्, ‘त्यै रड रुँग्न केही मान्छे पुलमै बसेका छन्, काम गर्ने मान्छे आएका छैनन्।’
स्थानीयका अनुसार सुख्खामा काम भएन। जब वर्षात्को समय आयो, काम सुरू भयो। अलिअलि बनेको पनि विष्णुमतीले हुत्याइदियो।
सरासर बनाउँदा एक वर्ष पनि नलाग्ने यो पुल निर्माण न यता, न उता जोडिने संकेत छ। बीचमा एक भाग ठड्याइएपछि यताउता चलमलाउन छोडको तामाङ बताउँछिन्।
पुल नजिकै घर भएकी उत्तरामाया तामाङ पनि यो पुलको नियति देखेर छक्कै परेकी छिन्। ‘अलिअलि काम गर्छन्, त्यसपछि कता जान्छन् पत्तै हुँदैन,’ उनले भनिन्।
पहिलोपटक उनले यो पुल बीचको भाग बनाउँदै गर्दा मान्छे देखेकी थिइन्। त्यो भूकम्प आएको समय थियो।
बूढाबूढी खाना खाने तयारी गर्दैथिए। त्यतिबेलै भूकम्प आयो। विष्णुमती बगरमा रहेका कामदारको पनि भागाभाग भयो। त्यसको झन्डै एक वर्षपछि मान्छे आएर बीच भागको केही काम गरे। ‘त्यसपछि मैले अस्ति असारमा देखेकी थिएँ, बनाउन खोज्दाखोज्दै बाढीले भत्काइदियो,’ उनले भनिन्, ‘त्यसपछि फेरि देखेको छैन।’
बल्खु हुँदै विष्णुमती पार गरेर बालाजुसम्म पुग्ने यो पुलको छेउमा दुईटा पुराना पुल पनि छन्। ‘सिंगल लेन’ मात्र भएका यी पुलको भार कम गर्न भए पनि यो पुल छिटो बनाउन आवश्यक परेको छ। यी पुलमा गह्रौं सामान बोकेका मालबाहक गाडी गुड्दैनन्। यो पुल बने त्यस्ता गह्रौं सामान ललितपुरबाट काठमाडौं हुँदै गन्तव्य तय गर्थे। तर, ठेकेदार कम्पनीले पुल अलपत्र पारिदिएको छ।
स्थानीयका अनुसार काठमाडौंपट्टि जग हालिने ठाउँ फोहोर फाल्ने स्थान भएको छ। ‘कुलेश्वरको फोहोरजति यहाँ ल्याएर फाल्छन्,’ उत्तरामाया भन्छिन्, ‘खै कहिले होला बन्ने!’
यो पुलको ठेक्का सम्झौता भएको २०६८ सालमै हो। ७५ मिटर लामो पुल निर्माण कम्पनी गोल्डेन गुड द कञ्चनजंघा जेभी हो। पुल योजना मध्यक्षेत्र सेक्टर नं. २ कार्यालयका अनुसार स्थानीय बाधा व्यवधान देखाएर ठेकेदार कम्पनीले दुई वर्ष त कामै गरेन।
दुई वर्षपछाडि थालेको काम पनि समयमा पूरा गरेन। ४ करोड ८५ लाख रुपैयाँमा ठेक्का लागेको यो पुलको म्याद दुई पटक थपियो। थपिएको अन्तिम मिति २०७४ फागुन हो।
काठमाडौंतिरको आधा भागमा जगै हालिएकै छैन। ललितपुरपट्टि जग हाल्न थालेर छोडिएको छ। गृहमन्त्री रामबहादुर थापाले ठेकेदार कम्पनीको सूची सार्वजनिक गरेपछि दबाब महसुस गरेर पछिल्लो पटक यो कम्पनीले काम थालेको हुनसक्ने स्थानीय बताउँछन्। गृहको सूचीमा गोल्डेन गुड २९ नम्बरमा छ।
अन्तिम म्याद थपेको मितिदेखि ठेकेदार कम्पनीलाई पेनाल्टीमा काम लगाइरहेको उक्त कार्यालयले जनाएको छ। ‘२१० दिनको समय दिएर पेनाल्टीमा काम लगाइएको छ,’ कार्यालयका प्रमुख अन्दलाल रोकायाले भने, ‘पेनाल्टीको अन्तिम मिति मंसिर हो।’
पुल निर्माण भइरहेको काठमाडौंपट्टि कुलेश्वर माविको जग्गा पर्छ। स्कुलको जग्गा विवाद मिलाउन समय लागेकोले काम छिटो हुन नसकेको रोकाया बताउँछन्।
निर्माण कम्पनी गोल्डेन गुडका प्रमुख ग्याल्झे शेर्पा हुन्। उनी पुल कार्यालयको सम्पर्कमा पनि त्यति छैनन्। कम्पनीका इन्जिनियर विनोदविक्रम चन्दले स्कुलको जग्गाकै कारण तीन वर्षसम्म कामै गर्न नसकिएको बताए।
‘सडक विभागमार्फत अर्कोपट्टिको जग्गा स्कुललाई दिएपछि बल्ल विवाद सकियो,’ उनले भने, ‘त्यसपछि हामीले काम थालेका हौं।’
चन्दका अनुसार २०७१ सालबाट पुल निर्माण थालिएको थियो। निर्माण अवधि तीन वर्षको हो। यो तीन वर्ष अवधि पनि गुज्रिसकेपछि हर्जाना तिराएर काम लगाइएको कार्यालयले जनाएको छ।
‘अस्ति बाढीले ढलानका लागि तयार गरी गाडेको रड बगायो,’ चन्दले भने, ‘बदीमा पानी कम भएपछि फेरि थाल्छौं।’
पुल निर्माण महाशाखा प्रमुख अर्जुन थापाले पनि जग्गा विवादकै कारण समय लागेको दाबी गरे। ‘पुल बनाउने स्थानमा सार्वजनिक जग्गा परेका कारण लम्बियो,’ उनले भने, ‘हामीले ठेकेदार कम्पनीलाई चाँडो सक्न भनेका छौं, अन्तिम समयसीमा हर्जाना तिराएर काम लगाइएको छ।’
सम्झौता उल्लंघन गर्ने कम्पनीलाई दुई सय दिनको समयावधिमा काम सक्न निर्देशन दिई सम्झौताको १० प्रतिशत हर्जाना तिराउने नियम छ। उक्त समयसीमा पनि गुजारे पेश्की रकम तान्ने, सम्झौता रद्ध गर्ने, बैंकबाट पैसा फिर्ता लिने र कालोसूचीमा राख्ने नियम छ। अहिले गोल्डेन गुडलाई १० प्रतिशत हर्जाना तिराएर काम लगाइएको महाशाखाले जनायो।
साधारण बाधा व्यवधान देखाएर महिनौंसम्म काम अल्झाउने कन्स्ट्रक्सन कम्पनीको चलन छ। गोल्डेनको हकमा पनि त्यही लागू भएको हो। स्थानीयका अनुसार स्कुलको जग्गा विवाद खासै ठूलो समस्या थिएन।
अहिले देशभर पुल निर्माण लथालिंग छ, जसमा पप्पु कन्स्ट्रक्सन कम्पनी सबैभन्दा बढी बदनाम छ। राजधानीभित्रै यो पुल गोल्डेन गुडले ठेक्का लिएर अलपत्र पारेको भेटिएको हो।
पप्पु कन्स्ट्रकसन कम्पनीले टिकुली, कमला, रातु, औरही, तिलाबे, नौरंगिया र फुलचोर पुल अलपत्र पारेको छ। यी ठेक्कामा झन्डै एक अर्ब रुपैयाँ राज्यको लगानी छ।
सार्वजनिक खरिद ऐन २०६३ को पहिलो संशोधन २०७३ ले यस्ता कम्पनी कस्न खोजेको छ। सम्बद्ध अधिकारीहरूका अनुसार ऐन लागू छ, कार्यान्वयन छैन।
यो ऐेन कार्यान्वयन गर्न भौतिक योजना मन्त्रालयले सक्छ। वर्षेनी नवीकरणका लागि कन्स्ट्रक्सन कम्पनीहरू मन्त्रालय पुग्छन्। यस्ता कम्पनी नवीकरण नगर्न सकिन्छ। तर, मन्त्रालयले कन्स्ट्रक्सन कम्पनीको कामकारबाही खोजीनिती गर्दैन।
ऐन अनुसार करार सम्झौता नाघेपछि कारबाही गर्न सकिन्छ। तर, ऐन फितलो छ। एक वर्षमात्र कालोसूचीमा राख्ने प्रावधान ठेकेदार कम्पनीमाथि ठूलो कारबाही हैन। नेपालमा कानुन बन्ने, कार्यान्वयन नहुने रोग नै छ। गोल्डेन कन्स्ट्रक्सनहरू मौलाउने यसैले पनि हो।
ललितपुरको टिकाभैरबदेखि मकवानपुर जोडिने कान्ति लोकपथ खण्डको एक भागमा पनि गोल्डेन गुडले ठेक्का लिएर अलपत्र पारेको छ। टिकाभैरब-तीनपाने खण्डको ठेक्कामा पनि लापरबाही गरेको छ। सडक चौडा, ग्राभेल, पर्खाल, नाली, सडक कालोपत्रे जिम्मा लिए पनि समयमा निर्माण नगर्दा स्थानीयले दुःख पाएका छन्। हिजोआज सो क्षेत्रमा पहिरो गएर स्थानीय हैरान छन्।
गोल्डेनले कामभन्दा सडक खन्दा निस्केका ढुंगा तथा रोडाको व्यापार थालेको स्थानीय बताउँछन्। उसले ललितपुरमा डिपो नै खोलेको छ। ठेक्का नियमअनुसार सडक बनाउँदा निस्केको निर्माण सामग्री सोही सडकका लागि प्रयोग गर्नुपर्छ।
गोल्डेन गुड ‘क’ वर्गको निर्माण कम्पनी हो। उसले पुल तथा साना-मझौला सडक निर्माण ठेक्का लिने गरेको छ।
गोल्डेनले नै ठेक्का पाएको मध्यपहाडी लोकमार्गका विभिन्न सडक ढिलासुस्ती र गुणस्तरहीन भएको गुनासो आएको छ। नेकपा माले खोटाङले मंगलबार जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाउँदै कारबाही गर्न माग पनि गरेको छ।
ठेकेदार कम्पनीले दिक्तेल-हलेसी, जयराम-हलेसी र दिक्तेल-चखेवाभञ्ज्याङ सडक कालापत्रेमा ढिलाइ गरेको मालेले जनाएको छ। ‘डेढ वर्षअघि नै कालोपत्रे हुनुपर्ने दिक्तेल–हलेसी ग्राभेल पनि भइसकेको छैन,’ मालेका पूर्वसांसद कुलप्रसाद फुयाँलले भने।
दिक्तेल-चखेवाभञ्ज्याङ सडक गोल्डेन गुडले ठेक्का लिएको हो। आर्थिक वर्ष २०७१/७२ मा ठेक्का लागेको उक्त सडक २०७५ भित्र कालोपत्रे गर्नुपर्ने सम्झौता छ। काठमाडौंमै पनि बागमती करिडोरमा गोल्डेनले ठूलो ठेक्का लिएर समयमै काम नगरेको गुनासो छ। गोल्डेनको राजधानीबाहिर मध्यपहाडी लोकमार्गमा बढी ठेक्का छन्।