प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनर्निर्माण सकिएको छ।
जीर्ण भइसकेको करिब ४ सय वर्ष पूरानो मनकामना मन्दिर २०७२ को 'गोरखा भूकम्प' ले थप क्षति पुर्याएपछि जगैसम्म भत्काएर नयाँ बनाइएको हो।
०७२ असारमा क्षमापूजा गरेर मन्दिर भत्काइएको थियो।
तीन वर्ष लगाएर मन्दिर पूरानै स्वरूपमा पुनर्निर्माण गरिएको मनकामना मन्दिर जीर्णोद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए।
'मन्दिर पुनर्निर्माण कार्य सकियो', संयोजक श्रेष्ठले सेतोपाटीसँग भने, 'दशैंदेखि नयाँ मन्दिरबाट पूजाआजा सुरू गरिन्छ।'
पुनर्निर्माणलाई मन्दिर भत्काएपछि आँगनमा सानो टहरो बनाएर दैनिक पूजा चलाइएको थियो। 'मन्दिर पुनर्निर्माणमा करिब १३ करोड खर्च भयो', श्रेष्ठले भने, 'भक्तजनले स्वत स्फूर्त दिएको चन्दा सहयोगबाट मन्दिर पुनर्निमार्ण गरियो।' सरकारले मन्दिर पुनर्निर्माण गर्न ४ करोड रुपैँया दिएको थियो।
तामाका पातामाथि सुनको जलप लगाएर मन्दिरको छाना सुनौलो बनाइएको छ। गजुर पनि राखिसकिएको छ। 'जलप लगाउन १८ किलोग्राम सुन खर्च भयो' उनले भने, 'केही मात्रामा सुन बाँकी छ।'
पुरातत्व विभागका इञ्जिनियरको निगरानीमा पूरानै स्वरुपमा मन्दिरको पुनर्निर्माण गरेको उनले बताए। मन्दिरमा इट्टा, काठको प्रयोग गरिएको छ। सिमेन्ट प्रयोग गरिएको छैन।
मनकामना मन्दिर क्षेत्रविकास समितिको भवन पनि भूकम्पले क्षति पुगेकोले तीन तले नयाँ भबन निर्माण गर्ने तयारी छ।
'पैसाको अभाव छैन' उनले भने, 'क्षेत्र विकासको भवन बनाएर माथिल्लो तलामा परेवा राख्ने, दोस्रोमा कार्यालय र भुइँतलामा भजन गाउने ठाउँ बनाउने हाम्रो तयारी छ।'
मन्दिरको आँगनमा ढुंगा छाप्ने र मन्दिर आँगनको एक छेउको पर्खाल जगैदेखि भत्काएर उकास्नुपर्ने काम बाँकी रहेको उनले बताए। भूकम्पअघि ढल्किएको मन्दिर भूकम्पले थप क्षति पुर्याएको थियो। मन्दिर पुनर्निर्माण गत चैत महिनामै सक्ने लक्ष्य लिएपनि काठ अभाव तथा नाकाबन्दीले गर्दा केही ढिलाइ भएको हो। मन्दिरमा दैनिक पाँच हजारभन्दा बढी भक्तजन पूजाआजाका लागि पुग्छन्।