बलिउड अभिनेता आमिर खान ‘सत्यमेव जयते’ कार्यक्रममा सामाजिक मुद्दा उठाउँछन्। सन् २०१४ को एक शृंखलामा उनले फोहोरमैला प्रशोधनबारे बहस चलाए।
हाम्रो यो कथा चार वर्षअघिको त्यही कार्यक्रमबाट सुरु हुन्छ।
भारतीय सहरहरूमा अग्लिएका फोहोरमैला पहाड कसरी सम्याउन सकिन्छ भन्नेमा कार्यक्रम केन्द्रित थियो। आमिरले यस्ता धूरन्धर वैज्ञानिक र सामाजिक अभियन्ताहरूसँग अन्तर्वार्ता गरे, जो फोहोरमैला प्रशोधनको सफल अभ्यासमा संलग्न छन्।
तिनैमध्ये एक थिए, राजगोपालन वासुदेवन।
मधुराईको थियागराजर कलेज अफ इञ्जिनियरिङका यी प्राध्यापक ‘प्लास्टिक सडक’ का सर्जक हुन्। उनले सन् २००२ बाट प्लास्टिकका खोल, बोतल र झोला संकलन गरी सडक निर्माणमा प्रयोग गर्दै आएका छन्।
आमिरसँगको अन्तर्वार्तामा प्लास्टिक सडकको विधि खुलाउँदै उनले भनेका छन्, ‘सानो सानो टुक्रा पारेर प्लास्टिक काटिन्छ। गिटीमा मिसाएर तताइन्छ। यसले गिटीमा प्लास्टिकको लेपन लाग्छ। त्यही गिटी अलकत्रासँग मिसाएर सडक कालोपत्रे गरिन्छ।’
प्राध्यापक वासुदेवनका अनुसार प्लास्टिक प्रयोगले ढुंगा र कोइलाको जोड सामान्यभन्दा मजबुत हुन्छ। पानी रसाउँदैन। सडक टिकाउ बन्छ।
विकराल फोहोरको थुप्रोमा प्लास्टिक यस्तो चिज हो, जुन मान्छेले बनाउन त बनायो, तर नाश गर्ने उपाय जानेन। यो कागज, खानेकुराजस्तो कुहिँदैन। नसिँदैन।
मास्न नसके पनि मान्छेले प्लास्टिक पुनर्प्रयोगका अनगिन्ती उपाय भने खोजेका छन्। प्लास्टिक सडक त्यसैमध्ये एक हो।
‘यो विधिको कपिराइट हाम्रो विश्वविद्यालयसँग सुरक्षित छ,’ प्राध्यापक वासुदेवन भन्छन्, ‘हामीले लुकाएर राखेका छैनौं। जसलाई पनि प्रयोग गर्न छुट छ।’
आमिर खानको उक्त कार्यक्रमपछि चर्चामा आएका यिनै प्राध्यापकलाई पछ्याउँदै चार वर्षपछि पोखराका दुई जना युवा इञ्जिनियरले ‘प्लास्टिक सडक’ निर्माण गरेका छन्।
लामो–लामो राजमार्गको सुरुआत पनि केही मिटरबाटै हुन्छ। पोखरा महानगरपालिका–१४, चाउथेको अनुपम टोलमा यही साउन २ बाट सञ्चालनमा आएको प्लास्टिक सडक सय मिटर मात्र छ। तर, यो हजारौं हजार किलोमिटरको कोशेढुंगा हो।
कोशेढुंगा कोरेका हुन्, पोखराका इञ्जिनियर विमल बास्तोलाले।
यहाँनिर आएर हाम्रो कथा सत्यमेव जयतेको त्यो शृंखलासँग जोडिन्छ, जसबाट प्रभावित विमलले सन् २०१८ मा प्राध्यापक वासुदेवनसँग सम्पर्क गरे। र, उनकै विद्यार्थीसँग ‘प्लास्टिक सडक’ विधिबारे तालिम पनि लिए।
भारतको सुरतस्थित नेसनल इन्स्टिच्यूट अफ टेक्नोलोजीमा पढेका विमल मेकानिकल इञ्जिनियर हुन्।
इञ्जिनियरिङ सकेर साढे दुई वर्ष भारतमै ‘फियट’ कम्पनीमा काम गरे। त्यसपछि आफ्नै देश फर्कने हुटहुटीले छोप्यो। एक्लो छोरा भएकाले पनि घर फर्कन दबाब थियो।
उनी पोखरा आए।
एउटा सानो कम्पनी खोले, जसले बत्ती, पानी तान्ने मोटर, प्लम्बिङ लगायतका प्राविधिक घर-घरै पठाउँछ।
विमलको यो ‘स्टार्ट–अप’ कम्पनी अहिले पनि चलिरहेकै छ।
इञ्जिनियरिङ पढेर आएका उनको मन भने यतिमै रम्न सकेन।
मान्छेको जिन्दगीमा कहिलेकाहीँ दुर्घटना पनि बाटो देखाउने कारक बनेर आउँछ। विमललाई त्यस्तै भयो। साँझ घर फर्कंदै गर्दा उनको बाइक सडकको खाल्डोमा पछारियो।
ज्यानमा घाउ लाग्यो, दिमाग छर्लंग भयो।
पोखराभरिका सडक र सडकभरिका खाल्डाखुल्डी उनका आँखाआगाडि नाच्न थाले। कुनै साना खाल्डा, कुनै ठूला। जस्ता भए पनि उनलाई जस्तै पछार्न पर्याप्त।
उनले ‘सत्यमेव जयते’ मा आमिर खानले अन्तर्वार्ता लिएका प्राध्यापक वासुदेवनलाई सम्झे। प्लास्टिक मिसाएर सडक कालोपत्रे गर्ने विधि उनको दिमागमा घुम्न थाल्यो।
त्यही बेला अर्को संयोग भयो।
घाइते विमल राम्ररी तङ्ग्रिएकै थिएनन्, भुटानको एउटा खबरले उनलाई आराम गरेर बस्न दिएन।
भुटानले यही विधि प्रयोग गरेर धमाधम सडक बनाउँदै गरेको उनले थाहा पाए।
हुटहुटी रनाहामा बदलियो।
‘मैले आफ्नै कलेजको सडक सम्झेँ। त्यहाँ पनि प्लास्टिक मिसाएर पिच गरिएको थियो। त्यति बेला खासै वास्ता गरेको थिइनँ,’ विमलले भने, ‘मनमा अठोट जागेपछि यससम्बन्धी सबै साना–ठूला खबर एकत्रित गरी पढ्न थालेँ।’
उनले वासुदेवनसँग इमेल सम्पर्क गरे। प्लास्टिक सडक निर्माण विधिबारे तालिम लिन आउने इच्छा देखाए। वासुदेवनले जवाफ त फर्काए, तर समय मिलाउन सकेनन्। कम्तीमा एक वर्ष उनी व्यस्त थिए।
‘उहाँलाई नेपालै बोलाएर तालिम लिने कि भन्ने पनि लागेको थियो, तर उहाँको उमेरले गर्दा सम्भव भएन,’ २८ वर्षीय जोशिला विमलले भने, ‘मलाई भने यहाँ हतार भइसकेको थियो।’
उनले वासुदेवनलाई कुरेनन्। बरु भुटानमा यही विधिबाट सडक बनाएका इञ्जिनियर रिकेश गुरुङसँग सम्पर्क गर्न सूत्र खोज्न थाले। रिकेश वासुदेवनकै विद्यार्थी रहेछन्। विमलकै कलेजका साथीहरू उनलाई चिन्दा रहेछन्। तिनै साथीहरूबाट रिकेशसँग सम्पर्क भयो।
यति बेलासम्म पोखराकै अर्का इञ्जिनियर र उनका साथी राजीव सुवेदी पनि यो अभियानमा जोडिन आइसेकका थिए।
सिभिल इञ्जिनियर राजीवले यसअघि अन्य सडक आयोजनाहरुमा काम गरेका थिए। प्लास्टिक सडक बनाउन उनको अनुभव र विज्ञताको खाँचो थियो।
विमल र राजीव रिकेशसँग तालिम लिन भुटान गए।
एउटा विधाका इञ्जिनियरहरूलाई त्यसैसँग मिल्दोजुल्दो अर्को विधाको तकनिकी बुझ्न खासै समय लागेन।
उनीहरूसँग अब अठोट मात्र थिएन, त्यो अठोट पूरा गर्ने प्राविधिक ज्ञान पनि थियो।
तर, कार्यान्वयन गर्ने कसरी? लागत जुटाउने कसरी?
पोखराका होटल व्यवसायी सञ्जीव बास्तोला र निर्माण व्यवसायी विमल बस्याल अभियानमा जोडिएपछि यो समस्या हट्यो। प्राविधिक क्षेत्रमा संलग्न नभए पनि उनीहरुले यो काममा रुचि देखाए। र, भरपूर सहयोग पनि गरे।
लामो छलफलपछि ठाउँ तय भयो– विमल बस्यालकै घरअगाडिको सय मिटर सडक। जुन खाल्डाखुल्डीले धराप बनेको थियो।
उनीहरू प्रस्ताव लिएर वडा कार्यालय र महानगर पुगे। सुरुमा त कसैले पत्याएनन्। रुचि पनि देखाएनन्। तै लत्तो नछाडेपछि महानगर तयार भयो।
‘महानगरले एउटा सर्तमा हामीलाई सडक बनाउन दियो– केही गडबड भए सम्पूर्ण जिम्मेवारी लिएर क्षतिपूर्ति तिर्ने,’ विमलले भने, ‘हामीले सर्त मान्यौं।’
महानगरसँगको सहमतिपछि उनीहरू प्लास्टिकलाई सानो–सानो टुक्रा पार्ने मेसिन खोज्नतिर लागे। त्यसअघि कसैले यसरी प्लास्टिक काट्ने काम नगरेकाले मेसिन पाउन हम्मे पर्यो। बल्लतल्ल विराटनगरमा एउटा फेला पारे। अर्कै कामलाई प्रयोग हुने त्यो मेसिन ठ्याक्कै उनीहरूले खोजेजस्तो थिएन। कामचलाउ मात्र थियो।
एउटा समस्या के रह्यो भने, त्यसले प्लास्टिकलाई एकैचोटि मसिनो टुक्रा पार्थेन। दुई–तीनपटक मेसिनमा हालेर काटेपछि मात्र खोजेजस्तो मसिनो हुन्थ्यो।
उनीहरूले त्यसै गरे।
यस क्रममा प्लास्टिक खोज्न, विराटनगरसम्म पुगेर टुक्रा पार्न र नगरपालिकासँग समन्वयमा सञ्जीवले धेरै सहयोग गरेको विमल सम्झन्छन्।
‘विराटनगरमा दुई–दुईपटक मेसिन चलाएर प्लास्टिक काट्नुपर्दा लागत अलि महँगो पर्यो, तर हामीलाई चाहिने आकारको टुक्रा भएपछि हामी दंग पर्यौं,’ उनले भने।
उनीहरूले प्लास्टिकका टुक्रा पोखरा ल्याए।
यो गत असारको कुरा हो।
बर्खाको समय। निर्माण सामग्रीदेखि ठेकेदार पाउन मुश्किल। त्यसमाथि सय मिटर सडकको काम भनेपछि ठेकेदारहरू नाक खुम्च्याउँथे। बल्लतल्ल एक जना राजी भए। गिटी–बालुवा धादिङबाट ल्याए।
अनि सुरु भयो, नेपालकै पहिलो ‘प्लास्टिक सडक’ निर्माण।
सय मिटर कालोपत्रे सक्न दस लाख रुपैयाँ खर्च भएको इञ्जिनियर विमल बताउँछन्। यसमा महानगर वा अरू कुनै संघ–संस्थाको लगानी छैन। दुई जना इञ्जिनियर र दुई जना व्यवसायीको पहलकदमीको नतिजा हो, जसमा तीन सय किलो प्लास्टिक खपत भएको छ।
‘अन्तिम समयमा सबै सामान महँगो किन्नुपरेकाले लागत अलि बढी भयो,’ उनले भने, ‘योभन्दा धेरै सस्तोमा बन्छ।’
ठेकेदारहरूको आलटालमा एक दिनको काम सक्न सात दिन लागेको पनि उनले बताए। अलिकति लागत त यसले पनि बढायो।
पहिलो प्लास्टिक सडकले देशका अन्य नगरपालिकाको पनि चासो बढाएको छ।
विमल ललितपुरको गोदावरी नगरपालिकाको निम्तोमा यसै साता राजधानी आए। इसिमोड र गोदावरी नगरपालिकाका प्रतिनिधिसामु प्लास्टिक सडकको विधिबारे जानकारी दिए।
सबैले एउटै प्रश्न सोध्छन्– ढुंगा र अलकत्रामा प्लास्टिक मिसाएर कालोपत्रे गर्दा सडक कसरी टिकाउ हुन्छ? यो विधिको फाइदा के?
गैरप्राविधिकहरूलाई यति गहिरो प्राविधिक कुरा बुझाउन सजिलो छैन। विमलसँग उपाय छ।
उनी आफ्नो म्याकबुकमा ‘सत्यमेव जयते’ को त्यो शृंखला बोकेरै हिँड्छन्। जसलाई पनि प्राविधिक कुरा बुझाउनुपरे, उनी म्याकबुक खोल्छन् र प्राध्यापक वासुदेवनको अन्तर्वार्ता देखाउँछन्।
यहाँ पनि त्यही गरे।
गोदावरी नगरसँगको बैठकपछि हामीलाई त्यही अन्तर्वार्ता देखाउँदै भने, ‘यस्तो प्लास्टिक सडक देशैभरि बनाउन सकिन्छ। केही हदसम्म फोहोरमैला व्यवस्थापनको समस्या समाधान गर्नुका साथै सडक पनि टिकाउ हुन्छ।’
हामीकहाँ निस्कने फोहोरको करिब १५ प्रतिशत प्लास्टिकले ओगटेको एक अध्ययनले देखाएको छ। गुट्खा, चक्लेट, चाउचाउका खोल र पोलिथिन झोलाले सडक फोहोर पारेको हामीले देखेकै छौं।
‘बाक्ला प्लास्टिक अन्य माध्यमबाट पनि पुनर्प्रयोग हुन सक्छन्। साना पोलिथिन, गुट्खा, चाउचाउ र चक्लेटका खोल कुनै काममा आउँदैन। यसको सबभन्दा राम्रो उपयोग सडकमै हो,’ उनले भने।
उनका अनुसार खेर गएका यी प्लास्टिक राजमार्गबाहेकका भित्री सडकमा सजिलै प्रयोग गर्न सकिन्छ।
उनले यसको विधि पनि बताए।
प्राध्यापक वासुदेवनले भनेझैं यी प्लास्टिक मसिने गरी काटेपछि तातो गिटी–बालुवामा हालिन्छ। यसनिम्ति गिटी–बालुवा १ सय ७० डिग्री सेल्सियस तापक्रममा तातेको हुनुपर्छ। तातो गिटीमा परेपछि प्लास्टिकका टुक्रा पग्लिन्छन्। गिटीमै टाँसिदै–मिसिँदै जान्छन्। त्यसपछि त्यो मिश्रण अलकत्रामा हालिन्छ। र, त्यही घोलबाट सडक कालोपत्रे गरिन्छ।
‘तापक्रम नघट्दै यो मिश्रणले कालोपत्रे गरिसक्नुपर्छ,’ उनले भने, ‘सकेसम्म निर्माणस्थलमै वा नजिकै घोल तयार पारेर प्रयोग गर्दा प्रभावकारी हुन्छ।’
बढी पानी पर्ने ठाउँमा यो विधिबाट सडक बनाउँदा बलियो हुने उनको भनाइ छ।
बर्खामा लगातार पानी पर्दा सडकभित्रको गिटी ओसिलो हुँदै जान्छ। गिटीहरूबीचको जडान विस्तारै फुक्न थाल्छ। बाहिरी सतह चर्किएर खाल्डाखुल्डी पर्छ। प्लास्टिक मिसाएर बनाएको सडकमा भने यो समस्या हुँदैन। यस्तो सडकमा पानी जम्दैन। सोसिँदैन। सतहबाटै तर्केर जान्छ। कालोपत्रेमुनि पानी नछिरेपछि गिटी–बालुवा खुकुलो हुने समस्या आउँदैन। र, खाल्डाखुल्डी पनि पर्दैन।
अलकत्रामा कति प्लास्टिक मिसाउने भन्ने भूगोलअनुसार फरक पर्छ। हिमालतिर कम प्रतिशत प्लास्टिक राखे हुन्छ भने तराईमा बढी हाल्नुपर्छ। भौगोलिक अवस्था हेरेर ५ देखि १५ प्रतिशत तलमाथि हुने उनले बताए।
‘भारतको अनुभव हेर्दा यस्तो सडक सामान्यभन्दा दोब्बर बलियो देखिएको छ,’ उनले भने, ‘त्यहाँ दस वर्षसम्म मर्मत गर्नु नपरेको इञ्जिनियरहरूले बताएका छन्।’
यसको अर्को विशेषता भारवहन क्षमता हो। अलकत्रा मात्र प्रयोग भएका सडकको भारवहन क्षमता हजार टन हुन्छ। जबकि, प्लास्टिक सडकले २ हजार ५ सय टनको भार सजिलै थेग्न सक्ने उनले जनकारी दिए।
सडकको गुणस्तर, टिकाउ र प्लास्टिक प्रशोधन दृष्टिले प्रभावकारी यो विधि प्रत्येक नगरले अपनाउनुपर्ने उनको सुझाव छ।
गोदावरी नगरपालिकासँगको छलफलपछि उनी केही उत्साहित छन्। इसिमोडको कार्यालय छिर्ने सय–दुई सय मिटर बाटो यही विधिबाट बनाउने सल्लाह भएको छ। गोदावरीले पनि केही सहायक सडकमा प्लास्टिक प्रयोग गर्ने इच्छा देखाएको छ। टुंगो लाग्न बाँकी भएको उनले बताए।
‘भारत, भुटानलगायत देशले सफलतापूर्वक कार्यान्वयन गरिरहेको यो विधि हामीले नेपालमा पनि लागू गरेर देखायौं। यसपालि आफैंले लगानी गरे पनि घरिघरि सकिन्न। हाम्रो काम प्रविधि बाँड्ने हो। यो प्रविधिमा सरकारले रुचि दिन्छ भने अन्यत्र पनि कार्यान्वयन गर्न तयार छौं,’ उनले भने।
राष्ट्रिय स्तरमा यो विधि लागू गर्न फोहोर प्लास्टिक धुने र काट्ने ठूलो क्षमताको मेसिन विदेशबाट ल्याउनुपर्ने उनले सुझाए। मेसिनले पगालेका प्लास्टिकबाट गमला, कप, प्लेटसमेत बनाउन सकिन्छ।
यसबारे जान्नबुझ्न चाहनेलाई उनी युट्युबमा गएर सत्यमेव जयतेको त्यही भिडियो हेर्न सुझाउँछन्।
जहाँ ‘प्लास्टिक सडक’ का सर्जक प्राध्यापक राजगोपालन वासुदेवन भन्छन्, ‘हामीले सडक बनाएको दस वर्षभन्दा बढी भयो, अहिलेसम्म एउटै खाल्डाखुल्डी परेको छैन।’
महिनादिनमै खाल्डाखुल्डी देख्ने बानी परेको हाम्रा लागि यो चमत्कारै भएन त?