कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले सदियौँदेखि पछि परेको प्रदेशलाई समुन्नत बनाउन बीमा कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।
कर्णाली प्रदेशमा पहिलोपटक स्थापना भएको राष्ट्रिय बीमा कम्पनी लिमिटेड सुर्खेत शाखाको बुधवार उद्घाटन गर्दै प्रदेश प्रमुख खनालले यस्तो बताएका हुन् ।
‘विगतदेखि नै यहाँका जनता गरिबी, अभाव, प्राकृतिक विपत्तिको सामना गर्दै आएको इतिहास छ ’, प्रदेश प्रमुख खनालले भने, ‘अब कम्पनीले गाउँ वस्तीमा गएर कृषि तथा पशुहरुको वीमा गराई जोखिम न्यूनिकरण गरेर कर्णालीका जनतालाई आत्मनिर्भर बनाउन कोसे ढुंगाको भूमिका निर्वाह गर्नुपर्छ ।'
कर्णाली पशु तथा वालीका दृष्टिकोणले अत्यन्तै समृद्धिको सम्भावना भएको भन्दै उनले कम्पनीलाई प्रदेश भरि नै विस्तार गर्दै लैजानुपर्नेमा जोड् दिए ।
‘यहाँहरुलाई कर्णालीमा आएको देखेर म खुशी भएको छु’, उनले भने, ‘हामी कर्णाली वासीको चाहना, आशा र अपेक्षालाई पूरा गर्न यहाँहरुलाई शुभकामना दिन चाहन्छु ।’
प्राकृतिक विपत्तिबाट कर्णालीका जनताले ठूलो नोक्सान खेप्ने गरेका बताउँदै उनले त्यस्तो विपद्का कारण निरास बनेका किसानहरुको जोखिम न्यूनिकरण गर्न र उनीहरुलाई पुरानै अवस्थामा ल्याई कृषि पेशाप्रति गौरव गर्ने बनाउन समेत वीमा कम्पनीलाई आग्रह गरे ।
निजी वीमा कम्पनीले वीमा गरेका किसानहरुलाई समयमै राहत नदिने गरेको सुन्नमा आएको बताउँदै प्रदेश प्रमुख खनालले सरकारी कम्पनी भएका कारण तत्काल जनतालाई क्षतिपुर्ती दिन र हरेक वस्तीमा सेवा विस्तार गर्न आग्रह गरे ।
‘सरकारी निकाय भएका कारण महत्वपूर्ण जिम्मा यहाँहरुको छ ’, उनले भने, ‘सरकारी काम भनेर कहिल्यै पनि काममा ढिलासुस्ती नगर्नुहोला । जनतालाई प्रवाह गर्ने सेवाका कुनै पनि कञ्जुस्याई नगर्न सम्वन्धित सबैलाई आग्रह गर्दछु ।’
संचालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले कर्णालीमा नयाँ कार्यालय खोल्न पाउँदा हर्षित भएको बताए ।
‘हामीले १३ औं शाखाको रुपमा वीरेन्द्रनगरमा शाखा खोल्न सफल भएका छौं ।’ उनले भने, ‘हामीलाई अत्यन्तै खुशी लागिरहेको छ ।’ अध्यक्ष उपाध्यायले यहाँ रहेका सबैसँग सहकार्य गर्दै अघि बढने प्रतिबद्धता जनाए ।
तस्विरः
सुर्खेतमा स्थापना भएको राष्ट्रिय विमा कम्पनीको शाखाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनाल ।
दिपकजंग शाही÷सेतोपाटी