हातभरि चुरा। कुर्ता–सलवारको सल कम्मरमा बाँधेकी। दुवै हात अनुहार अगाडि।
‘वान’
दाहिने हात अगाडिको ‘बक्सिङ प्याड’ मा बजारिन्।
‘टू’
देब्रे हातले उसैगरी जोडसँग प्रहार गरिन्।
‘थ्री’
दाहिने हात।
‘फोर’
फेरि देब्रे।
यो क्रम केही बेर यसैगरी चल्यो।
पसिनाले लुछुप्पै भिजेर बक्सिङ प्याडलाई निरन्तर निशाना बनाइरहेकी यिनी हुन्, २५ वर्षीया सावित्री पौडेल।
आत्मरक्षाको अभ्यास गरिरहेकी उनका आँखामा न अगाडिको बक्सिङ प्याड छ, न उनलाई हौस्याइरहेका साथीहरू, न त अंक गनिरहेका गुरू।
तै उनको प्रहार रोकिएको छैन। हातको बल घटेको छैन।
आवाज पछ्याउँदै दृश्य चाल पाउने सावित्री जन्मजात दृष्टिविहीन हुन्। उनलाई त यो पनि थाहा छैन, जुन कोठामा उनी ‘महाकाली’ बन्ने अभ्यास गर्दैछिन्, त्यहीँ सामुन्ने भित्तामा महाकालीकै ठूलो चित्र छ। निलो शरीर। गलामा मुर्कुटाका माला। एक हातमा खुँडा, अर्कोमा त्रिशूल। बायाँ खुट्टामुनि थिचिएको अर्को मुर्कुटा।
यी महाकालीको शारीरिक बनोट अलि भिन्न छ। व्यायाम गरेर सुगठित। बलिया पाखुरा। ‘सिक्स प्याक’ भएको कसिलो पेट।
उनी देवी होइनन्। देवीकी प्रतिरूप हुन्।
सावित्रीलाई यस्तै देवी प्रतिरूप बनाउन चाहन्छन्, विक्रान्त पाण्डे। हौस्याउँदै भन्दैछन्, ‘खुट्टा दह्रो बनाएर उभिनुस्। आफूलाई बलियो ठान्नुस्। डर हटाउनुस्। तपाईं आफ्नो लागि आफैं लड्न सक्नुहुन्छ।’
हामी ललितपुर–९, एकान्तकुनास्थित ‘शस्त्र सेक्युरिटी’ कम्पनीमा छौं।
यो सेक्युरिटी कम्पनी अरूभन्दा फरक छ। आठ वर्षअघि खुलेको यो कम्पनीले अरूजस्तो सुरक्षा गार्ड मात्र आपूर्ति गर्दैन। मार्सलआर्ट र आत्मरक्षाको तालिम पनि दिन्छ, जसलाई परिभाषित गर्दै विक्रान्त भन्छन्– ‘यो मार्सल आर्टको तकनिकी हेरेर बनाइएको ‘फाइट–ब्याक’ हो। यसमा हामी आत्मरक्षाका बान्की सिकाउँछौं। आक्रमण गर्न आउनेलाई प्रत्याक्रमण गर्ने तालिम दिन्छौं।’
यसमा हातगोडा चलाउने त छँदैछ, त्योभन्दा महत्वपूर्ण– ठूलो स्वरले कराएर आत्मबल दह्रो पार्न र आफ्नो वजनदार आवाजले आक्रमण गर्न आउनेको मनोबल गिराउन सिकाइन्छ।
‘हामी डर भगाउन सिकाउँछौं,’ विक्रान्तले भने।
अर्को विशेषता, यो कम्पनीले महिलाहरूलाई मात्र यस्तो तालिम दिन्छ। यहाँबाट आपूर्ति गरिने सेक्युरिटी गार्ड पनि अधिकांश महिलै हुन्छन्। आफ्ना सेवाग्राहीलाई भरिसक्य महिलै राख्न उनी प्रेरित गर्छन्।
यस्तो किन?
महिला इमानदार हुन्छन्, मृदुभाषी हुन्छन्– विक्रान्तसँग यस्तो ‘क्लिसे’ जवाफ छैन।
उनको तर्क छ– ‘हरेक महिला महाकालीझैं होऊन् भन्ने हाम्रो उद्देश्य हो। शारीरिक सामर्थ्यले पनि, मानसिक आत्मबलले पनि।’
पछिल्लो समय यौनहिंसा र बलात्कारपीडित महिला संख्या बढ्दै गएका बेला विक्रान्तको तर्क सान्दर्भिक छ। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याका दोषी अझै पक्राउ परेका छैनन्। यो घटना नसल्टिँदै अर्की १० वर्षे बालिकाको बलात्कारपछि हत्या भयो। कीर्तिपुरमा १३ वर्षीया बालिकालाई चार दिन बन्धक बनाएर बलात्कार गरियो।
एक तथ्यांकअनुसार सबभन्दा बढी १८ वर्षमुनिका बलात्कृत हुन्छन्। त्यसमा १० वर्ष मुनिका मात्र ५० प्रतिशतभन्दा बढी छन्। वृद्ध र अपांगता भएका महिलाको जोखिम अझ बढ्दो छ। वर्ष २०५४–५५ मा देशभर १ सय ८१ बलात्कारका घटना भएका थिए। २०७३–७४ सम्म आइपुग्दा यो संख्या १ हजार १ सय ३१ पुगेको छ।
यी सार्वजनिक घटना मात्र हुन्। घटनास्थलमै सेलाउने र गुपचुप राखिएका कति छन् कति!
असुरक्षित अवस्थाका महिलालाई थोरै भए पनि प्रत्याक्रमणको आत्मबल दिन यस्तो तालिम जरूरी भएको विक्रान्त बताउँछन्।
‘बलात्कारको सुरूआत दुर्व्यहारबाटै हुन्छ। यौन दुर्व्यवहार आफैंमा बलात्कारको रूप हो। यसमा निच मारेर बस्दा बलात्कारीको मनोबल बढ्छ। यही चरणमा महिलालाई सुरक्षित हुन सिकाउनु हाम्रो उद्देश्य हो,’ उनले भने, ‘यही सबथोक होइन, केही अवश्य हो।’
विक्रान्तको आसय पाइला–पाइलामा दुर्व्यवहार भोग्दै आएका सबै महिलाले अनुभूति गर्न सक्छन्।
डिएभी स्कुलमा ७ कक्षा पढ्ने सञ्चीता विश्वास एक हुन्।
सञ्चीता १२ वर्ष भइन्। कलिलै उमेरमा उनलाई दुर्व्यवहारको जानकारी मात्र छैन, अनुभव पनि छ।
‘म एकदिन साथीसँग टेबलटेनिस क्लास जाँदै थिएँ। कुमारीपाटीको सुनसान गल्लीमा दुई जनाले पछ्याए,’ उनले भनिन्, ‘हामी डराएर भागेनौं। मैले विस्तारै सास फेरेँ। मनको डर मनभित्रै दबाएँ। घुरेर आँखा जुधाएँ। हातमा मोबाइल थियो। फोन गरेजस्तो नाटक गरेँ। उनीहरू तर्किएर गए।’
सञ्चीतालाई डरसँग लड्ने आत्मविश्वास यही तालिमले दिएको हो।
विक्रान्तको यो आत्मरक्षा तालिम गत वर्ष डिएभी पुगेको थियो। उनी पनि सामेल भइन्।
सञ्चीताले तालिम लिएको एक वर्ष भइसक्यो। तेक्वान्दो पनि सिक्दैछिन्। एक वर्षअघि र अहिलेकी सञ्चीतामा आकाश–पाताल फरक छ।
‘म नर्भस हुने स्वभावकी थिएँ। कक्षामा पनि बोल्न डराउँथे। अरूसँग बोल्न परे दस कोश पर भाग्थेँ,’ उनले भनिन्, ‘यो तालिम लिएपछि मैले आफूलाई बोल्ड भएको पाएँ। सितिमिति कसैसँग डराउँदिन। आवश्यक पर्दा प्रतिकार गर्न जानेकी छु।’
उनी महिलामाथि हुने दुर्व्यवहारबारे स्वअध्ययन पनि गर्न थालेकी छन्। युट्यूबमा यस्ता भिडियो खोजी–खोजी हेर्छिन्। साथीहरूलाई देखाउँछिन्।
भन्छिन्, ‘अखबार, टिभीमा दिनहुँ देखिन्छ– हामी साना छौं भन्दैमा सुरक्षित छौं भन्ने छैन। यहाँ ६ वर्षे बालिका पनि बलात्कृत छन्। सुरक्षाको पहिलो हतियार हाम्रो आत्मबल नै हो।’
सञ्चीता र सावित्रीजस्ता ७ हजारभन्दा बढी किशोरी र महिलाले विक्रान्तको समूहबाट आत्मरक्षा तालिम लिइसकेका छन्। यसमा राजधानीका मात्र समावेश छैनन्। अहिलेसम्म काठमाडौंसहित १९ जिल्लामा तालिम सञ्चालन गरिएको छ। कहिलेकाहीँ विदेशमा पनि तालिम दिन जान्छन्। बंगलादेश, म्यानमार र बेलायतमा दिइसके।
स्कुले बालिकालाई तालिम दिन स्कुलसँगै उनीहरू सम्पर्क गर्छन्। व्यवस्थापन सबै स्कुलले नै गर्छ। त्यस्तै संस्थामार्फत जानेहरूको सबै व्यवस्थापन संस्थाले नै गर्छ। सरकारी स्कुल र शुल्क तिर्न नसक्ने ग्रामीण क्षेत्रका महिलालाई भने उनीहरू निःशुल्क सिकाउँछन्।
कोही व्यक्तिगत रूपमा आत्मरक्षा तालिम लिन चाहन्छन् भने कम्तीमा दस जनाको समूह हुनुपर्ने विक्रान्त बताउँछन्। यसरी जाँदा एक जनाले १ हजार ८ सय रूपैयाँ तिर्नुपर्छ। तालिमको प्रकार, समय र समूहअनुसार भने यो शुल्क फरक पर्न सक्छ।
विक्रान्तले सन् २०१२ बाट महिला आत्मरक्षा तालिम कक्षा सुरु गरेका हुन्।
विश्वव्यापी रूपमा चलेको ‘स्लट वाक’ अभियानलाई उनी यसको सुरुआती विन्दु मान्छन्।
क्यानडामा स्कुले छात्राहरूलाई सुरक्षा तालिम दिन गएका प्रहरीले भनेछन्, ‘तिमीहरू यौनकर्मीजस्तो लुगा लगाएर हिँड्छौ, अनि बलात्कृत हुन्छौ।’
प्रहरीको यो भनाइले महिलाहरूमा आक्रोश जन्मायो। अनि सुरु भयो, ‘स्लट वाक’।
यसैको सिको गर्दै नेपालमा चार जना केटीले ‘वाक फर रेस्पेक्ट’ सञ्चालन गरे। भर्खर प्लस टु सकेका तिनै केटीहरू पछि ‘बिरुवा’ भन्ने संस्थामार्फत् विक्रान्तसँग जोडिन पुगे।
‘उनीहरू मकहाँ आत्मरक्षा तालिम लिन आएका थिए,’ उनले भने, ‘हामीले ६० जना युवतीलाई सिकायौं।’
सन् २०१२ अन्तको त्यो पहिलो तालिम सफल रह्यो।
त्यस क्रममा बाटो र सार्वजनिक सवारीमा जोखिम पहिचान र जोगिने उपाय सिकाइएको विक्रान्तले बताए। ‘कसैले हात, कपाल र घाँटी अँठ्यायो भने कसरी फुत्कने भन्ने सिकायौं,’ उनले भने।
तालिमपछि विक्रान्त भारत गए। त्यसै बेला नयाँदिल्लीमा निर्भया नामकी युवतीको सामूहिक बलात्कार भयो। यसले भारतसहित विश्वभरि हल्लीखल्ली मच्चियो। यो घटनाले विक्रान्तलाई पनि भित्रैदेखि छोयो। उनी काठमाडौं फर्कनेबित्तिकै संगठित रूपमै महिलालाई आत्मरक्षा तालिम दिने अभियानमा लागे।
सुरूआत आफू पहिले संलग्न बैंकिङ क्षेत्रबाट गरे।
सफ्टवेयर इञ्जिनियर उनी नेपाल इन्भेस्टमेन्ट बैंकमा काम गर्थे। लगभग ६ वर्ष बिताएपछि जागिर छाडेर सन् २०१० मा ‘शस्त्र’ कम्पनी खोलेका थिए। जसले सुरक्षा गार्ड आपूर्ति गर्थ्यो।
विक्रान्तले विद्यार्थीकालमै मार्सलआर्ट सिकेका हुन्। उद्धव थापा मगर उनका गुरू हुन्। तिनै गुरू र बुबाका दुई जना साथी पूर्व सैनिक जनरल धर्मपालवरसिंह थापा र दिलिप रायमाझी उनका साझेदार थिए।
यही कम्पनीअन्तर्गत महिला आत्मरक्षाको प्रस्ताव लिएर उनी बैंक अफ काठमाडौैं गए।
बैंकले स्वीकार गर्यो।
‘हाम्रो यो पहिलो कर्पोरेट तालिम मानसिक र शारीरिक आत्मबल बढाउनमा केन्द्रित थियो,’ उनले भने, ‘दैनिक प्रयोग गर्ने सामानबाटै कसरी आफूलाई जोगाउन सकिन्छ भनेर सिकायौं।’
यसमा ४५ जना सहभागी भए। सहभागीहरूले उनलाई सुझाए, ‘यो त गज्जबको सिकाइ रहेछ। हाम्रा छोरीहरूलाई पनि स्कुलमा गएर सिकाउनुस् न।’
विक्रान्तलाई आइडिया मनपर्यो।
उनकी ६ वर्षे छोरी पनि स्कुल जान थालिसकेकी थिइन्।
‘मैले समाजमा व्याप्त असुरक्षाको माहोलमा आफ्नी छोरीलाई पनि असुरक्षित देखेँ,’ उनले भने, ‘बैंकका दिदीबहिनीको सरोकार मेरो पनि सरोकार थियो।’
त्यसअघि घरमै छोरीलाई थोरबहुत मार्सलआर्ट सिकाएका विक्रान्तले यो आत्मरक्षा तालिम स्कुल लैजाने निर्णय गरे।
सुरुआत सेन्टमेरिजबाट भयो। पहिलो खेपमा त्यहाँका ४०–५० जना छात्रालाई सिकाए। यसले निरन्तरता पाउँदै गयो। सेन्टमेरिजका व्यवस्थापकले पछि हजार जना छात्रालाई तालिम दिन प्रस्ताव गर्यो। विक्रान्तले यति ठूलो समूहसँग काम गरेका थिएनन्। समूहलाई एकैचोटि सिकाउँदा विधि अलग्गै डिजाइन गर्नुपर्थ्यो। उनले त्यसै गरे।
अचेल उनको टोली स्कुलहरूमा गएर एकैचोटि धेरै विद्यार्थीलाई सिकाउन समर्थ छ। काठमाडौंका १३ वटा र सुर्खेतको कोपिला भ्याली स्कुलमा गएर तालिम दिइसकेको छ। केही साताअघि हामीले डिएभीमा भेट्दा विक्रान्त र उनको समूह आठ–नौ सय छात्रालाई आत्मरक्षा सिकाउँदै थिए।
यसैबीच विक्रान्तको भेट भयो, सरिता लामिछानेसँग।
सरिता दृष्टिविहीन हुन्। ‘चेन्ज फ्यूजन नेपाल’ नामक संस्थाको ‘माई स्टोरी’ छलफल क्रममा उनले आफ्ना यौन दुर्व्यवहार भोगाइहरू बाँडेकी थिइन्। भनेकी थिइन्, ‘सार्वजनिक बसमा हामीलाई साह्रै गाह्रो हुन्छ। जो पनि छुन आउँछन्। धकेलाधकेल गर्छन्। केही बोल्यो भने ‘तेरो आँखा छैन, देख्दिनस्, मलाई कसरी चिन्छेस्’ भन्दै हप्काउँछन्।’
आँखा नदेख्ने सरिताको भोगाइ सुनेर विक्रान्तका आँखा खुले।
कार्यक्रम संयोजक लुना श्रेष्ठ ठाकुरसँग भेटेर दृष्टिविहीनहरूको समस्या कसरी कम गर्ने भनी छलफल भयो। लुनाले यसअघि पनि दृष्टिविहीन महिलालाई आत्मरक्षा तालिम दिने प्रयत्न गरिसकेकी थिइन्। विक्रान्तलाई भेटेपछि अभियानकै रूप लियो।
विक्रान्तको समूहले सरितालगायत थुप्रै दृष्टिविहीन महिलासँग अन्तर्वार्ता गर्यो। उनीहरूका साझा समस्या, खुबी र कमजोरी पहिचान गर्यो। र, त्यसै आधारमा कोर्स डिजाइन गर्यो।
‘हामीले तीन महिना लगाएर उहाँहरूका इन्द्रीय क्षमता अध्ययन गर्यौं। मान्छेको निकटता कसरी महशुस गर्नुहुन्छ, उहाँहरूको स्मरणशक्ति, सुन्ने क्षमता मापन गर्यौं। हामीले के थाहा पायौं भने, आँखा नदेख्नेको कमजोर पक्ष भनेको आँखा मात्र रहेछ, अरू सबै इन्द्रीय हाम्रोभन्दा कहाँ हो कहाँ चनाखो,’ विक्रान्तले भने, ‘हामीले उहाँहरूका यस्ता सबल पक्ष राखेर कोर्स बनायौं।’
दृष्टिविहीनलाई सिकाउनमा मार्सलआर्ट गुरू उद्धवको ठूलो परिश्रम रहेको विक्रान्त सम्झन्छन्।
‘उद्धव गुरूले उहाँहरूका हरेक ‘मुभ्स’ लाई शब्दमा ढाल्नुभयो,’ उनले भने, ‘दृष्टिविहीनको अवस्था हेरेर जन्मजात नदेख्ने, पछि नदेख्ने भएका र आंशिक देख्नेहरूका लागि छुट्टाछुट्टै कोर्स डिजाइन गर्नुभयो।’
जन्मजात नदेख्नेलाई सिकाउनु चुनौतीपूर्ण थियो। शारीरिक 'मुभ्स' बुझाउन गाह्रो पर्थ्यो। तै लत्तो छाडेनन्। दस दिनमै उनीहरू हातगोडा चलाउन समर्थ भए। यसमा ती महिलाको लगन पनि कम्ता थिएन।
दृष्टिविहीन प्रशिक्षार्थीको पहिलो ब्याचमै सामेल थिइन्, सावित्री पौडेल। जो यति लगनशील थिइन्, पखाला चल्दा पनि तालिम छुटाइनन्।
एकान्तकुनास्थित ‘शस्त्र सेक्युरिटी’ को कार्यालयमा हामीले भेट्दा सावित्री ‘बक्सिङ प्याड’ मा जोशिला मुक्का बजार्दै थिइन्।
‘वान, टू, थ्री, फोर’, ‘वान, टू, थ्री, फोर’ भन्दै उनलाई ‘मुभ्स’ सिकाइरहेका गुरू उद्धव आफैं पनि सावित्रीको लगनप्रति कायल छन्।
‘पाँच वर्ष भइसक्यो सिकेको। उहाँ एकचोटि सिकेको मुभ्स कहिल्यै बिर्सनु हुन्न। उहाँको हातको बल र उत्साह देखेर कहिले त म आफैं छक्क पर्छु,’ असिनपसिन भएर आराम गरिरहेकी सावित्रीतिर गर्वसाथ हेर्दै उनले भने, ‘उहाँलाई हेर्दा मलाई सधैं सन्तुष्टि हुन्छ। केही त गरियो भन्ने सोचेर आफैं दंग पर्छु।’
सावित्रीको घर स्याङ्जा, प्रगतिनगर हो। उनी आठ वर्षअघि काठमाडौं आएकी थिइन्। कलेज पढ्न। पशुपति क्याम्पस, चाबहिलबाट ‘प्लस टू’ गरिन्। पद्मकन्याबाट स्नातक र स्नातकोत्तर। उनी पद्मकन्याकै होस्टल बस्छिन्।
सार्वजनिक यातायात र बाटोमा यसै हिँडडुल गर्दा पनि महिलामाथि दुर्व्यवहार हुने गरेको उनी बताउँछिन्। ‘हाम्रो लागि लड्न कोही आउँदैन। हामी आफैंले लड्ने हो,’ उनले भनिन्, ‘यो आत्मरक्षा तालिमले हामीलाई लड्न सिकाउँछ। लड्ने आत्मबल दिन्छ।’
उनले आफ्नै अनुभव सुनाइन्।
तालिम निम्ति बत्तीसपुतली जाँदै थिइन्। गाडी चढिन्। ठूलो पानी दर्कियो। छाता थिएन। गाडीचालकले भने, ‘हामी जोरपाटी गएर फर्किने हो, ढिलो नभए बसिराख्नुस्। यो झरीमा नओर्लिनुस्।’
गाडीचालकले देखाएको सद्भावमा उनलाई पूरा विश्वास थिएन। तै डराइनन्। ओर्लिंदा पनि ओर्लिनन्। उनलाई आफूले लिएको ‘फाइट–ब्याक’ तालिमप्रति विश्वास थियो।
‘धन्न केही भएन। केही भएको भए प्रतिकार गर्न म तयार थिएँ,’ उनले भनिन्।
धनगढीबाट आएकी शिल्पा ढुंगेल आत्मरक्षामा सहभागी अर्की दृष्टिविहीन हुन्। उनले ‘प्लस टू’ देखि स्नातकोत्तरसम्म पशुपति क्याम्पसमै पढिन्। जन्मजात दृष्टिविहीन उनी कपनको एउटा होस्टलमा बस्छिन्। र, लोकसेवा तयारी गर्दैछिन्।
काठमाडौंमा बस्न थालेदेखि उनलाई अरू ठाउँ त होइन, सार्वजनिक यातायातमा निकै डर लाग्छ। सिट पाउँदा त ठिकै छ, घन्चमन्चबीच उभिएर बस्नुपर्दा उनलाई चारतिरबाट आफूलाई कोतरिएझैं लाग्छ।
‘त्यो बेला म असहाय महशुस गर्थें,’ २६ वर्षीया शिल्पाले भनिन्, ‘सबैसँग डराएर जीउ खुम्च्याएर बस्नुको विकल्प थिएन। अचेल डराउँदिनँ। जीउ खुम्चाउँदिनँ। फुकाएर बस्छु। कसैले गलत नियत राखेर हात लगाउन खोजे सहेर बस्दिनँ। हप्काइहाल्छु। उसै परे पछार्न पनि सक्छु।’
उनले आक्रमण गर्न खोज्ने पुरुषको संवेदनशील अंगमा कुहिना र घुँडाले कसरी तुरुन्तै हिर्काउने भनी जानेकी छन्।
यस्तै सिकाइको परिणाम हो, काभ्रेकी एक किशोरीले सार्वजनिक बसमा आफूमाथि हात लगाउने तीन जना केटालाई ठाउँको ठाउँ पछारेकी थिइन्।
आफूसँग तालिम लिएकी ती किशोरीको यस्तो साहसले थप हौसला पाएको विक्रान्त बताउँछन्।
तालिम विस्तार हुँदै गएपछि विभिन्न संघ–संस्था विक्रान्तसँग जोडिन पुगे। युकेएडकी करुणा उप्रेतीले डान्स रेस्टुरेन्ट, दोहोरी लगायतमा काम गर्ने महिलालाई तालिम दिन आग्रह गरिन्। विक्रान्त राजी भए। यो उनका लागि पनि नयाँ क्षेत्र थियो।
‘उहाँहरूको केसमा हामीले ‘मौखिक आत्मरक्षा’ को तरिका सिकायौं,’ उनले भने, ‘शारीरिक आत्मरक्षा गर्दा उहाँहरूको जागिरमा समस्या आउँथ्यो। त्यसैले मौखिक रूपमा बलियो हुन सिकायौं।’
विक्रान्तले आत्मरक्षा तालिम दिन थालेको पाँच वर्ष भयो। त्यतिबेला जुन छोरीलाई उनले असुरक्षित देखेका थिए, उही पनि १० वर्ष लागिसकिन्। घरमा बाबुसँग मार्सलआर्टका थोरबहुत तकनिक सिक्दासिक्दै कराँते कक्षा जान थालिन्।
वेदिका पाण्डे ‘ग्रिन बेल्ट’ छिन्। शस्त्र सेक्युरिटीको अफिसमै आएर दिनहुँ आत्मरक्षा अभ्यास पनि गर्छिन्।
‘मैले बुबाले सिकाउनुभएको ‘मुभ्स’ हरू समेटेर ‘फाइट–ब्याक’ को सानो किताबै तयार पारेकी छु। त्यही किताब हेरेर साथीहरूलाई सिकाउँछु,’ सेन्ट जेभियर्समा ५ कक्षा पढ्ने उनले भनिन्, ‘म त पछि मार्सलआर्टकै गुरू बन्ने हो।’
विक्रान्तको ‘सपना’ पनि यही हो।
‘मेरी छोरी कमजोर छैन। हाम्रा कोही पनि छोरीहरू कमजोर छैनन्,’ उनले भने।
‘म छोरीहरूमा यही आत्मबल जगाउन खोजिरहेको छु। यो समाजसँग लड्न–भिड्न सिकाउन खोजिरहेको छु। ताकि, भोलि कोही पनि निर्मला र कोही पनि निर्भयालाई कसैले आँखा लगाउन नसकोस्।’