पोखरामा भएका पार्कलाई संरक्षण गर्दै पोखरा महानगरपालिकाले खुला व्यायामशाला बनाउने योजना ल्याएको छ। खुला व्यायामशाला निर्माणका लागि महानगरले यस आर्थिक वर्षमा ९० लाख बजेट समेत छुट्टाएको छ।
नागरिकलाई स्वास्थ्य राख्ने उद्देश्यले महानगरपालिकाले पार्कमा व्यायाम गर्न आवश्यक उपकरण राख्ने योनजा ल्याएको छ।
‘पार्कमा बन्ने मात्रै हैन शारीरिक व्यायाम गर्न उपयुक्त व्यायामका सामग्री राख्ने योजना छ।’
पोखरा महानगपालिकाका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले भने–‘ पोखराका ९ स्थानमा यस वर्ष बनाउनका लागि स्थानको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने छौं।’
अन्तर्राष्ट्रिय सहरमा पार्कमा व्यायाम गर्न आवश्यक उपकरण राखिएको हुन्छ। खुला व्यायामशालामा साइक्लिङ, भीमतान्ने फलाम जडान, सेटअप गर्ने लगायत शारीरिक व्यायामको लागि आवश्यक उपकरण राख्ने योजना महानगरपालिकाको छ।
पार्कमा व्यायामशाला बनाएपछि बिहान र बेलुकी टहलिने सर्वसाधारणले शारीरिक व्यायाम समेत गर्न पाउने महानगरपालिकाले जनाएको छ। प्रत्येक पार्कमा छुट्टाछुट्टै प्रकृतिका सामानहरू राख्ने तिमिल्सिनाले बताए।