पद्मकन्यामा डिग्री पढ्दै कृषिमा सक्रिय युवतीको कथा:
गीता रिजाल जिम्मेवार हुँदै गइन्, जब एक्लो भाइले एसईई परीक्षा पास गरे। सात दिदीबहिनीका एक्लो भाइ भएका कारण १४ वर्षीय बसन्त रिजाल ‘भाग्यमानी’ छन्।
उच्च शिक्षाका लागि उनले बुढेसकालमा आमा-बाबुलाई दुःख दिनु परेन। गाउँमै बसेर पढ्नु पनि परेन।
गीताको सपना भाइलाई डाक्टर बनाउने हो।
लक्ष्य ठूलो छ, जिम्मेवारी उति नै निभाउनु छ। भोलि आफ्नो सपना तल-माथि नहोस्, गीता यसैमा सचेत छिन्।
माइली र पढेलेखेकी दिदी भएका कारण बसन्त ढुक्क छन्। धादिङको विकट क्षेत्रबाट एसईईमा ए ग्रेड ल्याएका बसन्त राजधानी आइसकेका छन्।
गीतासँग ठूलो व्यवसाय छैन, भाइलाई सुखले पढाउन। तर, आम्दानीको स्रोत जे छ त्यसले आत्मविश्वास भने दिएको छ।
भक्तपुर सूर्यबिनायक-१ सिरूटार (बस्नेतगाउँ)मा गोलभेंडा खेती गरिरहेकी रिजाल त्यसैको आम्दानीले भाइलाई डाक्टर बनाउन चाहन्छिन्। परिपक्व भइसकेकी गीताको प्राथमिकता अहिले आफ्नो घरजम हैन, भाइलाई पढाउने हो।
‘बुवा-आमालाई बुढेसकालमा जिम्मेवारी थोपर्न मनले मानेन,’ गीता भन्छिन्, ‘एउटै भाइ त हो, उसको भविष्य बनाउने दायित्व मैले लिएकी हुँ।’
बस्नेत गाउँमा उनले छ रोपनी जग्गा भाडामा लिएकी छिन्। त्यसैमा उनी गोलभेंडा खेती गर्छिन्। २०६८ सालदेखि थालेको गोलभेंडा खेतीले अहिलेसम्म बहिनीहरू, भाइ र बुवा-आमाको खर्च टारिरहेकी छिन्।
अब यी सबैतिर हुने खर्चहरूलाई न्यूनीकरण गर्न आवश्यक छ। भाइ सामाखुसीस्थित लर्डबुद्ध कलेजमा एचए भर्ना भइसकेका छन्। पेइङमा भर्ना भएका वसन्त सरकारी छात्रवृत्ति कोटामा पढ्न पहल पनि गरिरहेका छन्।
गीता आफैं शिक्षित युवती हुन्। उनी पद्मकन्या क्याम्पसमा डिग्री पढिरहेकी छिन्। आफू शिक्षित भएका कारण भाइ डाक्टर भएको हेर्ने उनको चाहना हो। भाइले पनि लगनशीलता देखाएका छन्।
‘म डाक्टर बनेर धादिङका गाउँलेहरूको सेवा गर्न चाहन्छु,’ बसन्त मुसुक्क हाँसे।
पद्मकन्यामा डिग्रीसम्म पढ्न, भाडामा जमिन लिएर गोलभेंडा खेती गर्न गीताले निकै संघर्ष गरिन्। धादिङ सिद्धलेख गाउँपालिका वडा नम्बर ६ की गीता २०६४ सालमा उच्च शिक्षा हासिल गर्न काठमाडौं आएकी थिइन्। गाउँकै आदर्श उच्च माविबाट प्लस टु सकेपछि गीता राजधानी हिँडेकी थिइन्।
‘त्यतिबेला काठमाडौं जाँदा राम्रोसँग पढ्न पनि पाइन्छ, जागिर पनि पाइन्छ भन्ने लागेको थियो,’ गीताले भनिन्, ‘तर, हैन रहेछ, यहाँ त संघर्ष पो गर्नुपर्ने रहेछ।’
सामाखुसीमा बसेर दुई वर्ष जागिर खाइन्। कुपण्डोलस्थित विकास स्रोत परिचालनमा दुई वर्ष काम गरेपछि आफैं केही गर्ने जाँगर पलायो।
विकास स्रोत कृषि क्षेत्रमा सक्रिय संस्था थियो। थोरबहुत त्यहीँबाट कृषि क्षेत्रको जानकारी पाइन्। कृषक परिवारमा हुर्किएकी हुनाले सिक्न गाह्रो परेन। जागिर सिलसिलामा गोदावरीमा रहेको एउटा कृषि फार्म अवलोकन गर्दा उनी प्रभावित भएकी रहिछन्।
जागिर राम्रै थियो, त्यतिबेलाको १२-१५ हजार चानचुने रुपैयाँ थिएन। जागिर मात्र खाने हैन पढाइ पनि प्राथमिकतामा थियो। २०६७ सालमा पद्मकन्या क्याम्पसमा बिए भर्ना भएन्।
एक्लोदोक्लो डेरा बस्न चुनौती थियो। सुरक्षाका हिसाबले पनि। महिलाहरू मात्र पढ्ने पद्मकन्यामा होस्टेल झनै सुरक्षित थियो। तर, होस्टेल बस्ने विचार गरिरहँदा कृषि फार्म खोल्ने सोच आयो।
भिनाजू बानेश्वरमा बसेर सरकारी जागिर खान्थे। उनकै सल्लाहमा कृषि फार्म खोल्ने तयारी गरिन्।
सूर्यबिनायकमा जग्गा भेटियो। जग्गाधनी अमेरिका जान लागेका थिए। त्यही मौकामा उनले जग्गा भाडामा लिइन्।
आफ्नै लगानीमा गोलभेंडाका बिरुवा रोप्ने निर्णय गरिन्। १७-१८ लाख ऋण खोजिन्। ‘अर्काको जग्गामा बैंकले ऋण दिने कुरा भएन, आफन्त, घर र साथीभाइकहाँ ऋण लिएर फार्म सुरू गरेँ,’ उनले भनिन्।
फार्म बनाउन बाँस, सिँचाइ सामग्री, छानो, टहरो आवश्यक थिए। ती सामग्री जुटाइन्। आफ्नै लगानीबाट फार्म सुरू भयो।
सुरूमै ५० हजार केजीसम्म गोलभेंडा बिक्री भयो। ‘सबैथोक कटाउँदा वर्षको एक लाखसम्म बचाउन सकिन्छ,’ उनले भनिन्।
२०६८ सालको पहिलो फसल टिप्दा गोलभेंडाको मूल्य २५ रुपैयाँ केजीदेखि ६५ रुपैयाँसम्म थियो। यो मूल्य बढेर पछि ८५ देखि १५० रुपैयाँसम्म पनि पुग्यो। तर, उनीहरूले ६५ रुपैयाँ भन्दा बढीमा गोलभेंडा बेच्न पाएनन्।
यसबेला उनको फार्ममा लटरम्म गोलभेंडा छन्। पहिलो सिजनमा १०-१५ रुपैयाँ मात्र मूल्य छ। यही मूल्यमा व्यापारीले बोटबाट गोलभेंडा किन्छन्, दोब्बर, तेब्बर मूल्य तोकेर बेच्छन्।
कालीमाटी फलफूल तथा तरकारी बजारमा कहिलेकाहीँ किसान आन्दोलन चल्छ। जब बिचौलियाहरूले तरकारीमा जथाभावी मूल्य तोक्छन्।
वास्तविक किसान जो हुन्, उनीहरूले मूल्य पाएका हुँदैनन्। तिनीहरू यो आन्दोलनको नेतृत्व गरिरहेका हुन्छन्।
गीता त्यस्ता आन्दोलनमा प्रायः देखिइरहने युवती हुन्। उनी जहाँ खेती गरिरहेकी छिन्, त्यति सहज पनि छैन। जग्गा आफ्नो हैन। अर्काको जग्गा भाडामा लिएर खेती गर्न सजिलो पनि छैन। तैपनि, टहरो ठड्याएर कृषि पेशा अंगालेकी उनलाई बिचौलियाहरूले मनपरी मूल्य तोक्दा रिस उठ्छ। नियन्त्रण गर्ने सरकारी निकाय मुक बसेको देख्दा वितृष्णा लाग्छ।
‘फिल्डमा तरकारीको मूल्य एकदमै कम रुपैयाँ दाम हुन्छ, बजारमा जे चलिरहेको छ, त्यो व्यापारीले मनखुसी निर्धारण गरिरहेका छन्,’ रिजाल भन्छिन्, ‘हामी किसानको बोटको मूल्य बालुवा बराबर हो।’
बजारमा जे मूल्य चलिरहेको छ, त्यसको आधारमा मूल्य पाउन किसानलाई गाह्रो रहेको उनी बताउँछिन्। ‘बजारमा चलेको मूल्य अनुसार केही तलमाथि पारेर बिक्री गर्न खोज्यो भने व्यापारीले सामान उठाउँदैनन्,’ उनी भन्छिन्, ‘तपाईंको सामान तपाईं नै राख्नुस्, अन्तबाट लैजान्छौं भन्छन्।’
उनले जब यो क्षेत्रमा गोलभेंडा खेती सुरू गरिन्, त्यो बेला उनी एक्लैको फार्म थियो। अहिले ४०-५० वटा फार्म भइसकेका छन्। प्रतिस्पर्धा उच्च छ।
‘एउटाले भाउ कसेर के गर्ने? प्रतिस्पर्धा भएपछि झुक्नै पर्दोरहेछ,’ गीता भन्छिन्।
यो प्रतिस्पर्धा गराउने उनी नै हुन्। उनले फार्म सुरू गर्दा काम गर्नेहरूले विस्तारै गोलभेंडा खेती सुरू गरे। ‘मेरोमा सिकेर गएकाहरूले आफैं फार्म खोलेका छन्,’ उनले भनिन्, ‘मैले थालेको कृषि पेशा गाउँभरि फैलिँदा गर्ब लागेको छ।’
अहिले त काम गर्ने मान्छे खोजे पनि नपाइने गरेको उनी बताउँँछिन्। गीता एक्लैले फार्मको जिम्मेवारी निभाउँछिन्। अन्तरी बहिनी पार्वती र भाइ बसन्तले सहयोग गर्छन्। पार्वती चार वर्षयता दिदीलाई सहयोग गर्दै आएकी छिन्। बुवा उमानाथ र अामा सुभद्रा गाउँमै छन्।
यहाँ भाडामा जग्गा लिएर खेती गर्दा राज्यबाट पाउने धेरै सुविधाबाट बञ्चित हुनु परेको गीताको अनुभव छ। खेती विस्तार गरौं, बैंकले अर्काको जग्गामा ऋण दिँदैन, अनुदान खोजौं ठेगाना मिल्दैन। कृषि परामर्शका तालिमहरूमा भने कहिलेकाहीँ अवसर मिल्छ।
यस्तो खेतीमा सरकारी अनुदान छ। ‘तर, स्थानीय निकायले स्थायी ठेगाना खोज्दोरहेछ, मेरो त धादिङको छ,’ उनी भन्छिन्, ‘ठेगाना नमिलेको भनेर दिँदैनन्।’ स्थानीय निकायमा निर्वाचितहरू यस्ता अनुदानमा ‘भोटर’ खोज्दा रहेछन्। ‘भोटर हैन भनेपछि त अनुदानमा बीऊ पनि दिँदैनन्,’ रिजालको गुनासो छ। ओत लगाउने प्लाष्टिक अनुदानमा पाइन्छ। त्यो पनि गीताजस्ता किसानले अनुभूति गरेका छैनन्।
सिँचाइ सुविधामा अनुदान नपाएपछि आफैं सिँचाइको प्रबन्ध मिलाएकी छिन्। इनार खनिन्। पानी तान्ने मेसिन, मौज्दात गर्ने ट्यांकी र सिँचाइ सामग्री आफैं किनिन्। पाइपबाट हरेक बोट-बोटमा पुग्ने ‘थोपा सिँचाइ प्रणाली’ चालु छ। यसले विरुवाको आवश्यकता अनुसार पानी दिन्छ।
रोप्ने बेलामा गाईको गोबर चाहिन्छ। सिँचाइका बखत एकपटक दुध पनि चाहिन्छ। दुधले गोलभेंडा फस्टाउन भिटामिनको काम गर्छ।
बिरुवा लगाउने उपयुक्त समय वैशाख हो। पहिलो फल दुई महिनाभित्र तयार हुन्छ। अहिले बजारमा आउने गोलभेंडा पहिलो सिजनको हो। एकपटक रोपेको गोलभेंडाले फागुनसम्म फल दिन्छ।
यसपालि गोलभेंडा राम्रै फलेको छ। काउलीको सिजन सुरू भएपछि लगाउँछिन्। त्यसबाट पनि आम्दानी हुन्छ। तर, उनको मुख्य खेती गोलभेंडा नै हो। एक वर्षमा कम्तीमा ५० हजार किलो गोलभेंडा फार्मबाट बजार जाने गरेको उनी बताउँछिन्।
गीताको माग पहिलो, किसानले बोटमा मूल्य तोक्न पाउन् हो। आफूले तोकेको मूल्यमा बजारमा तरकारी गए उपभोक्तालाई पनि राहत हुने उनी बताउँछिन्। ‘हामीले बेचेअनुसार बजारमा उपभोक्ताले किन्न पाउने हो भने टमाटर अहिले ३० रुपैयाँ किलोभन्दा बढी पर्दैन,’ उनले भनिन्।
दोस्रो, जग्गा भाडामै लिएर खेती गर्ने किसानलाई पनि अनुदान दिन सरकारसँग उनले माग गरिन्। कम्तीमा बिरुवाको बिमा र ओत लगाउने प्लाष्टिकमा अनुदान पाए कृषिमा निर्भरहरूले ठूलै राहत पाउने गीता बताउँछिन्।
पढेलेखेका युवा-युवतीलाई उनको सल्लाह छ- पढेलेखेर नेपालमै अात्मनिर्भर हुन सकिन्छ। कृषि पेशामा त झन् छुट्टै किसिमको अानन्द प्राप्त हुने गरेको उनी सुनाउँछिन्। ‘पढेलेखेर विदेशै जाने वा ठूला-ठूला संस्था ताकिरहन पर्दैन, थोरै लगानी गरेर कृषि क्षेत्रमा लागे अात्मनिर्भर भइन्छ,’ उनले भनिन्।