सुर्खेतमा घरेलु मदिरामा मोजाको प्रयोग भएको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको अवैध मदिरामा मोजाको प्रयोग भएको पाइएको हो।
दसैँ र तिहारलाई मध्यनजर गर्दै अवैध मदिरा नियन्त्रण गर्ने अभियानको पहिलो दिन शनिबार नियन्त्रित मदिरा नष्ट गर्ने क्रममा यस्तो पाइएको हो।
मदिरा बनाउने कच्चा पदार्थमा मोजा, चुरा, कपडा, अन्य फोहोरहरू, खान अयोग्य हुने चिजहरूको प्रयोग भएको पाइएको हो।
‘अत्यन्तै फोहोर चिज, जो कल्पनासम्म गर्न सकिँदैन, त्यस्ता वस्तुहरूको प्रयोग भएको हामीले पायौं। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक वसन्त रजौरेले भने, ‘अवैध मदिरा बनाउनेहरूले जनताको जीवनमाथि खेलवाड गरिरहेको यसबाट प्रष्ट हुन्छ।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार वीरेन्द्रनगरको झुप्रा र मंगलगढी क्षेत्रमा मदिरा नियन्त्रण अभियानअन्तर्गत अपरेशन गरेको एसपी रजौरेले बताए। त्यस क्रममा प्रहरीले कच्चा पदार्थ २ हजार लिटर, अवैध मदिरा ३५० लिटर बरामद गरेको छ।
यस्तै, ८ सेट मदिरा तयार पार्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेको छ।
नजिकिँदै गरेका दसैँ तथा तिहारलगायतका पर्वलाई शान्तिपूर्ण बनाउन अवैध मदिरा नियन्त्रण अभियान थालनी गरेको एसपी रजौरेले जानकारी दिए।
‘समाजमा सबैभन्दा बढी विवाद गराउने, झैझगडा हुने र दुर्घटना हुने भएका कारण हामीले अवैध मदिरालाई नियन्त्रण गर्ने अभियान सुरू गरेका हौं,’ उनले भने, ‘हाम्रो यो अभियानलाई सफल पार्न सबैबाट सहयोग पाउने प्रहरीको अपेक्षा छ।’
अब वीरेन्द्रनगरमा अवैध मदिरा विक्री–वितरण गर्ने र उत्पादन गर्नेहरुले पैसा दिएर बच्ने सम्भावना नभएको उनले बताए।
‘कसैले पैसा दिएर म बच्छु भन्ने सोच्छ भने त्यो दुर्भाग्यपूर्ण हुने छ उसका लागि,’ उनले भने, ‘शान्ति सुव्यवस्थामा कसैसँग कहिल्यै सम्झौता गरिने छैन।’