बाँसका भाटाले घेरेको रित्तो टहरो एकापट्टि छ। केही पानीका बोतल र चुरोटका खाली बट्टाहरू यताउता छरिएका छन्।
अर्कोपट्टि पक्की भवन छ। निर्माण हुँदाहुँदै छोडिएको भवनमा झ्याल-ढोका छैनन्। उदांगो त्यो दुई कोठे भवनभित्र सुकेका केही बाँस छन्।
त्यससँगै जोडिएको अर्को पुरानो तीन कोठे भवन पनि छ। सबै कोठा प्रायः खुल्दैनन्। स्थानीयका अनुसार अफिस कोठा यदाकदा खुलेको देखिन्छ।
आइतबार दिउँसो त कुनै कोठा खुलेका थिएनन्।
तीनमध्ये एउटा कोठा निकै लामो समयदेखि नखुलेजस्तो देखिन्छ। किनकि, त्यो कोठामा लगाइएको ताल्चामा अत्यधिक खिया लागिसकेको छ।
डेस्क, बेञ्चहरू मिलेका छैनन्। भुइँ फोहोरै फोहोर र भित्ता जालोले जेलिएको छ।
अर्को कोठामा केही कम खिया लागेको ताल्चा झुन्डिएको छ। यो कोठाभित्र त मकैका खोस्टा र खोयाहरू मात्रै छन्। सँगै एउटा मोटरसाइकल पार्किङ गरिएको छ।
यो कोठा हेर्दा धेरै फोहोर रहे पनि नियमितै खुल्नेजस्तो देखिन्छ। किनकि, यहाँ मोटरसाइकल छ।
भक्तपुर सूर्यविनायक नगरपालिका-४ अनन्त लिंगेश्वरमा रहेको यो स्कुल झट्ट हेर्दा विद्यार्थी पढ्ने नभएर गाईवस्तुका लागि घाँसपात राख्ने गोठजस्तो देखिन्छ। हुन पनि यो अनन्त लिंगेश्वर प्रा.वि.मा एक जना विद्यार्थी गएको कसैले देख्दैनन्।
विद्यालयनजिकै घर भएकी शारदा न्यौपानेले भनिन्, ‘स्कुले त एक जना पनि छैनन्, सरहरू आउने-जाने गर्नुहुन्छ।’
उनका अनुसार पहिले पाँच जना शिक्षक थिए। हिजोआज दुई जना आउँछन्। विद्यार्थी पढ्न जान छोडेपछि यो स्कुल बन्द भएको हो। स्कुल रेखदेख छैन। ‘एक जना पियन पनि हुनुहुन्छ,’ न्यौपानेले भनिन्।
उनका अनुसार २०७२ सालको महाभूकम्पअघि ८-१० जनासम्म विद्यार्थी पढ्थे। कार्यालय भवनमा केही क्षति भएपछि छेउमा टहरो ठड्याइयो। त्यसपछि त विद्यार्थी जानै छोडेको उनले बताइन्। ‘म त नपढेकी मान्छे अरू धेरै थाहा पाउँदिनँ,’ उनले भनिन्।
स्थानीयका अनुसार बोर्डिङजस्तै राम्रो पढाइ हुने स्कुल शिक्षकहरूको लापरबाहीका कारण यो दुराबस्थामा पुगेको हो। राम्ररी नपढाएकै कारण यहाँ छोराछोरी पठाउनुको औचित्य सकिएको स्थानीय बताउँछन्।
‘गाउँकै शिक्षक, गाउँकै हेडमास्टर छन्, भनौं के भनौं, नभनौं यस्तो भएको छ,’ स्थानीय कुमार गौतम भन्छन्।
उनका अनुसार वडाकै एउटा मात्र यो स्कुल बन्द भएपछि स-साना बालबालिकाले कम्ती सास्ती भोग्नु परिरहेको छैन। यातायात सुविधा नभएको यो ठाउँबाट हिजोआज प्राथमिक तह पढ्न कलिला बालबालिका एक घन्टासम्म त पैदलै हिँड्छन्।
अनन्त लिंगेश्वर डाँडाबाट धेरै टाढा कुलमाया भगवती आधारभूत स्कुल छ। यो सरकारी स्कुलमा उक्त डाँडाबाट विद्यार्थी धाउँछन्। यो झन्डै चार किलोमिटर टाढा छ।
गौतमका अनुसार गाम्चामा अरनिको अंग्रेजी बोर्डिङ स्कुल छ। दधिकोटमा रेम्बो अंग्रेजी स्कुल छ, त्यो पनि उति नै टाढा पर्छ। ‘कतिपय साना बालबालिका बोर्डिङ जान्छन्, कतिपय सरकारी स्कुलमा,’ गौतम भन्छन्, ‘सुरू-सुरूमा अभिभावकले तल खोल्सासम्म पुर्याइदिन्छन्, विस्तारै बानी लागेपछि आफैं लड्दै-पड्दै गइहाल्छन् नि!’
कुलमाया भगवती आधारभूत स्कुलबाट घर फर्किरहेका बालबालिका।
निजी स्कुल पढ्ने बालबालिका अनन्त लिंगेश्वर डाँडाबाट खोल्सोको पीपलबोटसम्म विद्यार्थी हिँड्छन्। त्यहाँसम्म स्कुलको गाडी आउँछ। जुन, दुई किलोमिटर टाढा छ।
कुलमाया भगवती आधारभूत विद्यालयबाट फर्किंदै गरेकी बालिका निरुता न्यौपानेले भनिन्, ‘छिटो हिँड्दा पैंतालिस, विस्तारै हिँड्दा सवा एक घन्टा लाग्छ।’ ८ मा पढ्दै गरेकी न्यौपाने पाँच कक्षासम्म सोही प्राथमिक विद्यालयमा पढेकी हुन्। उक्त स्कुलमा चार-पाँच महिनाअघि १/२ जना विद्यार्थी देखेको तर हिजोआज सुनसान रहेको उनी बताउँछिन्। ‘सरहरू आउनुहुन्छ, जानुहुन्छ,’ उनले भनिन्।
यही विद्यालयमा पाँच कक्षासम्म पढेकी सफलता न्यौपानेका अनुसार पहिले स्कुलको अवस्था यस्तो थिएन। भूकम्प गएपछि स्कुलमा विद्यार्थी अत्यधिक न्यून हुँदै गएको उनले बताइन्। हाल चितवनमा स्नातकोत्तर गर्दै गरेकी सफलता भन्छिन्, ‘हामी हुँदा अंग्रेजी माध्यममा पढाइ हुन्थ्यो। डेढ सयसम्म विद्यार्थी हुन्थे।’
अभिभावकका अनुसार दैलोमै स्कुल हुँदाहुँदै छोराछोरी टाढा पठाउनु बाध्यता बनेको छ। ‘गाउँमै स्कुल छ, हामी किन यति दुःख गरिरहेका छौं त?,’ कुमार गौतम भन्छन्, ‘राम्रो भएको भए यहीँ पढाउँथ्यौं नि!’
यो गाउँमा ५० घरधुरीभन्दा बढी छन्। २०-२५ घर अनन्त लिंगेश्वर डाँडाबाट केही तल सरिसके। यहाँका सबै स–साना बालबालिका प्राथमिक तहको शिक्षाका लागि ठूलो संघर्ष गर्छन्। ‘बर्खामा त बाटो हिँडिनसक्नु हुन्छ,’ गौतमले भने, ‘यस्तो, अप्ठेरो बाटो भएर कलिला केटाकेटी पठाउनुपर्छ।’
विद्यालयका प्रधानाध्यापक नरहरि न्यौपानेले भने स्कुलमा विद्यार्थी पढिरहेको दाबी गरे। ‘चार–पाँच जना विद्यार्थी नियमित आइरहेका छन्,’ उनले भने, ‘एक सातादेखि स्कुल बन्द गरिएको छ।’ भवन निर्माणको अधुरो काम पूरा गर्न स्कुल बन्द गरिएको उनले बताए। तर, भवन निर्माणको काम भने भइरहेको देखिँदैन।
२०५१ सालमा स्थापना भएको यो स्कुलमा महाभूकम्पपछि विद्यार्थी आउन छोडेको उनको दाबी छ। उनका अनुसार सुरूमा ८ जना शिक्षकको दरबन्दी थियो। कटौती हुँदै पाँच जनाबाट अहिले दुई जना मात्र छन्। ‘म मात्र स्थायी शिक्षक हुँ,’ उनले भने।
निर्माण सम्पन्न भइनसकेको स्कुलको भवन
प्राथमिक तह अध्ययन सकेका विद्यार्थी अन्यत्र जाने र उनीहरूसँगै स-साना बालबालिका पछि लाग्ने गरेका कारण स्कुलमा विद्यार्थी नभएको उनी बताउँछन्। ‘ठ्याप्पै नभएको भने चाहिँ हैन, एक दुई जना त आउँछन्,’ उनले दाबी गरे। तर, स्कुलको अवस्था हेर्दा भने विद्यार्थी आउने गरेको पत्याउनै मुस्किल छ।
प्रधानाध्यापक न्यौपानेले स्थानीय निकाय र स्रोत व्यक्तिसामू यो कुरा राखिसकेको बताए। ‘कि स्कुल खारेजको सिफारिस गरौं, कि मर्ज गरौं, कि चलाऔं भनेको छु,’ उनले भने, ‘उहाँहरूले एक वर्ष कुरौं भन्नुभएको छ।’ आफूले वर्षौंदेखि चलाइरहेको स्कुल खारेज सिफारिस गर्न मन नलागेको उनी बताउँछन्।
गत वैशाख महिनामा ४ नम्बर वडाका सदस्य तारा सापकोटाको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति गठन भएको थियो। समितिले पनि स्कुल चलाउन नसकेपछि विद्यार्थी शून्य भएको स्थानीय बताउँछन्। तर, न्यौपाने भने सात-आठ जना विद्यार्थीको तथ्यांक राखिएको बताउँछन्। उनले विद्यार्थी संख्या यकिन गर्न सकेनन्, नियमित हाजिर हुनेको संख्या पनि दिएनन्।
अनन्त लिंगेश्वर प्रा.वि.को कार्यालय।
अनन्त लिंगेश्वर डाँडाका अधिकांश घर महाभूकम्पका बखत भत्किएका थिए। केही घरबाहेक प्रायः सबै बनिसकेका छन्। भक्तपुर क्षेत्र नम्बर २ ले समेट्ने यो क्षेत्र राजनीतिक रूपले पनि चेतनशील छ। भक्तपुरबासी भएर पनि प्राथमिक शिक्षाको प्रत्याभूति नभएकाले अभिभावकहरू छोराछोरी टाढासम्म हिँडाएर पढाउँछन्।