२००६ साल जेठमा बुटवलका समाजसेवीद्वय ओमशंकर श्रेष्ठ र सत्यलाल श्रेष्ठ नजरबन्दमा परे। भैरहवाका तत्कालीन बडाहाकिम लक्ष्मीनाथको आदेशमा पक्राउ परेका उनीहरूलाई ९ महिनासम्म भैरहवा जेलमा नजरबन्दमा राखियो।
पुस्तकालय सञ्चालन गरी तत्कालीन राणा शासनविरूद्ध नागरिकमा राजनीतिक र सामाजिक चेतना ल्याउन खोजेको अभियोगमा उनीहरूलाई जेल चलान गरिएको थियो।
राजनीतिक पार्टीहरू प्रतिबन्धित रहेको अवस्थामा पनि साँस्कृतिक कार्यक्रम, प्रवचन, साहित्य गोष्ठी सञ्चालन गर्ने र विभिन्न पुस्तक तथा पत्रपत्रिकामार्फत् युवाहरूमा राणाशासनविरूद्ध चेतना जागृत गराउन बुटवलमा पुस्तकालय खोलिएको थियो।
२००७ सालमा प्रजातन्त्र ल्याउन महत्त्वपूर्ण योगदान पुर्याएको त्यही महावीर पुस्तकालय बुटवलमा छ भन्ने पछिल्लो पुस्तालाई भने जानकारी छैन।
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बुटवलको तिनाउ पुल तर्ने बित्तिकै सडकदेखि १ सय मिटरमा यो पुस्तकालय छ। जेठो पुस्तकालय भनेर चिनिने पाल्पाको धवल पुस्तकालयपछि २००४ साल असार महिनाको हरिशयनी एकादशीको दिन महावीर पुस्तकालयको स्थापना भएको मानिन्छ।
निरंकुश राणा शासनविरूद्ध युवाहरूलाई संगठित गर्दै शैक्षिक ज्योति छर्ने उद्देश्यका साथ बुटवलका तत्कालीन उत्साही युवाहरू ओम शंकर श्रेष्ठ, हिक्मत प्रसाद श्रेष्ठ, जोगलाल बजिमय, सत्यलाल श्रेष्ठ, टोप बहादुर श्रेष्ठ लगायतको पहलमा यो पुस्तकालय स्थापना गरिएको थियो।
खाद्यान्न तथा लत्ताकपडा किनबेच गर्न वर्षौदेखि नै बुटवलमा व्यापारीहरूको आवतजावत हुने गर्थ्यो। टांगा, घोडा तथा डोकोमा बोकेरै भए पनि बुटवलमा आउने व्यापारीबाट राजीखुसी पैसा तथा अन्न उठाइन्थ्यो। यसरी दानवीर तथा महावीरबाट उठाइएको सहयोगबाट सञ्चालन भएको कारण यो पुस्तकालयको नाम महावीर राखिएको इतिहासका जानकार एवं पुस्तकालयका पूर्व अध्यक्ष देवेन्द्र शाक्य बताउँछन् ।
संस्थापकहरूको जेल चलानसँगै २००६ सालमा एक वर्ष बन्द भएको यो पुस्तकालय आर्थिक अभावका कारण २०४४ सालदेखि २०५० सालसम्म बन्द रह्यो।
२०५० सालदेखि यता आर्थिक अभावका कारण पुस्तकालय कहिल्यै बन्द गर्नु नपरे पनि पाठकहरूको अभाव भने सुरू हुन थाल्यो।
२००८ सालमा जडिबुटी राख्ने वनस्पति अड्डा खारेज भएपछि प्रदान गरिएको पुरानो भवन र समाजसेवी जंगप्रसाद अमात्यले प्रदान गरेको सवा ५ कठ्ठा गरी सात कठ्ठा क्षेत्रफलमा पुस्तकालय रहेको छ।
स्थापना भएको सात वर्षपछि २०११ सालमा तत्कालीन सरकारबाट स्वीकृत पाएको यो पुस्तकालय जिल्लाकै पहिलो संस्थाको रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको पुस्तकालयको दाबी छ।
निरंकुश राणाकालमा पुस्तकालयको स्थापनाको लागि जसरी मेहेनत गरियो त्यो अनुरुप हाल भने स्थानीयवासीहरूको समेत चासो घट्दै गएको समाजसेवी निर्मल प्रसाद लाकौल बताउँछन्।
सामाजिक सञ्जाल तथा सूचना प्रविधिमा पहुँचसँगै पुस्तकालयमा आएर पुस्तक अध्ययन गर्ने पाठकहरूको संख्या नगण्य हुने गरेको छ।
पाठकहरू जान छोडेपछि पुस्तकालय दिउँसो ४ बजेदेखि ६ बजेसम्म दुई घण्टा मात्र खुल्ने गरेको छ। सचिव पौडेलले पाठकहरू आउन छोडेपछि पुस्तकहरूमा धमिरा लाग्न थालेको बताउँछन्।
पुस्तकालयमा बालबालिकाहरूका लागि बाल कर्नर, मावि र उच्च माविका विद्यार्थीहरूका लागि छुट्टाछुट्टै पढ्ने स्थानको व्यवस्था गरिए पनि पुस्तकालयमा पर्याप्त पुस्तक छैनन्। पुस्तकालयका सचिव बाबुराम पौडेलले पुस्तकालयमा हाल ८ हजार पुस्तक रहेता पनि अधिकांश पुस्तकहरू अत्यन्त पुराना भएका कारण पाठकहरूको रोजाइमा पर्न छोडेको बताउँछन्। पुस्तक पढ्ने पाठकहरु जान छोडेपछि पछिल्लो ६/७ वर्ष यता पुस्तकालयमा कुनै पुस्तक थपिएका छैनन् ।
दाताहरूकै सहयोगमा सञ्चालित यस पुस्तकालयमा पछिल्लो समय पुस्तक दान गर्नेहरू घट्दै गएका छन्। पुस्तक दान गर्नेहरूले पनि आफूलाई काम नलाग्ने र घरमा व्यवस्थापन गर्न असजिलो हुने भएपछि मात्र दिने गरेको पौडेलले बताए।
पुरानो वनस्पति अड्डालाई सरकारले महावीर पुस्तकालय राख्न अनुमति दिए पनि त्यसयता थप सहयोग नगरेका कारण पुस्तकालय भवन निजी विद्यालयलाई भाडामा दिँदै आएको छ।
वरिपरिको प्राकृतिक वातावरण र भौतिक साधन स्रोतले अत्यन्त उपयुक्त भए पनि पुस्तकालयका पाठक भनेकै त्यही सञ्चालित निजी विद्यालयका विद्यार्थी बनेका छन्।
पाठकहरूको आवतजावत हुन छोडेपछि पुस्तकालयको पुरानो भवनमा चमेरा बस्न थालेका छन्। किताबहरूमा पनि धमिला र मुसाको घर बन्न थालेका छन् ।