उपकुलपतिले ‘कनिष्ठ’लाई रजिष्ट्रार सिफारिस गरेपछि काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय एक महिनादेखि रजिष्ट्रारविहीन छ।
रजिष्ट्रार भोला थापाले भदौ ७ गते दिएको राजीनामा भोलिपल्ट स्वीकृत भएको थियो। उपकुलपति प्राध्यापक डाक्टर रामकण्ठ माकाजुले छ महिनाअघि स्कुल अफ साइन्सका डिन नियुक्त सुबोध शर्मालाई रजिष्ट्रार सिफारिस गरेपछि बरिष्ठ प्राध्यापकहरूले असहमति राखेका छन्।
‘महिनादिन भयो विश्वविद्यालय रजिष्ट्रारविहीन छ’, विश्वविद्यालय स्रोतले सेतोपाटीसँग भन्यो, ‘रजिष्ट्रार नहुँदा प्राध्यापकहरू, कर्मचारीको तलब रोकिन्छ भने दैनिक प्रशासनिक काम हुन सकेको छैन।’ उपकुलपतिको सिफारिसमा प्रधानमन्त्रीसमेत रहेका कुलपतिले रजिष्ट्रार नियुक्त गर्ने विश्वविद्यालयको प्रचलन छ।
उपकुलपतिले विवादित छवि भएका तथा सबैभन्दा जुनियर डिन शर्मालाई रजिष्ट्रार सिफारिस गरेर विधि, प्रक्रियाविपरीत काम गरेको प्राध्यापकहरू दाबी गर्छन्। शर्मालाई डिन बनाउने बेलामा पनि प्राध्यापकले विरोध गरेका थिए।
‘काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले उतिबेलै शर्मालाई डिन स्वीकार्न सकिँदैन भनेर ४ महिना कार्यकक्ष बन्द गरेको थियो’, एक प्राध्यापकले सेतोपाटीसँग भने, ‘डिनमा अस्वीकार गरेकै व्यक्तिलाई उपकुलपतिले रजिष्ट्रार बनाउने चलखेल गरेपछि विरोध गरेका छौं।’
रजिष्ट्रारमा शर्माको विकल्प खोज्नु पर्ने प्राध्यापकहरूको माग छ।
‘नेकपा समर्थित प्राध्यापकहरू शर्मालाई रजिष्ट्रार बनाउन हुन्न भन्दैछन्’, अर्का प्राध्यापकले भने, ‘डिन शर्मा डेमोक्रयाटिक भएर पनि विरोध भएको हुनसक्छ।’
बरिष्ठताका आधारमा रजिष्ट्रार सिफारिस गर्दा अहिले परीक्षा प्रमुख रहेका पन्ना थापा तथा स्कूल अफ एजुकेशनको सहायक डिन बालकृष्ण लुइँटेल वा सिनियर प्रोफेसर जनार्द्धन लामिछानेमध्ये एकलाई रजिष्ट्रार बनाउनु पर्ने ती प्राध्यापकले बताए।
‘रजिष्ट्रार सिफारिसमा आर्थिक, प्रशासनिक चलखेल भएको छ। बरिष्ठता मिचिएको छ, विवादित छविकालाई सिफारिस गरिएको छ त्यसैले हामी आन्दोलनमा छौं’, उनले भने।
पूर्वरजिष्ट्रार थापाले राजीनामा दिँदा उपकुलपति माकाजुमाथि तीन आरोप लगाएका थिए। विश्वविद्यालयमा आउने पैसा व्यक्तिगत खाता खोलेर राखेको, सबै स्कुललाई समान हेर्नु पर्नेमा स्कुल अफ साइन्स धुलिखेल हस्पिटललाई मात्रै विश्वविद्यालयको पैसा लगानी गरेको र योग्यता पुगेका प्राध्यापकलाई पनि बढुवा नगरेको आरोप थापाको आरोप थियो।
धुलिखेलस्थित एक एनजिओको अस्पताललाई मेडिकल स्कुलको रूपमा सञ्चालन गर्ने गरी विश्वविद्यालयले २५ वर्षका लागि सम्झौता (एमओयू) गरेको थियो। त्यो विश्वविद्यालयको अस्पताल भने होइन। उक्त अस्पतालको निर्देशक उपकुलपति माकाजु नै छन्।
‘उपकुलपति अस्पतालको डाइरेक्टर भएकोले नै विश्वविद्यालयको आम्दानीका स्रोत त्यहीँ केन्द्रित गरे’, ती प्राध्यापकले भने।
उपकुलपति माकाजुले भने प्राध्यापकहरूले लगाएका आरोप अस्वीकार गरेका छन्। योग्य र क्षमतावान् शर्मालाई रजिष्ट्रार सिफारिस गरेको उनको दाबी छ।
‘प्रधानमन्त्री (कुलपति) व्यस्त हुनुभएकोले रजिष्ट्रार नियुक्तिमा ढिलो भयो। सम्भवत आज ५ बजेभित्रै कुलपतिले रजिष्ट्रार नियुक्त गर्नुहुन्छ’, उपकुलपति श्रेष्ठले सेतोपाटीसँग भने, ‘केही चलखेल भएको छैन। प्राज्ञिक ज्ञान, क्षमता भएको योग्य व्यक्तिलाई रजिष्ट्रार सिफारिस गरेको हो।’
जुनियरलाई रजिष्ट्रार सिफारिस गरेकोमा प्राध्यापकले विरोध गरेका छन् नि भन्ने प्रश्नमा उपकुलपति श्रेष्ठले भने, ‘विरोध हुनु स्वभाविक नै हो। कहिलेकाहीँ जुनियर भनिएका पनि योग्य र क्षमतावान् हुन्छन्।’
डिनहरूबाट नै रजिष्ट्रार सिफारिस गर्ने भएकोले सिफारिस भएकालाई कुलपतिले नियुक्त गर्ने उनले दाबी गरे।
मानविकी, व्यवस्थापन, वाणिज्य, इन्जिनियरिङ, चिकित्साशास्त्रजस्ता विधामा पढाइ हुने केयुमा १५ हजार बढी विद्यार्थी छन्।