करिब चार महिनाअघि सुर्खेतको पश्चिमस्थित पञ्चपुरी नगरपालिकास्थित बाबियाचौर बजार नजिकै अटो रिक्सा दुर्घटना भयो। उक्त दुर्घटनामा दुई जना यात्रुको मृत्यु भयो। प्रहरीले घटनाको प्रकृति अध्ययन गर्दा टाढाबाट सवारी बोकेर गएको र तीव्र गति भएकोले दुर्घटना भएको देखियो।
भदौ ३१ गते पनि मध्याह्न सुर्खेतमा अटो रिक्सा दुर्घटना भयो। दुर्घटनामा घाइते भएकी ७१ वर्षीया गंगादेवी रामजालीको उपचारका क्रममा त्यही दिन बेलुका अस्पतालमा मृत्यु भयो। पश्चिमको पर्ने हुर्के भन्ने ठाउँबाट वीरेन्द्रनगर आउँदै गरेको अटो रिक्सा अनियन्त्रित भएर पल्टिएको प्रहरीले बतायो। सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गतको उक्त बाटो पक्की छ। पक्की तर साँघुरो बाटोमा अटो रिक्साको तीव्र गतिका कारण दुर्घटना भएको हो ।
पछिल्लो समय प्रायः मानिस अटो रिक्साको भरपर्ने गरेका छन्। बजार क्षेत्रमा जताततै भेटिने अटो–रिक्सा त्यस क्षेत्रमा पुग्ने नयाँ आगन्तुक तथा स्थानीय बासिन्दाहरूका लागि छोटो दूरीसम्मको गन्तव्यमा पुर्याइदिने विकल्पका रूपमा स्थापित भैसकेका छन्। विमानस्थल, बसपार्क जस्ता ठाउँहरूबाट स्थायी तथा निश्चित गन्तव्यसम्म पुग्न वैकल्पिक सवारी साधनका रूपमा स्थापित अटोरिक्साहरू त्यतिकै असुरक्षित पनि बन्न थालेका छन्।
सुर्खेतको पछिल्लो तथ्यांकलाई हेर्दा चालू आर्थिक वर्षको तीन महिनामा तीनओटा अटोरिक्सा दुर्घटना भएका छन् । तीमध्ये एक दुर्घटनामा मानिसको मृत्यु भएको छ भने बाँकी दुइटा दुर्घटनामा घाइते मात्र भएका छन्। घाइते हुने गरी भएको रिक्सा वीरेन्द्रनगर उपत्यकाभित्र छोटो दूरीको यात्राका क्रममा दुर्घटना भएका हुन् भने मृत्यु हुने गरी भएको दुर्घटना उपत्यका बाहिर लामो दूरीको यात्राका क्रममा भएको हो। यसरी हेर्दा अटो–रिक्सा दुर्घटना हुनुको मुख्य कारण छोटो दूरीमा मात्र चल्नुपर्ने साधन भौगोलिक कठिनाइ भएको लामो दूरीमा समेत चल्नु मान्न सकिन्छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतको वीरेन्द्रनगर उपत्यकाभित्र रूट परमिट लिएर सञ्चालनमा रहेका ८ सय अटो–रिक्सा सञ्चालनमा छन्। ती रिक्साहरूमा कतिपय रिक्सा उपत्यकादेखि बाहिर कम्तीमा पनि २६ किलोमिटरसम्मको दूरीमा चल्छन्। उपत्यकादेखि छिन्चु, बड्डीचौर, गोठीकाँडा जस्ता लामो दूरीमा पनि अटो–रिक्साहरू चल्ने गरेका छन्। वीरेन्द्रनगर उपत्यकादेखि छिन्चु २७ किलोमिटर, बड्डीचौर २५ किलोमिटर र गोठीकाँडा करिब १४ किलोमिटरको दूरी छ। ती स्थानहरू तीन भौगोलिक रूपमा अप्ठ्यारा छन्।
यसरी भौगोलिक कठिनाइ भएको लामो दूरीको यात्रामा तीन पाङ्ग्रे साना सवारी साधन हिँडाउँदा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर विसी बताउँछन् ।
प्रहरी निरीक्षक विसीका अनुसार गत आर्थिक वर्ष २०७४/०७५ मा चार जनाको अटोरिक्सा दुर्घटनाबाट मृत्यु भएको छ भने तीनवटा रिक्सा दुर्घटना भएका छन्। ट्राफिक प्रहरी कार्यालयमा भएको यो तथ्याङ्क भने मृत्यु हुने गरी भएका रिक्सा दुर्घटनाको मात्र हो। सामान्य रूपमा त यो भन्दा धेरै दुर्घटना भएको हुन सक्ने सुर्खेतका ट्राफिक प्रमुख विसीले बताए।
सुर्खेतमा रहेको ‘सिद्धपाइला अटोरिक्सा प्रालि’का अध्यक्ष पदम बम अटोरिक्साहरूले समथर व्यवस्थित बाटो, समथर भूभाग तथा छोटो दूरीमा मात्र चल्ने गरी रूट परमिट पाउने गरेको बताउँछन्। यसरी रूट परमिट पाएको भएपनि जबर्जस्ती अप्ठ्यारो र लामो दूरीमा चलाउने गरेका कारण दुर्घटना हुने गरेको उनको भनाइ छ।
‘खासै कार्यविधि नभए पनि अहिले अटोरिक्सालाई नगरपालिकाभित्र पर्ने समथर र व्यवस्थित बाटोमा मात्र रूट परमिट दिइन्छ,’ अध्यक्ष बमले भने, ‘चालकको मनोमानी हो या जिद्दी यसले लामो दूरीमा चलाउने गरेकाले दुर्घटना भएका छन्।
उनका अनुसार सिद्धपाइला अटोरिक्सा प्रालिमा आबद्ध रहेका चारओटा अटोरिक्सा मानवीय क्षति हुने गरी दुर्घटना भएका छन्।
अटोरिक्सा दुर्घटनालाई न्युनिकरण गर्नका लागि रिक्साको दाहिने भागमा फलामका डण्डी जडान गर्नुपर्ने, रिक्सामा भएका साउण्ड सिस्टम हटाउनुपर्ने, क्षमताभन्दा धेरै यात्रु नराख्नेलगायतका नियम पालना गराउने गरी काम भैरहेको सुर्खेतका ट्राफिक प्रमुख विसीले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगर उपत्यकाभित्र अटोरिक्सा चल्नका लागि चारओटा सेक्टर निर्धारण गरिएको छ । ट्राफिक कार्यालयद्वारा निर्धारित ती चार सेक्टरभित्र ८०० अटोरिक्सा सञ्चालित छन् ।
यस्तै दुर्घटना हुन नदिनका लागि यात्रु बोकेर उपत्यकाबाट लामो दूरीमा अटोरिक्सा जान तथा आउन बन्द गरिएको उनले बताए।
‘अटो रिक्साहरूलाई भौगोलिक कठिनाइ भएका लामो दूरीमा प्यासेन्जर बोकेर आउन जान बन्द गरिदिएका छौं,’ उनले भने, ‘यति हुँदाहुँदै पनि विभिन्न बहाना बनाएर केही अटो चल्ने गरेकाले त्यसको समाधानका लागि प्रयास भैरहेको छ।
वीरेन्द्रनगर नगरपालिकाले अटोरिक्सा व्यवस्थापनसम्बन्धी कार्यविधि बनाउन लागेकाले त्यो कार्यविधि अनुसार सहकार्य गरी थप व्यवस्थापनमा जुट्ने प्रहरी निरीक्षक विसीले बताए।