बुटवल उप–महानगरपालिकाले पाँच वर्षे आवधिक तथा १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना सार्वजनिक गरेको छ। पहिलो वर्षलाई अध्ययनको वर्षमा रुपमा लिएको उप–महानगरपालिकाले अबका वर्षलाई समृद्धिको आधार वर्षका रुपमा लिँदै महत्वपूर्ण कामहरु अगाडि बढाएको बताएको छ।
विज्ञ समूह, विषयगत विज्ञ उपसमूह, निर्देशक समिति र सल्लाहकार समिति गठन गरेर वडाबासीहरू र विभिन्न सरोकारवाला निकायहरूसँग सुझाव संकलनका आधारमा गुरुयोजना निर्माण गरिएको उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए। ‘यो चरणसँगै विभिन्न विषयगत समितिहरुमा छलफल गर्ने काम सम्पन्न गर्दै तेस्रो नगरसभाबाट बुटवल उपमहानगरपालिकाको एकिकृत विकास गुरुयोजना पारित गरिएको छ,’ प्रमुख सुवेदीले भने। उनले नगर प्रोफाइल पाश्र्वचित्र निर्माण गर्ने काम समेत सम्पन्न भएको बताए।
उप–महानगरपालिकाभित्रका विभिन्न वडाका विशेषताका आधारमा योजनाहरू तयार गरिएको उनले बताए। बुटवलको पर्यटकीय क्षेत्रको रुपमा रहेको वडा नं. ७ को हिलपार्कमा विशाल बुद्ध मूर्ति निर्माण गर्नुका साथै बुद्धिस्ट पार्क निर्माण गर्ने योजनामा समेटिएको छ। त्यसका लागि सर्वे तथा जग्गा यकिन गर्ने काम सम्पन्न गर्दै डिपिआर तयार पार्ने काम भइरहेको नगरप्रमुख सुवेदीले बताए। हिलपार्कमा निर्माण गरिने बुद्धमूर्ति लुम्बिनीको मायादेवी मन्दिर परिसरबाट समेत देख्न सकिने गरी डिजाइन भइरहेको उनले दाबी गरे।
यस्तै, शिवनगर सामुदायिक वनमा रामपिथेकस जियोलोजिकल पार्क बनाउन सर्वे तथा जग्गा खोजी गर्ने काम भइरहेको छ। बुटवल–१२ मा रहेको मिलनपार्कको विकासका लागि गुरुयोजना निर्माण गर्दै पूर्वाधार निर्माणको काम सुरू भएको छ।
बुटवलको पुरातात्विक महत्व बोकेको अंग्रेज सेनालाई पराजित गरेको जितगढी किल्लामा कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक बनाउने गरी योजना बनाइएको छ। जितगढी किल्लामा उजिरसिंहको शालिकसँगै सबैभन्दा अग्लो र ठूलो राष्ट्रिय झण्डा फहराउने गरी डिजाइन तयार पारेर निर्माण अगाडि बढेको प्रमुख सुवेदीले जानकारी दिए।
बुटवलको पुरातात्विक बस्ती वडा नम्बर १ र २ लाई पुरातात्विक बस्तीका रुपमा विकास गर्दै बुटवल–१ मा बटौली संग्रहालय निर्माण गरिने भएको छ। यो कामका लागि डिपिआर तयार पार्ने काम अगाडि बढाइएको प्रमुख सुवेदीले जानकारी दिए।
हिलपार्कमा जनजाति संग्राहलय, मोतिपुरमा थारु संग्राहलय र नरैनापुरमा भ्यू टावर बनाइने गरी योजना तयार गरिएको छ। पशुपतिनाथको महिमासँग जोडिएको सेमलारको नरैनापुर धाम र त्यसक्षेत्रको ताललाई जोडेर विशेष पर्यटकीय क्षेत्र बनाइने भएको छ।
नरेनापुर भ्यू टावर निर्माण, पार्क निर्माण साथै सिमसार क्षेत्रको रुपमा विकास गर्ने अवधारणाको डिपिआर तयार पार्ने काम भइरहेको प्रमुख सुवेदीले जानकारी दिए।
नुवाकोट र बसन्तपुरलाई बुटवलको हिल स्टेशनका रुपमा विकास गर्न निजी क्षेत्रको सहकार्यमा केबलकारको अवधारणा अगाडि बढाइएको छ। यसका साथै तिनाउ गाउँपालिकाको सहकार्यमा विकास योजना तयार पार्ने काम भइरहेको बुटवलले जनाएको छ।
बुटवल उप–महानगरपालिकाले एक वर्षको अवधिमा नगरभित्रका करिब ४० हजार भन्दा बढी घरहरूको डिजिटल प्रविधिमा आधारित घर नम्बरिङ गर्ने काम सम्पन्न भएको जनाएको छ। अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्र्न अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षण कार्यदल गठन गर्दै करिब १६ हजार घरघुरीको लगत संकलन गरी अमिनमार्फत नापजा“च गर्ने प्रक्रिया अगाडि बढाइएको छ।
रुपन्देही खेलकुदको उर्बरभूमि रहेको भन्दै खेलक्षेत्रको विकासको लागि पनि बुटवलले विभिन्न योजना अघि बढाएको छ। वडा नं. १२ मा रहेको जवई खेल मैदानलाई फुटबल रंगशालाको रुपमा विकास गर्न डिपिआर सम्पन्न गरी निर्माण कार्य अगाडि बढाइएको छ।
यो खेल मैदानका लागि उप–महानगरपालिकाले प्रदेश सरकारसँग समेत समन्वय गरिरहेको जनाएको छ। प्रदेश सरकारले प्रदेशस्तरको एउटा खेल मैदान बुटवलमा पनि बनाउने घोषणा गरेको थियो। सोही अनुरुप उपमहानगरले यही मैदानलाई बनाउन प्रस्ताव गरेको छ।
यस्तै, सिद्देश्वर, तामनगर, नहरपुर र सेमलार गरी ६ वटा खेलमैदान सम्याउने, फिलिङ गर्ने, तारबार गर्ने, पर्खाल लगाउने र मैदानको वरिपरि हिडँडुल गर्न ट्«याक बनाउने काम सम्पन्न भएको जनाएको छ।