अछाममा एसिड आक्रमणबाट घाइते भएका छ महिने बालकको मृत्यु भएको छ। मंगलबार बिहान एसिड आक्रमण गरिएका बालक मुस्कान बयकको बुधबार राति मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मंगलबार बिहान ११ बजे बालकमाथि एसिड आक्रमण गरिएको थियो। स्थानीय स्वास्थ्य चौकी हुँदै जिल्ला अस्पताल अछामबाट नेपालगञ्ज उपचारमा लैजाँदै गर्दा बालकको मृत्यु भएको हो।
तुर्माखाद गाउँपालिका–४ का महाबीर बयकका छोरा मुस्कानलाई बुधबार जिल्ला अस्पताल अछाम ल्याइएको थियो। ‘अछाममा उपचार सम्भव भएन, शरीर एसिडले क्षतविक्षत थियो,’ जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक जनक शाहीले सेतोपाटीसँग भने, यहाँबाट रेफर गरेपछि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।’
आमा देवसरा दुध चुसाएर बाहिर निस्केको बेला बालकमाथि एसिड आक्रमण भएको प्रहरीले जनायो। ‘आधा घन्टामा घरमा आउँदा बालकको पूरै शरीर आगोले पोलेजस्तै भेटिएको थियो,’ देवसरालाई उद्धृत गर्दै डिएसपी शाहीले भने, ‘बच्चा छटपटाइरहेको अवस्थामा स्थानीय स्वास्थ्य चौकी लगिएको थियो।’
स्वास्थ्य चौकीले उपचार गर्न सकेन। जिल्ला अस्पताल ल्याइयो। त्यहाँ पनि सम्भव भएन।
शाहीका अनुसार बालकमाथि एसिड प्रहार गरेको आरोपमा आफन्त जानकी बयकलाई पक्राउ गरिएको छ। ‘आधा बाटो गाडी र आधा पैदल हिँड्नुपर्छ, यसकारण बालकलाई उपचारमा ल्याउनै अबेर भइसकेको थियो,’ शाहीले भने। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।