धनगढीका लक्ष्मण सिंह पाल्पामा एचए अध्ययन गर्दै छन् । बुधवार विहानै पाल्पाबाट धनगढी जान बुटवल आइपुगेका उनलाई बसपार्क पुगेपछि यातायात बन्द भएको थाहा भयो ।
काउण्टरमा टिकट काट्न पुगेका उनले कर्मचारीले टिकट नकाटेपछि बन्द रहेछ भने चाल पाए ।
धनगढीकै सागर भण्डारी र खेमराज भट्टराईलाई पनि रात्रीबसमा पोखराबाट बुटवल आईपुग्दा समेत यातायात बन्दको पत्तो थिएन । सागर पोखरामा सिभिल ईन्जिनियरिङ पढ्दै छन् भने खेमराज एचए पढ्दै छन् ।
बुधवार धनगढी पुगेर घरपरिवार र आफन्तसँग रमाईलो गर्ने योजना बनाएका उनीहरु बुटवल बसपार्कमा अलपत्र छन् । दिनभर यातायात संचालन हुने आशामा बसपार्क वरिपरी डुलिरहेका उनिहरुले दुईरात बसपार्ककै यात्रु प्रतिक्षालयमा बिताए ।
‘पोखराबाट हिँड्दा समेत यातायात बन्द छ भन्ने थाहा थिएन, विद्यार्थी मान्छे थोरै खर्चमा घर फर्किएका थियौं, यहाँ आएपछि गाडी नचलेपछि रातभरी यात्रु प्रतिक्षालयमै बितायौं’, सागर भण्डारीले भने ।
त्यस्तै दाङको कालाकाटेमा क्रेसर संचालन गर्दै आएका लमहीका गणेश आचार्य र सुर्खेतका गणेश खत्रीले पनि गाडी चल्ने आशा गर्दै बसपार्कमा दुईदिन बिताइसके ।
सवारी चालक तथा मजदुरहरुले गरेको आन्दोलनका कारण बुटवल बसपार्कमा सयौं यात्रुहरु अलपत्र परेका छन् ।
सरकारले ल्याएको नयाँ कानुनमा चालकहरुलाई जन्मकैदको अवधि धेरै बनाएको भन्दै चालकहरुले ३ दिनदेखि गाडी थन्क्याएर आन्दोलन गरेका छन् । सार्वजनिक यातायात ३ दिनसम्म नचलेपछि जनजीवन कष्टकर बनेको छ ।
विहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा भएको छलफल पछि यातायात व्यवसायी र मजदुर संगठनविच शुक्रबार देखि गाडी चलाउने सहमती भएको थियो । तर बिहीबार पनि मजदुरहरुले गाडी चलाएका छैनन् ।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफल पछि यातायात व्यवसायी र मजदुर संगठनको नेतृत्व सहित ईलाका प्रहरी कार्यालय बुटवलले गाडी संचालन गर्न चालक तथा मजदुरहरुलाई आग्रह गरेपनि मजदुरहरुले आग्रहलाई अस्विकार गरेका छन् ।
जिल्ला प्रशासनमा भएको सहमतीमा यातायात व्यवसायीले सवारी साधनको नम्बर र चालकको नामावली प्रशासनमा बुझाउने र गाडी चलाउन आनाकानी गर्ने व्यवसायी र मजदुरको अनुमतीपत्र १५ दिनसम्म निलम्बन गर्ने सहमती गरिएको थियो ।
नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले भदौ १ गतेदेखि जारी नयाँ कानुनमा सजाय बढाएकाले प्रशासनलाई लाइसेन्स बुझाएर आन्दोलनमा उत्रिएको बताएका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गाडी संचालन गर्ने सहमती पछि पक्राउ परेका चालकहरुलाई रिहा गरेपनि सहमती कार्यान्वयन नभएको बताए ।
बिहीबार संचालन भएका सवारी साधनमाथी ढुंगा प्रहार गर्ने ६ जना चालकहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी रानाले मजदुरहरुको नाममा बन्द गरिएपनि यसमा यातायात व्यवसायी नै संलग्न रहेको दावी गरे ।
‘व्यवसायीहरुले शुरुमा मजदुर र चालकहरुले सवारी साधन नचलाएको बताएका थिए, तर व्यवसायीहरुनै यो आन्दोलनमा संलग्न भएको पाइयो’, उनले सेतोपाटीसँग भने ।
चाडपर्व भित्रिएसंगै रोजगारी र अन्य कारणले स्वदेश तथा विदेशका विभिन्न क्षेत्रबाट घर फर्किदै गरेका यात्रुले यातायात बन्दका कारण सास्ती पाइरहेका छन् ।
भैरहवामा रहेको सिद्धार्थ यातायात प्रालीले भने आफुसँग भएका बसहरु संचालन गरेको छ । बुटवल भैरहवाका लागि संचालन गरिएका १५ वटा बसलाई जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रदान गर्ने आश्वासन दिएपछि संचालन गरिएको बताए ।
यता नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश ५ ले भने गाडी यथावत् चलाउन चालकलाई आग्रह गरेको छ ।
संगठनका प्रदेश अध्यक्ष कृष्ण कँडेलले विज्ञप्ति जारी गर्दै सवारी ऐन २०४९ को व्यवस्था भन्दा भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी संहिता अग्रगामी भएका बताएका छन् ।
कानुनको अध्ययन नगरी विरोध गर्नुको औचित्य नरहेको विज्ञप्तिमा उल्लेख छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक डिलबहादुर मल्लले यातायात संचालन गर्ने सहमती पछि पनि गाडी नचलाउने चालक तथा मजदुरलाई कारवाही गरिने बताए ।
‘हिजो मजदुर संगठनका नेतृत्व र यातायात व्यवसायीसंग आजदेखि गाडी चलाउने सहमती भएको थियो, आजपनि गाडी चलेका छैनन्, यसले मजदुरहरु नेतृत्वलाई नटेरी अराजक बन्दै गएको देखिन्छ’ उनले भने ।